कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४५ वर्षपछि गाउँमा गाडी

अर्जुन राजवंशी

दमक — मोरङको उर्लाबारी–मधुमल्ला हुँदै पाँचथरको रविसम्म पुग्ने सडकमा गाडी गुड्न थालेका छन् । २०२८ बाट निर्माण सुरु भएको सडकमा ४५ वर्षपछि गाडी गुड्न थालेका हुन् ।

बुधबार बिहान पहिलोपटक बिरामी बोकेर को१च ५४५७ नम्बरको एम्बुलेन्स इलामको चुलाचुली गाउँपालिका–६ फुङ्नाम पुग्यो । गाउँमा गाडी पुगेपछि स्थानीयले चालकलाई पैसा र फूलको माला लगाएर स्वागत/सम्मान गरे । फुङ्नामका २२ वर्षीय नवीन श्रेष्ठले उक्त बाटो हुँदै गाउँमा पहिलोपटक गाडी पुर्‍याएका हुन् ।
सडक पूर्णरूपमा सम्पन्न नभए पनि गाडी सञ्चालनमा आएपछि हर्षित भएको सडक निर्माण दबाब समूहका संयोजक मानबहादुर श्रेष्ठले बताए । तीनचुले र सिस्नेको घुम्ती खोल्ने काम पूर्णरूपमा सम्पन्न नभएको हो । पहिलोपटक गाउँसम्मै गाडी आउँदा खुसीको सीमा नरहेको वडा सदस्य प्रकाशचन्द्र श्रेष्ठले बताए । ‘बिरामीलाई डोको र स्ट्रेचरमा बोकेर अस्पताल पुर्‍याउने दिन अब समाप्त भए,’ उनले भने ।

वर्षांैको मिहिनेतपछि गाउँसम्म गाडी ल्याउन सफल भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक श्रेष्ठले बताए । उनले अब गाउँघरका कृषिजन्य उत्पादन सहजै तराईका विभिन्न सहरसम्म पुर्‍याउन सकिने जानकारी दिए । ‘यो सडक पूर्वी पहाडको समृद्धिका लागि कोसेढुंगा साबित हुनेछ,’ उनले भने ।
पूर्वी पहाडी जिल्लाका स्थानीयलाई उक्त सडकले छोटो दूरीमा तराईको सडक सञ्जालसँग जोड्नेछ । उर्लाबारीदेखि रविसम्मको दूरी ५२ किलोमिटर पर्छ । धेरै घुम्ती नभएको सडक खण्डमा एउटा पनि पुल बनाउनुपरेको छैन । यसअघि मोटरसाइकलमा भने आवतजावत हुने गरेको थियो । उक्त सडकले पश्चिमी इलाम, दक्षिणी पाँचथर र मोरङको पूर्वी पहाडी क्षेत्रका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

गाडी सञ्चालनमा आएसँगै उक्त भेगमा उत्पादन हुने अलैंची, अदुवा, अम्लिसोलगायतका कृषिजन्य सामग्री तत्कालै पूर्वी बजारहरू दमक, बिर्तामोड, विराटनगर, इटहरी र धरानसम्म पुर्‍याउन सकिन्छ ।

२०२८ मै ट्रयाक खोल्ने काम थालिए पनि केही समयपछि नै रोकिएको थियो । झन्डै २३ वर्षपछि २०५१ मा पुन: काम थालिएको थियो । तर, तत्कालीन माओवादीले ‘सशस्त्र विद्रोह’ सुरु गरेपछि फेरि अवरोध निम्तियो । २०६७ यता भने कुनै अवरोधबिना निरन्तर काम भएको थियो ।

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?