कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिफारिसको चाङ बोकेर राजधानी

-कास्कीमा कांग्रेसका १ सय ६० आकांक्षी
-गुल्मीमा एमालेका प्रतिनिधिसभा उम्मेदवार सर्वसम्मत
पोखरा ब्युरो

पोखरा — प्रदेश र संघका उम्मेदवारको सूची बोकेर कास्कीका राजनीतिक दलका प्रमुख राजधानी पसेका छन् । कांग्रेस जिल्ला सभापति कृष्ण केसी, माओवादी केन्द्र जिल्ला इन्चार्ज राजकाजी गुरुङ र नयाँ शक्ति जिल्ला संयोजक हेमबहादुर थापा यतिखेर राजधानीमै छन् ।

कास्कीमा ३ संघीय संसद् र ६ प्रदेश निर्वाचन क्षेत्र छन् । दुवै तहमा प्रत्यक्ष र समानुपातिकतर्फ कास्की कांग्रेसले १ सय ६० आकांक्षीको नाम केन्द्र पठाएको छ । एमालेले क्षेत्र नम्बर १ र २ मा संघीय संसद्का उम्मेदवारको नाम सर्वसम्मतिले चयन गरेको छ । पार्टीले अन्य पदमा ३/३ जनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले प्रत्येक पदमा एक महिलासहित २/२ जनाको नाम सिफारिस गरेको छ । नयाँ शक्तिले संघीय संसद्का उम्मेदवारमा सर्वसम्मति जुटाए पनि प्रदेश निर्वाचनका लागि एकभन्दा बढी व्यक्ति सिफारिस गरेको छ । १ नम्बर क्षेत्रमा कांग्रेसका ७ आकांक्षी भए पनि वर्तमान कानुनमन्त्री यज्ञबहादुर थापा, पूर्वसभामुख तारानाथ रानाभाट वा जीवन परियारले टिकट पाउने सम्भावना बढी रहेको पार्टी जिल्ला सचिव सुदीपमोहन भट्टराई बताउँछन् । प्रदेशअन्तर्गत १ (क) मा मात्रै कांग्रेसबाट २३ आकांक्षी छन् । १ (ख) मा ५ आकांक्षीको नाम पठाइएको छ । २ नम्बर क्षेत्रका संघीय संसद्मा कांग्रेसका ६ आकांक्षीको नाम केन्द्र पुगेको छ । २ (क) मा ६ जना र २ (ख) मा १० आकांक्षी छन् । ३ नम्बर क्षेत्रमा कांग्रेसबाट आठ जना संघीय संसदका आकांक्षी देखिएका छन् । प्रदेश निर्वाचनका लागि ३ (ख) बाट उम्मेदवार बन्न १० आकांक्षीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ संघ र प्रदेशमा ७७ जनाको नाम कास्की कांग्रेसले केन्द्रमा बुझाएको छ ।

एमालेले क्षेत्र नम्बर १ बाट खगराज अधिकारीलाई संघीय संसद्को उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ । पूर्वस्वास्थ्यमन्त्री अधिकारी यसअघि दुईपटक उक्त निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । १ (क) बाट टीकाराम पंगेनी, दिलीप न्यौपाने र सरिता कुमाल मतदानबाट सिफारिसमा परेका छन् । १ (ख) बाट मनबहादुर गुरुङ र वसन्त बरालको नाम एमालेले टुंग्याएको छ । १ महिला उम्मेदवारको नाम सिफारिस गर्न बाँकी छ ।

क्षेत्र नम्बर २ मा संसदीय विकास समिति सभापति रवीन्द्र अधिकारी संघीय संसदमा सर्वसम्मत सिफारिसमा परेका छन् । २ (क) बाट एमाले जिल्ला अध्यक्ष कृष्ण थापा, व्यवसायी धनराज आचार्य र हीराकुमारी गिरि, २ (ख) बाट दानबहादुर बानियाँ, सञ्जीव कोइराला र प्रभा कोइरालाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ मा एमालेले मतदानबाट संघीय संसद्का लागि ३ जनाको नाम सिफारिस गरेको छ । मंगलबार भएको भेलाबाट ४ आकांक्षीमध्ये जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला र उमा कोइराला सिफारिसमा परेका हुन् । बहालवाला सांसद सीता गिरि भने मतदानबाट पराजित भइन् । उनले ४ जनाबीच नै मतदान गर्नुपर्नेमा २ महिलाबीच मात्रै प्रतिस्पर्धा गराइएको भन्दै विरोध जनाएकी थिइन् । एमालेले ३ (क) बाट नारायण बाँस्तोला, दलबहादुर गुरुङ र सरस्वती अधिकारी, ३ (ख) बाट युवा संघ अध्यक्ष राजीव पहारी, दामोदर वैरागी र देवका पहारीको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्रले नेता देव गुरुङलाई क्षेत्र नम्बर १ बाट संघीय संसद्को उम्मेदवार सिफारिस गरेको छ । केन्द्रीय समितिले १ महिलाको नाम अनिवार्य सिफारिस गर्न सर्कुलर गरेपछि १ मै निर्मला सुवेदीको नाम पनि सिफारिसमा परेको छ । २ नम्बर क्षेत्रबाट राजकाजी गुरुङ र तेजकुमारी पौडेल सिफारिसमा परेका छन् । ३ नम्बर क्षेत्रबाट रामजी बराल र दुर्गा विकको नाम केन्द्रमा पुगेको छ । माओवादी केन्द्र कास्कीले १ (क) बाट दीपक कोइराला र नन्दश्री गुरुङ, १ (ख) बाट झलकपाणि तिवारी र विमला पहारी, २ (क) बाट गंगा पोखरेल र कमला रानाभाट, २ (ख) बाट रामप्रसाद पौडेल र कृष्णकुमारी गुरुङ, ३ (क) बाट राजु तिमिल्सिना र सुमिता बस्नेत, ३ (ख) बाट दुर्गा भण्डारी र गोमा ढकालको नाम प्रदेश निर्वाचनमा सिफारिस गरेको छ । समानुपातिकतर्फ बखानसिंह गुरुङ, गायत्री गुरुङ, कोमलनाथ बराल, विश्वेश्वर अधिकारी, पूर्णकुमारी राना, सोमति गुरुङ, भीमबहादुर विकलगायत सिफारिसमा परेका छन् ।

नयाँ शक्तिले क्षेत्र नम्बर १ बाट क्याप्टेन मदन केसीलाई सिफारिस गरेको छ । सगरमाथा आरोहीको उद्धार गरेर चर्चामा आएका केसी हालै नयाँ शक्तिमा प्रवेश गरेका थिए । क्षेत्र नम्बर २ बाट जिल्ला संयोजक हेमबहादुर थापा र ३ बाट देवी सुवेदी नयाँ शक्तिबाट सर्वसम्मत उम्मेदवार बनेका छन् । संयोजक थापाले सबै नाम केन्द्रमा बुझाए पनि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको कार्यगत एकता भएको सन्दर्भमा फरक परिवेश सिर्जना हुने बताए ।

स्थानीय तहमा पराजितलाई मौका
स्याङ्जामा कांग्रेस र माओवादीले उम्मेदवार आकांक्षीको नामावली पार्टी केन्द्रमा पठाएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि १ नम्बर क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, सांसद राजु थापा र धनराज गुरुङको नाम सिफारिस भएको छ । थापा संविधानसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फका विजयी हुन् । २ नम्बर क्षेत्रमा सांसद कमलप्रसाद पंगनी, उद्योगी खुमाप्रसाद अर्याल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ र वालिङ नगरका पूर्वमेयर भोजराज अर्याललगायतको नाम सिफारिसमा परेको छ ।

क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा भरतप्रसाद लम्साल, देवी अर्याल र मेखलाल श्रेष्ठको नाम सिफारिस भएको छ । लम्साल स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुन् । यस्तै ‘ख’ मा प्रेमराज पौडेल, तुलसी गिरि र कुमार रानाको नाम सिफारिस भएको छ । राना जिल्ला सचिव, पौडेल कोषाध्यक्ष र गिरि अधिवक्ता हुन् । क्षेत्र २ को ‘क’ मा खगेन्द्रराज रेग्मी, सरस्वती तिवारी र विष्णु पौडेलको नाम छ भने ‘ख’ मा भगवतप्रकाश मल्ल, गुरु भट्टराई र युवराज पाण्डे छन् । मल्ल तरुण दलका जिल्ला अध्यक्ष पनि हुन् ।

सिफारिसमा पर्नेमा स्थानीय तह निर्वाचनमा नगर, गाउँ तथा वडाध्यक्ष र सदस्यमा पराजित केही नेतासमेत छन् । उम्मेदवार छनोटको मापदण्ड बनाउन नसक्दा सामान्य कार्यकर्तादेखि लामो समयदेखि पार्टीमा संघर्ष गरिरहेकासम्म एकमुष्ट सिफारिसमा परेका छन् ।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि क्षेत्र १ मा प्रत्यक्षतर्फ शैलेन्द्र घिमिरे, अमृता थापामगर र भुवानीप्रसाद ढकालको नाम सिफारिस गरेको छ । घिमिरे जिल्ला इन्चार्ज, थापामगर पूर्वसांसद र ढकाल पूर्वप्रधानाध्यापक हुन् । क्षेत्र नं. २ का लागि प्रत्यक्षतर्फ सूर्यप्रसाद गैह्रे र प्रकाश न्यौपानेको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ को प्रदेश ‘क’ मा परशुराम भण्डारी, मेखबहादुर थापा र मुरारी लम्साल, ‘ख’ मा शिव पराजुली, हुमबहादुर कुमाल र लोकप्रसाद काफ्लेको नाम परेको छ ।

क्षेत्र २ को ‘क’ मा नित्यानन्द तिवारी, तेज सुवेदी र दयानिधि पौडेल, ‘ख’ मा नारायण अधिकारी, पदम विक र शिव पंगेनी सिफारिस भएका छन् । माओवादीले समानुपातिकमा संघतर्फ दीपक चर्तीमगर, खिमबहादुर विक, गिरधारी कोइराला र धु्रवराज लम्साल छन् भने प्रदेशतर्फ कल्पना अर्याल, रनबहादुर तमु, खिमा पाण्डे, चन्द्रबहादुर थापा, संघ ताम्राकार, ईश्वरी सिग्देल अर्याल, तिलबहादुर गुरुङ र हुसेन अलीको नाम सिफारिस गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ । एमालेले भने नाम छनोट गरिसकेको छैन । शुक्रबारभित्र सबै नामावली केन्द्रमा सिफारिस गर्ने बताइए पनि धेरै आकांक्षी भएपछि सहमति जुट्न ढिलाइ भएको स्रोतले जनाएको छ ।

एमालेमा सर्वसम्मत
गुल्मीमा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटै क्षेत्रमा केन्द्रीय सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टको नाम सर्वसम्मतिले सिफारिस गरेको छ । एमालेको दुवै निर्वाचन क्षेत्रमा बुधबार भएका बैठकले क्षेत्र १ बाट ज्ञवाली र २ बाट विष्टलाई सर्वसम्मत सिफारिस गरेका हुन् । यस्तै रुरु, छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुंगा नगरपालिका रहेको प्रदेश सभाको निर्वाचनका लागि पूर्वसांसद कमलराज श्रेष्ठलाई पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

एमाले सचिव सोमनाथ सापकोटाका अनुसार प्रतिनिधिसभाका लागि दुवै नेता क्षेत्रीयस्तरबाट सर्वसम्मत सिफारिस भएकाले जिल्लाले पनि सर्वसम्मत रूपमै सिफारिस गर्नेछ । प्रदेशका अन्य तीन स्थानमा पनि सर्वसम्मति प्रयास जारी छ । केन्द्रमा भएको एमाले–माओवादी गठबन्धनअनुसार दुईवटा प्रदेशमा माओवादीबाट उम्मेदवार बन्ने सम्भावना छ । चन्द्रकोट, कालीगण्डकी र सत्यवतीसहितको प्रदेश तथा धुर्कोट, मदाने र मालिकासहितको प्रदेशमा माओवादी उम्मेदवारले टिकट पाउने धेरैको अनुमान छ ।

कांग्रेस जिल्ला कार्यसमितिले भने क्षेत्र १ बाट चन्द्र भण्डारी र कृष्णबहादुर छन्तेलको नाम सिफारिस गरेको छ । भण्डारी यसअघिको क्षेत्र २ र छन्तेल १ बाट निर्वाचित हुन् । क्षेत्र २ मा पनि चन्द्रबहादुर केसी, रुद्रमणि शर्मा भण्डारी र शालिकराम पन्थीको नाम सिफारिस भएको छ । प्रदेश सभामा भने आकांक्षी धेरै भएकाले समस्या देखिएको छ । क्षेत्र १ को प्रदेश सभाका लागि कांग्रेसबाट चन्द्रकोटसहित एक दर्जन र रुरु सहितकोमा आधा दर्जनको नाम सिफारिस भएको छ । क्षेत्र २ का रेसुंगा नगरपालिकासहितको प्रदेशमा तीन जना र धुर्कोटसहितको प्रदेशमा पनि तीन जनाको नाम सिफारिस गरेको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

पूर्वमन्त्री र पार्टी सभापतिलाई कारबाही
कांग्रेसले उम्मेदवार सिफारिसमा पारेका पूर्वउद्योग राज्यमन्त्री सुवर्ण ज्वारचन र पूर्वसभापति चन्द्रबहादुर केसीले ‘पदीय दायित्व पूरा नगरेको’ भन्दै केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । केसी प्रतिनिधिसभाका लागि क्षेत्र २ बाट र ज्वारचन समानुपातिक सूचीमा सिफारिसमा परेका छन् । पार्टीको बुधबार दिनभर चलेको जिल्ला समिति बैठकमा दुवै नेताबारे बहस भएको थियो । ‘दिनभरको बहसपछि कारबाही गर्ने निर्णय भएको हो,’ एक जिल्ला सदस्यले भने, ‘दुवैले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको पार्टीको ठहर छ ।’

सभापति श्रेष्ठले लामो बहस र छलफलपछि उम्मेदवारको सिफारिससँगै केसीको हकमा पदीय दायित्व पूरा नगरेको र ज्वारचनको हकमा पार्टीको सल्लाह सुझावमा अटेर गरेकाले केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।

प्रकाशित : आश्विन २०, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?