कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोले गाउँ छाड्दै मतदाता

अर्जुन शाह

बाजुरा — गाउँगाउँमा चुनावको चहलपहल बढिरहेको छ । उम्मेदवार घरदैलोमा व्यस्त छन् । तर, बाजुराको लेकाली क्षेत्रमा बसोबास गर्ने भोटे समुदायलाई बेंसी झर्ने हतारो छ । गाउँमा चिसो बढेपछि यी मतदाता परिवारसहित धमाधम औल झर्दै छन् । उनीहरू मतदानबाट समेत वञ्चित हुने भएका छन् ।

चिसोले गाउँ छाड्दै मतदाता

हिउँदको चिसो छल्न र भेडाच्यांग्रालाई चरिचरनको समस्या टार्न भोटे समुदाय हरेक वर्ष कात्तिक अन्तिमसम्ममा बेंसी झरिसक्छ । चिसोले पहिलो चरण निर्वाचन मंसिर १० सम्म गाउँमा टिकिरहन सम्भव नभएको उनीहरू बताउँछन् । ‘मतदान हुने दिनसम्म गाउँमै बसौं भने भेडाच्यांग्रा पाल्नै मुस्किल हुने भयो,’ बिच्छयाँका दलबहादुर थापा भोटेले भने । जिल्लाका ढम्कने, पाण्डुसैन, कोल्टी, कोटिला, बाधु, र बिच्छयाँमा भोटे जनजातिको बसोबास छ । भोटे जनजाति सेवा समितिका निवर्तमान अध्यक्ष नृप थापा भोटेका अनुसार जिल्लामा यो समुदायका मतदाताको संख्या करिब २ हजार छ । चुनाव प्रचारमा आएका उम्मेदवार तथा दलका नेताले भोट खसालेर मात्र बेंसी झर्न आग्रह गरे पनि भेडाच्यांग्रा पाल्नुपर्ने समस्याले घर छाड्न बाध्य भएको बिच्छयाँको बौडीका प्रेम थापा भोटेले बताए । ‘चिसो बढेको र चरिचरनको समेत समस्या भएकाले चुनावसम्म गाउँमै बस्ने अवस्था भएन,’ उनले भने, ‘बौडी गाउँका ३८ मध्ये २८ भन्दा बढी परिवारले घर छाडिसके ।’

हिउँदका ६ महिना औल र बाँकी ६ महिना घरमा बिताउने भोटे जनजाति परम्परागत जीवनशैलीमै छन् । शैक्षिक चेतनामा समेत यो समुदाय निकै पछाडि छ । पछिल्ला संवैधानिक प्रावधान तथा स्थानीय तहका हकअधिकारबारे समेत उनीहरू अनभिज्ञ नै छन् । मताधिकारको महत्त्व थाहा नभएको पाण्डुसेनकी पेमा थापाले बताइन् । ‘हाम्रो जिन्दगी भेडाच्यांग्रा पाल्नमै ठिक्क छ,’ पेमाले भनिन्, ‘भोट खसाल्न गाउँमै बस्दा भेडाच्यांग्रा भोकले मर्ने अवस्था आउँछ ।’

पढेलेखेकाको संख्या अत्यन्तै न्यून भएकाले आफ्नो समुदायलाई मताधिकारको महत्त्व बुझाउन कठिन भएको भोटे जनजाति सेवा समिति अध्यक्ष बुद्धिसिंह बोगटी भोटे बताउँछन् । चिसो मौसममा उनीहरू जिल्लाका बेंसी क्षेत्र र अछामतिर सर्छन् । हिउँदका ६ महिना बेंसीमा बिताएर चैतवैशाखतिर मात्रै उनीहरू घर फर्कन्छन् ।

प्रकाशित : कार्तिक २९, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?