कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालमेल बखेडामा वाम गठबन्धन, सिटकै सकस

-राजपा र फोरमले धेरै सिट मागेपछि कांग्रेसमा तालमेल नगर्न दबाब
-गठबन्धनका ६ दलबीच बैठकसमेत हुन सकेन
कान्तिपुर संवाददाता

काठमाडौं — निर्वाचन क्षेत्र बाँडफाँट नै पेचिलो बनेपछि लोकतान्त्रिक गठबन्धन औपचारिक रूपमा बन्नुअघि नै धरापमा परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले संयुक्त रूपमा प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा १ सय ३१ सिट पाउनुपर्ने माग कांग्रेससँग राखेकै दिनदेखि गठबन्धनमा आबद्ध हुन खोजेका ६ दलबीच बैठक बसेको छैन ।

 तालमेल बखेडामा वाम गठबन्धन, सिटकै सकस

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चुनावी क्षेत्र टुंगो लगाउन वाम गठबन्धनलाई सकस परेको छ । भट्टराईलाई गोरखा–२ बाट उम्मेदवार हुन नदिन माओवादी केन्द्रको दबाबले अन्य क्षेत्रको बाँडफाँटलाई समेत प्रभावित बनाएको छ । भट्टराईले एमाले र माओवादी केन्द्रका शीर्ष नेतृत्वलाई भेटी उक्त क्षेत्र नमिले आफू गठबन्धनबाट बाहिरिने धम्की दिएका छन् । बाँडफाँटको मुख्य मापदण्ड कार्यान्वयनमा समेत माओवादी केन्द्रले प्रश्न उठाएको छ । विगतमा सम्पन्न २ चुनावमा प्राप्त मतलाई मुख्य आधार बनाउने मापदण्ड बनाइएको छ । एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका दरले उम्मेदवार तय गर्ने सहमति कार्यान्वयनको आधार पनि त्यसैलाई मानिएको छ ।

त्यसो गर्दा आफूलाई पर्याप्त सिट नपुग्ने तर्क माओवादी नेताहरूले गरेका छन् । नयाँ शक्ति, माले, राष्ट्रिय जनमोर्चा, मधेस केन्द्रित स्वतन्त्र समूहलाई छुट्याई बाँकी रहेको क्षेत्रमा एमाले र माओवादी केन्द्रबीच ६०/४० का दरले बाँडफाँट गर्ने सहमति बनेको थियो । तर, माओवादी केन्द्रका नेताहरूले सूर्य चिह्न लिएर उठ्ने अन्य उम्मेदवारलाई एमालेले आफ्नै भागमा राख्नुपर्ने तर्क गर्दै आएका छन् ।

भट्टराईले रोजेको गोरखा–२ बाट उम्मेदवार हुन एमालेले सहमति दिए पनि माओवादी केन्द्रले मानेको छैन । केन्द्रले उक्त क्षेत्रमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उठाउने प्रस्ताव गरेको छ ।

‘माओवादी केन्द्र र नयाँ शक्तिबीच जुँगाको लडाइँले बाँडफाँटकै काममा समस्या आएको छ,’ निर्वाचन क्षेत्र बाँडफाँट कार्यदलका एक सदस्यले भने । माओवादी केन्द्रका नेताहरूले भट्टराईलाई हँसिया–हथौडा चुनाव चिह्न लिई गोरखा–१ बाट उठ्न भनेका छन् । तर, भट्टराईले सूर्य चिह्न लिई क्षेत्र नम्बर २ बाटै उठ्ने र आफ्नो पार्टीका लागि १५ क्षेत्र छुट्याइनुपर्ने अडान राखेका छन् । भट्टराईलाई काठमाडौंबाट चुनाव लड्न सुझाव पनि माओवादी केन्द्रका नेताहरूले दिएका छन् ।

माओवादी केन्द्रले मागेजति सिट व्यवस्थापन गर्न पनि एमाले नेताहरूलाई सकस परेको छ । त्यही कारण ३ दिनभित्र सक्ने जिम्मेवारी पाएको कार्यदलले एक साता बित्दा पनि सहमति जुटाउन सकेको छैन ।

कार्यदलका सदस्य एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले केही विवाद देखिए पनि क्षेत्र बाँडफाँट चाँडै टुंगिने बताए । प्रदेश नम्बर १ र २ का विषयमा अहिलेसम्म छलफल केन्द्रित भएको र कतिपयमा सहमति जुटिसकेको जनाए । ‘केही क्षेत्रबाहेक ती २ प्रदेशमा ठूलो विवाद छैन,’ आफूहरूले शीर्ष नेताहरूसँगको परामर्शमा मापदण्ड बनाई काम गरिरहेको पाण्डेले जानकारी दिए ।

प्रकाशित : आश्विन २७, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?