कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक बालबालिकालाई जाडोमा लुगा

अर्जुन राजवंशी

दमक — इटहरीको धरान रोडमा मलिला लुगा लगाएर एक बालक माटोमै सुतिरहेका थिए । झिँगाले घेरिएको अवस्थामा सुतिरहेका उनलाई झापा दूधेका सन्तोष थोप्रा लिम्बूले ब्यूझाए । लिम्बूले चाउचाउ दिंदा खुसी भएर खादै ती बालक गफ गर्न थाले ।

सडक बालबालिकालाई जाडोमा लुगा

उनी लक्ष्मण मगर रहेछन् । घर झापाको सुरुङ्गा । तर, बुबा र आमा दुवैले दोस्रो विवाह गरेपछि आफू एक्लै परेको उनले सुनाए । इटहरीको सडक र गल्लीहरुमा रात काट्दै आएको ३ बर्ष भइसकेको उनले बताए । ३ दिनसम्म केही खान नपाएकोले हिड्न नसकेर सुतेको उनले बताए । लिम्बूले मगरलाई मात्र होइन, पूर्वका ८२ जना बालबालिकालाई जाडोको लुगा र खाने कुरा बाँडेका छन् । चिसो मौसम सुरु भएसंगै सबैभन्दा धेरै सडक बालबालिकाहरु प्रभावित हुन्छन् । तर, उनीहरुले कतैबाट कुनैखाले राहत पाउदैनन् । ‘यसैले मैले जाडोमा काम लाग्ने लुगा उनीहरुलाई बाडेको हुँ’ लिम्बूले बताए ।

चार वर्ष अघि उर्लाबारीमा हत्या गरी शौचालयको ट्यांकीमा फ्यााकिएको अवस्थामा एक बालक फेला परेका थिए । प्रहरीको अनुसन्धानमा ती बालक हत्यामा सडक जीवन व्यतित गर्दै हिड्ने ‘काली’ नाम गरेकी बालिका र अर्का एक जना व्यक्ति दोषी देखिए ।

तीन महिना अघि उर्लाबारीमै सडकमै जीवन व्यतित गरिरहेकी एक जना महिलालाई त्यहीका सडक बालकहरुले सामूहिक बलात्कार गरे । घटना त्यतिकै सेलायो । बलात्कृत ती महिलाको अहिले अत्तोपत्तो छैन । उर्लाबारीका सडक बालकहरुले महिलालाई उर्लाबारी चोकमा बलात्कार गरेको स्वीकारिससकेका छन् ।

उर्लाबारीमा सडक बालबालिको अपराधकर्मको फेरिस्त योभन्दा लामो छ । यी घटना प्रतिनिधिमूलक मात्र हुन् । उर्लाबारीको पूर्व बसस्टेण्डमा १७ जना सडक बालबालिका छन् । जसले तातो सडकलाई आफ्नो न्यानो विस्तारा र ढुंगालाई सिरानी बनाएर जीवन बिताइरहेका छन् । परिवारको बेवास्ता र सामाजिक अपहेलनालगायत कारणले बालबालिकाहरु सडकसम्म पुगिरहेको बताइन्छ ।

सडकमा बस्दा स्वतन्त्र हुने उनीहरुको अनुभव छ । डेनड्राइट, चुरोट, गाजा सेवन उनीहरुका लागि सामान्य बनेको छ । पछिल्लो समय यौनजन्य क्रियाकलापमा समेत उनीहरु निकै अगाडी देखिएको छ । यस्ता कुलतमा रहेका बालबालिकाहरुको संख्या झापाको काँकडभिट्टादेखि धरानसम्मकै बजार र बस स्टेण्डमा उल्लेख्य छ ।

शनिबार ह्युमनेटी नामक् गैह्रसरकारी संस्थाले पूर्वीद्वार काँकडभिट्टादेखि सुनसरीको धरानसम्मका चोक र बजारमा रहेका सहारा बिहीन सडक बाललालिकाको अवस्था बुझ्ने काम गर्‍यो । काँकडभिट्टा, विर्तामोडमा सडक बालबालिको संख्या शनिबार २४ जना भेटियो । तर मोरङ र सुनसरीमा भने ५८ जना भेटिए । काँकडभिट्टामा ११, विर्तामोडमा ७ र दमकमा ६ जना सडक बालबालिका भेटिए । मोरङको उर्लावारीमा ७, विराटचौकमा १३, गछियामा ३ जना भेटिए । इटहरीमा १४ र धरानमा २१ जना भेटिए । सडकमा भेटिएका यस्ता बालबालिकाको ईच्छा राम्रो लुगा लगाउने अनि मिठो खाने र ठूलो भएपछि ठूलो मान्छे बन्ने रहेछ । सडक बालबालिकाका कारण प्रशासनलाई पनि ठूलो चुनौती छ । कतिपय ठाउँका चोरीका घटनामा उनीहरुको संलग्नता पाइने गरेको प्रहरीको भनाई छ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?