कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाभग्राही ११ हजार, घर बने ७ सय

कान्तिपुर संवाददाता

काठमाडौं — रसुवामा अहिलेसम्म ७ सय १ घर मात्र बनेका छन् । जबकि लाभग्राही सूचीमा ११ हजार ६ सय २९ जना समेटिएका छन् । तीमध्ये १० हजार ७ सय लाभग्राहीसँग घर निर्माण राहत सम्झौता भएको जिल्ला आयोजना कार्यान्वयन इकाई रसुवाका आयोजना प्रमुख धीर फडेरले बताए ।

 लाभग्राही ११ हजार, घर बने ७ सय

सम्झौतापछि ९ हजार ८ सय ८० जनाले पहिलो किस्ताको रकम लगेका छन् । दोस्रो किस्ता लैजानेको संख्या १ हजार ७ सय ५८ मात्र छ । ८ सय ३२ जनाले तेस्रो किस्ता पाएका छन् । लाभग्राहीमध्ये ९ सय २९ जनासँग अनुदान सम्झौता हुनै बाँकी छ । 

लाङटाङ र हाकुमा अहिलेसम्म सम्झौता हुन सकेको छैन । त्यहाँका ६ सय विस्थापित बिचल्लीमा छन् । थातथलोमा पहिरो नरोकिएपछि उनीहरू उत्तरगया गाउँपालिकाको बोगटीटार र नौबीसेमा भाडाको जग्गामा बस्दै आएका छन् । जग्गाधनीले ठाउँ छाड्न ताकेता गरिरहेको र गाउँ फर्कन सक्ने अवस्था नभएकाले मारमा परेको उनीहरू बताउँछन् । ‘थातथलो भूकम्पले बस्नै नहुने अवस्थामा छ,’ छेकु लामाले भने, ‘जग्गाधनीले हट्न भनेको छ । 

लामो समय बितिसक्दा पनि हाम्रो पुन:स्थापनामा सरकारले चासो दिएन ।’ उनका अनुसार चर्चेको जग्गाको ७ लाख ३१ हजार भाडा तिर्न बाँकी छ । अर्का पीडित पूर्ण तामाङले एकीकृत बस्ती बनाएर राख्ने आश्वासन पटक–पटक पाए पनि पूरा नभएको बताए । आयआर्जनको उपाय नहुँदा जीविकोपार्जनमा समस्या छ । जग्गाधनी पुर्जा नभएको र जोखिमयुक्त बस्ती सार्नुपर्ने देखिएकाले ती क्षेत्रका पीडितसँग सम्झौता हुन नसकेको पुनर्निर्माण आयोजनाका जिल्ला प्रमुख मदनकुमार आलेमगरले बताए । ‘कोही सम्झौतापछि विदेश गए, कसैको निधन भयो, यसले गर्दा पनि सबै परिवारले पहिलो किस्ता पाएका छैनन्,’ उनले भने, ‘यो समस्या अब छिट्टै हल हुन्छ ।’ पहिलो किस्ता पाएका २ हजार ५ सय ८२ जनाले घर निर्माण सुरु गरेका छन् । तर, दोस्रो चरणको निर्माण अघि बढाउन थप किस्ता नपाएको उनीहरूको गुनासो छ । 

अनुदान पाउने प्रक्रियाबारे थाहा नपाउँदा धेरै लाभग्राही अन्योलमा परेको कालिका गाउँपालिका–५ का प्रेमप्रसाद पौडेलले बताए । ‘समयमै रकम पाउन गाह्रो भयो,’ उनले भने, ‘दोस्रो किस्ता पाउन इन्जिनियरबाट सिफारिस हुन्छ तर फाइल कहाँ पुग्छ र कहिले लाभग्राहीको खातामा आउँछ, थाहा पाइँदैन ।’ बैंकहरूले समयमै रकम नदिने गरेको गुनासो पनि व्यापक छ । कोलेनिकाबाट चेक आए पनि बैंकहरूले लाभग्राहीको खातामा रकम जम्मा नगरिदिने पौडेलले बताए ।

पहिलो किस्ता नै पाएनन् 
खोटाङमा हजारभन्दा बढी पीडितले अहिलेसम्म पनि पहिलो किस्ता पाउन सकेका छैनन् । कर्मचारीको ढिलासुस्ती तथा लापरबाहीका कारण १ हजार २ सय ४३ परिवार रकमबाट वञ्चित भएका हुन् । पीडितहरू रकम माग्दै दैनिकजसो सदरमुकाम दिक्तेल धाउने गरेका छन् । ‘हामीले विवरण पेस गरेको लामो समय बितिसक्यो ।’ रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भूकम्पपीडित रामबहादुर तामाङले भने, ‘पहिलो किस्ताबापतको ५० हजार रकम पाउन १० देखि १५ हजार त आफ्नै खर्च भइसक्यो ।’

पहिलो किस्ताबापतको रकम लिनका लागि सम्बन्धित वडाबाट सबै प्रक्रिया पूरा गरे पनि जिल्ला समन्वय समितिका कर्मचारीले चासो नदिँदा समस्या भएको पीडितको गुनासो छ । ‘कर्मचारीले आफन्त हेरेर काम गर्दारहेछन् ।’ एक पीडितले भने, ‘सँगै पेस गरेका कतिपय साथीले रकम झिकेको दुई महिना भइसक्यो, हामीले अहिलेसम्म पाएका छैनौं ।’

वडाध्यक्ष र सचिवले सबै लाभग्राहीको विवरण र सम्झौतापत्र समयमा नपठाएका कारण निकासा दिन कठिनाइ भएको सम्पर्क व्यक्ति तथा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत रविकिरण आचार्यले बताए । ‘सम्झौता भएर आएकाको तत्कालै काम गरिएको छ ।’ आचार्यले भने, ‘प्रक्रिया नै नपुगेकाको रोकिएको छ । हामीले गर्ने काममा कुनै ढिलाइ भएको छैन ।’ ८ हजार ४ सय ४३ घर पीडित रहेको जिल्लामा अहिलेसम्म ७ हजार २ सय पीडितले पहिलो किस्ताबापतको रकम लिएका छन् । रकम लिन बाँकीमध्ये ५ सयको सम्झौता गरी निकासाका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय पठाइसकिएको सम्पर्क व्यक्ति आचार्यले सुनाए । जिल्लाका भूकम्पपीडितका लागि वितरण गर्न मन्त्रालयबाट असार पहिलो साता ३७ करोड ५१ लाख १७ रकम आएको थियो ।

प्रकाशित : आश्विन २२, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?