कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘व्यापार सम्झौताको अध्ययन छिट्टै’

कान्तिपुर संवाददाता

काठमाडौं — चिनियाँ राजदूत यु होङले नेपाल–चीन स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन यसै वर्ष (दुई महिनाभित्र) पूरा हुने र लगत्तै सम्झौता पनि हुने विश्वास व्यक्त गरेकी छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा पारवहन सम्झौतासँगै स्वतन्त्र व्यापार सम्झौता हुने भनिए त्यो हुन सकेको थिएन ।

‘व्यापार सम्झौताको अध्ययन छिट्टै’

यसको सम्भाव्यता अध्ययन गर्ने सहमति मात्र भएको थियो । त्यही सहमतिअनुसार सम्भाव्यता अध्ययन कार्य अघि बढेको हो ।

चीनतर्फ हुने व्यापार सहजता र अवसरका लागि नेपालले सम्झौतामा जोड दिँदै आएको छ । नेपाल र चीनबीच आर्थिक तथा व्यापारिक सम्पर्क विस्तारका लागि यो सम्झौताको आफ्नै महत्त्व हुने उनले बताइन् । दुवैतर्फबाट यसमा गृहकार्य भइरहेको राजदूत होङले बताइन् । सांस्कृतिक आदानप्रदान अभिवृद्धि हँुदै गइरहेको अवस्थामा यो प्रकारको सम्झौताले दुई देशको जनस्तरको सम्बन्ध र व्यापार वृद्धि हुने बताइन् ।

नेपाल–चीन मैत्री मञ्चले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा राजदूत होङले चीन सरकारले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ्स’ (बीआरआई) ले यस क्षेत्रमा रहेका नेपालसहितका राष्ट्रलाई फाइदा पुग्ने बताइन् । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकसमेत वृद्धि भएको उनले बताइन् । पर्यटक अघिल्लो वर्षको तुलनामा यस वर्ष ६० प्रतिशतले वृद्धि भएको छ । यसबाट पनि चीन–नेपाल सम्बन्धको विस्तारबारे स्पष्ट हुन्छ । ‘नेपालमा रेल जोड्ने विषयको प्रारम्भिकभन्दा प्रारम्भिक कार्य अघि बढेको छ, सञ्चारकर्मीसँग उनले भनिन्, ‘यो निकै महत्त्वपूर्ण पाटो हो । यसको रिपोर्ट पछि हुने थप अध्ययन र छलफलले दुईपक्षीय सहकार्यलाई माथि पुर्‍याउने छ ।’ यस क्षेत्रको कनेक्टिभिटीमा रेलमार्ग महत्त्वपूर्ण स्थान रहने उनले बताउँदै भनिन्, ‘यो मार्ग मात्र होइन । हामीले नेपालसँगको नाकाहरूलाई व्यवस्थित गर्दै जानेछौं । भूकम्पपछि बन्द नाका खुलाउन पनि हामी काम गरिरहेका छांै । त्यो जोखिमपूर्ण पहाड रहेकाले यसलाई कसरी अघि बढाउने भन्ने अध्ययन भइरहेको छ ।’

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल राजनीतिक स्थायित्वमा निकै अघि बढिसकेको दाबी गरे । ‘निर्वाचनपछि हामी विकासको पथमा अघि बढ्नेछौं । यसमा छिमेकी तथा मित्र मुलुकहरूको सहयोग आवश्यक रहन्छ । अहिले हामीलाई उनीहरूको सद्भाव आवश्यक छ,’ उनले भने ।

प्रकाशित : कार्तिक २८, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?