कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिफारिसमा पुरानै अनुहार

कान्तिपुर टिम

सिरहा — स्थानीय निर्वाचन सकिएलगत्तै दलहरू संघ र प्रदेश निर्वाचनको तयारीमा छन् । उम्मेदवार सिफारिसमा जुटेका उनीहरूलाई आकांक्षी बढी भएकै कारण सर्वसम्मत नाम छान्न सकस छ । नाम सिफारिस गरिसकेकाहरूले अधिकांश पुरानै अनुहारलाई छनोटमा पारेका छन् ।

सिफारिसमा पुरानै अनुहार

अहिलेसम्म जिल्लाबाट संघीय समाजवादी फोरमले मात्र नाम सिफारिस गरेको छ । कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले क्षेत्रबाट सिफारिस भएका नाम जिल्ला समितिबाट केन्द्र पठाउने तयारी भइरहेको बताए । ‘आकांक्षी बढी भएकाले क्षेत्रबाट सिफारिस भएर आएका तीनदेखि चार जनासम्मको नाम पठाउन बाध्य छौं,’ उनले भने । माओवादी केन्द्र र एमाले गठबन्धनले भने क्षेत्र बाँडफाँट नटुंगिएका कारण उम्मेदवार सिफारिस गर्न सकेका छैनन् । आकांक्षी बढी भएपछि आएजति सबै नाम सिफारिस गरी केन्द्रलाई नै उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिने तयारीमा छन् दलका जिल्ला समिति । 

कांग्रेसले जिल्लाका चारवटै क्षेत्रमा सिफारिसमा पारेका नाम सबै पुरानै अनुहारका हुन् । क्षेत्र नम्बर १ बाट पूर्वकेन्द्रीय सदस्य पदमनारायण चौधरीको नाम पारिएको छ । २०४८, २०५१ मा क्षेत्र नम्बर १ बाटै विजयी उनी दोस्रो संविधानसभा निर्वाचनमा पनि जितेका व्यक्ति हुन् । क्षेत्र नम्बर २ बाट पूर्वउपसभामुख र शिक्षामन्त्री भइसकेकी चित्रलेखा यादव र रामचन्द्र यादवको नाम पठाइँदै छ । २०५६ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चित्रलेखा पार्टीकी पूर्वकोषाध्यक्ष हुन् । पार्टीका जिल्ला सभापति रामचन्द्र दोस्रो संविधानसभामा क्षेत्र नम्बर ४ मा निर्वाचित व्यक्ति हुन् । 

क्षेत्र नम्बर ३ बाट पार्टी कोषाध्यक्ष सीतादेवी यादवको नाम सिफारिसमा छ । ४ बाट केन्द्रीय सदस्य प्रदीप गिरीको नाम मात्र सिफारिस गरिँदै छ । उनी २०५१ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ५ बाट विजयी भएका व्यक्ति हुन् । कांग्रेसले प्रदेशसभा सदस्यका ८ क्षेत्रका लागि पनि सिफारिस तयार पारेको छ । दोस्रो संविधानसभामा ६ मध्ये ४ क्षेत्रमा जित हासिल गरेको कांग्रेस स्थानीय निर्वाचनमा भने जिल्लाका १७ तहमध्ये दुईवटामा सीमित हुन पुगेको छ । ‘स्थानीय तहबाट पाठ सिक्दै यसपटक उम्मेदवार चयनदेखि नै सतर्कता अपनाएका हौं,’ जिल्ला सभापति यादवले भने । 

फोरममा पनि पुरानै
संघीय समाजवादी फोरमको सूचीमा पनि सबैजसो नाम पुरानै छन् । जिल्ला अध्यक्ष बादलप्रसाद यादवले केन्द्रमा सिफारिस गरिएका अधिकांश उम्मेदवार पहिलेकै रहेको जानकारी दिए । क्षेत्र नम्बर १ बाट राजलाल यादव, सरिता गिरी र सत्यनारायण यादवलाई सिफारिस गरिएको छ । यादव क्षेत्र नम्बर २ बाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित व्यक्ति हुन् । श्रममन्त्री भइसकेकी गिरी सद्भावना पार्टी फोरममा एकीकरणपछि बलियो दाबेदारका रूपमा अगाडि आएकी हुन् । यादव फोरमका केन्द्रीय सदस्य हुन् ।

क्षेत्र नम्बर २ मा विजयकुमार यादव र शत्रुघ्नप्रसाद सिंह कोइरीको नाम पठाइएको छ । यादव पहिलो संविधानसभामा ३ नम्बर तथा कोइरी ४ नम्बरबाट जितेका व्यक्ति हुन् । कोइरी राज्यमन्त्रीसमेत भइसकेका छन् । 

क्षेत्र नम्बर ३ मा अशेश्वर यादव, धर्मेन्द्र मोरवैतालगायतको नाम सिफारिस गरिएको छ । ४ मा वीरेन्द्रप्रसाद महतो, शीतल प्रसाद यादव र चन्देश्वर यादवलाई सिफारिसमा पारिएको छ । महतो दोस्रो संविधानसभाका समानुपातिक सभासद हुन् । फोरमले प्रदेशसभातर्फ पनि आठवटै क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ । 

सिरहा १ मा ओली
तालमेलअनुसार क्षेत्र बाँडफाँट भइनसकेकाले एमाले र माओवादी केन्द्रले जिल्लाबाट सबै उम्मेदवार टुंगो लगाइसकेका छैनन् । यद्यपि एमालेका जिल्ला अध्यक्ष प्रमोद यादवले क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत गरिएको जानकारी दिए । अन्य क्षेत्रबाट नाम सिफारिसका लागि क्षेत्र बाँडफाँटको निर्णय पर्खिएको उनले बताए । माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरिनारायण चौधरीले पनि क्षेत्र बाँडफाँटपछि उम्मेदवार सिफारिस गर्ने जानकारी दिए ।

केन्द्रमा गोप्य सूची 
नेतृत्वसँग असन्तुष्ट भई राजपाको महासचिव पद त्यागेका सांसद जंगीलाल रायलाई नेपाली कांग्रेसले सर्लाहीको क्षेत्र २ बाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरेको छ । तर, पार्टीले उनको नाम सार्वजनिक भने गरिसकेको छैन । संविधानसभा चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीवाट चुनाव जितेका राय स्थानीय चुनावमा राजपाले आफूले भनेअनुसार टिकट नदिएपछि असन्तुष्ट थिए । उनी अझै राजपाकै सांसद भएकाले सिफारिस गोप्य राखिएको हो । कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका कुनै पनि क्षेत्रबाट सिफारिस नाम सार्वजनिक गरेको छैन । 

जिल्ला सभापति नागेन्द्रकुमार रायले प्रतिनिधि र प्रदेशसभाका सबै स्थानमा उम्मेदवार सिफारिस गरिए पनि नाम गोप्य राखिएको बताए । ‘लोकतान्त्रिक गठबन्धनको कुरा समेत भइरहेकाले अहिले नै सिफारिस सार्वजनिक गरिएको छैन,’ उनले भने, ‘तर, सबै ठाउँबाट नाम सिफारिस गरेर केन्द्र पठाइसकेका छौं ।’
त्यसैगरी माओवादी केन्द्रले क्षेत्र ४ बाट पूर्वसांसद शिवपूजन रायलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । २०६४ सालको चुनावमा फोरमबाट संविधानसभामा निर्वाचित उनी स्थानीय चुनावअघि माओवादी प्रवेश गरेका हुन् । माओवादी केन्द्रबाट नेपाल लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय पनि क्षेत्र ३ मा सिफारिसमा परेका छन् । उनको क्षेत्रमा माओवादीका अर्का नेताको पनि बलियो दाबी छ । एमाले र माओवादी केन्द्रले क्षेत्र २ मा कुनै उम्मेदवार सिफारिस गरेका छैनन् । स्थानीय चुनावमा दुवै दलको खासै मत नआएकाले राजपाका असन्तुष्ट नेतालाई उम्मेदवार बनाउन कसैलाई सिफारिस नगरिएको हो । 

राप्रपाले नाम पठायो 
राष्ट्रिय प्रजातन्त्र पार्टीले काभ्रेबाट उम्मेदवारका नाम सिफारिस गरेको छ । कलाकार रवीन्द्र खड्का प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन् । उनी राप्रपा निकट प्रजातान्त्रिक राष्ट्रिय कलाकार संघका केन्द्रीय अध्यक्ष हुन् । क्षेत्र नम्बर २ बाट पार्टीका जिल्ला सदस्यहरू दामोदर थापा, शम्भुप्रसाद सापकोटा र नारायणराज उप्रेती सिफारिस गरिएका छन् । प्रदेशसभा १ मा प्रत्यक्षतर्फ धर्मराज गिरी, २ मा जिल्ला सदस्यहरू कमलबहादुर लामा, शंकरलाल श्रेष्ठ र श्रीदास लामा सिफारिस भएका छन् । 

३ मा कृष्णवीर लामा र ४ मा अनन्तप्रसाद दाहाल, भवनाथ दाहाल र नानीदेवी कुइँकेललाई सिफारिस गरिएको छ । केन्द्रीय सदस्यसमेत रहेका पूर्वराज्यमन्त्री सत्यमान लामा प्रतिनिधिसभामा समानुपातिकतर्फ सिफारिस भएका छन् । केन्द्रीय सदस्य उदयसिं मुस्याजु प्रदेशसभा क्षेत्र नं ४ र जिल्ला अध्यक्ष टुल्कु लामा प्रदेशसभा क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ सिफारिस गरिएका छन् । जिल्ला अध्यक्ष टुल्कु लामाले तालमेलबारे केन्द्रीय निर्देशनअनुसार काम गर्ने बताए । 

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?