कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रत्यक्षमा भएन ‘समावेशी’ सिफारिस

कान्तिपुर संवाददाता

सुर्खेत/रुकुम — प्रदेश तथा प्रतिनिधिसभा सदस्य चुनावका लागि सुर्खेतका मुख्य दलले प्रत्यक्षतर्फ पार्टी केन्द्रमा पठाएको उम्मेदवारी सिफारिस समावेशी नभएको पाइएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रमुख तीन दलले पुरुषको नाम मात्र सिफारिस गरेका छन् । सुर्खेतबाट दुवै संसदका लागि प्रत्यक्षमा महिला निर्वाचित नहुने लगभग पक्का भएको छ । उम्मेदवारै सिफारिस नभएपछि महिलाले टिकट पाउने सम्भावना समाप्त भएको हो । यतिबेला दलहरूभित्रै पुरुष आकांक्षीबीच टिकट हत्याउन कसरत चलिरहेको छ ।

प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ सिटमा प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रले सबै पुरुषको मात्र नाम पार्टी केन्द्रमा पठाएका छन् । महिला, दलित, जनजातिलाई समावेशी मिलाउन समानुपातिकमा सिफारिस गरिएको छ । यद्यपि, माओवादी केन्द्रले प्रदेश ४ बाट पञ्चा सिंहको नाम सिफारिस गरेको छ । उनी अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष हुन् ।

प्रत्यक्षका लागि महिला नेतृहरूले उम्मेदवार बन्न हारगुहार गरे पनि पार्टीको मूल नेतृत्वले अविश्वास गरेको गुनासो गरेका छन् । ‘पार्टीभित्र चुनाव लड्ने महिला, दलित जनजाति साथीहरूको नभएका होइनन्,’ अखिल नेपाल महिला संघकी अध्यक्षसमेत रहेकी वीरेन्द्रनगरकी उपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘पार्टी नै उम्मेदवार बनाउन तयार भएन । समानुपातिक प्रावधानले प्रत्यक्षमा यी समूहलाई बन्देज गराएको जस्तो बनाइदिएको छ ।’ नेपाल महिला संघकी अध्यक्ष पार्वती गिरीले पुरुषवादी चिन्तन हाबी हुँदा महिलाहरू अवसरबाट वञ्चित भएको बताइन् । संविधानले बाध्यकारी बनाएको हकमा बाहेक अन्य क्षेत्रमा महिलामाथि उपेक्षा गरिएको उनको गुनासो छ । 

माओवादी केन्द्रले एमालेसँगको तालमेल छलफलमै रहेकाले यदि प्रदेशको ३ नम्बर क्षेत्र (वीरेन्द्रनगर) आफूले पाए महिला उम्मेदवार उठाउन सक्ने जनाएको छ । त्यसका लागि निवर्तमान सांसद सीता नेपालीको दाबी छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ क्षेत्र १ बाट पूर्णबहादुर खडका र २ बाट हृदयराम थानीको नाम सर्वसम्मत पठाएको छ । एमालेले पनि प्रतिनिधिसभा सदस्यका लागि १ बाट जिल्ला अध्यक्ष धु्रवकुमार शाहीको नाम टुंग्याएको छ । २ बाट कुलमणि देवकोटा र नवराज रावत छन् । माओवादी केन्द्रले १ बाट ठम्मरबहादुर विष्ट र २ बाट नरबहादुर विष्टको नाम सर्वसम्मत पठाएको छ ।

प्रदेशतर्फ प्रत्यक्ष ४ सिटका लागि तीनै दलले आकांक्षीको नाम सिफारिस गरिसकेका छन् । कांग्रेसले १ बाट वीरेन्द्र रावत, अनन्त पौडेल, केशर वली, टेकबहादुर सिंह, २ बाट नारायण कोइराला, गोविन्द कोइराला, झकबहादुर डांगी, नरेश ढकाल, ३ बाट कमलराज रेग्मी, डम्बर जीसी, धर्मराज गिरी, ४ बाट तप्तबहादुर विष्ट, यज्ञ बीसी, टोपबहादुर रावतको नाम सिफारिस गरेको छ । एमालेले १ बाट ऐनबहादुर चन्द, २ बाट खडक खत्री, ३ बाट यामलाल कँडेल, ४ बाट मोहन बडुवाल, इन्द्र केसी, टीका रानाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले प्रदेश सदस्यका लागि जितबहादुर राना, गणेश भण्डारी, विन्दमान विष्टको नाम सिफारिस गरिएको छ ।

ठूला दलै भएनन् समावेशी
रुकुम पश्चिममा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य १ र प्रदेशसभा सदस्य २ गरी ३ जना निर्वाचित हँुदै छन् । जसका लागि जिल्लाबाट ३५ जना सिफारिस भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाललगायत दलबाट ३५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । १ प्रतिनिधिसभा सदस्यका लागि ९ र २ प्रदेशसभा सदस्यका लागि २६ जना सिफारिसमा परेका छन् । सिफारिस भएका ९ जनामा १ जना मात्रै जनजाति परेका छन् । महिला र दलित सिफारिसमै परेका छैनन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षमा महिला, दलित र जनजाति सिफारिस गरेका छैनन् । नयाँ शक्ति नेपालले शरुण बाँठा मगरलाई सिफारिस गरेको छ । 

प्रदेशसभा सदस्यका लागि सिफारिस भएका २६ जनामा ५ महिला, १ जना दलित मात्रै सिफारिसमा परेका छन् । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउन केन्द्रमा नाम सिफारिस गरेका ५ दलले प्रत्यक्षमा ५ महिला र १ दलित मात्रै सिफारिस गरेका छन् । प्रमुख तीन दलले प्रदेशसभा सदस्यतर्फको प्रत्यक्षमा महिला सिफारिस गरेका छन् । माओवादी केन्द्रले १ दलितलाई प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

सिफारिस गरिएका महिला, दलितले टिकट पाउने सम्भवाना कमै देखिन्छ । माओवादी केन्द्रबाहेक अन्य पार्टीले प्रत्यक्षतर्फ सिफारिस भएका महिला कार्यकर्ता स्तरका भएकाले खाली देखाउनकै लागि सिफारिस गरेका छन् । माओवादीका तर्फबाट १ नम्बर क्षेत्रबाट सिफारिस भएकी विमला केसीको टिकट पाउने सम्भावना रहे पनि उनलाई समानुपातिक सूचीमा हालेर थन्क्याइसकेको छ । सोही निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस रातो कामीको पनि टिकट पाउने सम्भावना क्षीण भएको छ । अब महेन्द्र केसी र अनिल शर्मा टिकट पाउने अन्तिम कसरतमा छन् । माओवादीले प्रदेशसभा सदस्यका लागि २ नम्बर क्षेत्रका लागि गोपाल शर्माको नाम मात्रै सिफारिस गरेकाले उनैले टिकट पाउने सम्भावना बढेको छ ।

कांग्रेसले प्रत्यक्षतर्फ क्षेत्र १ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षमा सिफारिस लेखमाया केसीले पनि टिकट पाउने सम्भावना न्यून छ । उक्त क्षेत्रबाट राजु केसीलाई टिकट दिएको कांग्रेसले उनी पछि हटेसँगै यामबहादुर केसीलाई टिकट दिने प्रयास गरिरहेको छ । क्षेत्र २ बाट पनि कांग्रेसले पुरुषलाई नै टिकट दिने तयारी गरेको छ । जसका लागि खड्गबहादुर डाँगीको सम्भावना बलियो देखिन्छ । एमालेले दुवै क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ १/१ महिला सिफारिस गरेको छ । तर दुवै महिलाले टिकट पाउने सम्भावना कम छ । १ बाट ठगेन्द्रप्रकाश पुरी र २ बाट धनराज खडका वा पुस्तक चन्द टिकट फुत्काउने दाउमा छन् ।

प्रकाशित : कार्तिक १, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?