कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवारै नदेखी मतदान

बलराम घिमिरे

रसुवा — पर्यटकीय क्षेत्र लाङटाङका मतदाताले यसपटक पनि उम्मेदवारको मुखै नदेखी मतदान गर्दैछन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मत माग्न कुनै उम्मेदवार नआएको लाङटाङका ङेरूप तामाङले बताए । ‘उम्मेदवार नआए पनि मतदान गर्दै छौं,’ उनले भने । स्थानीय कार्यकर्ताले नै आफ्ना उम्मेदवारका लागि मत मागेका छन् ।



विगतमा भएका आम निर्वाचनमा पनि उम्मेदवारहरू लाङटाङ नपुगेका उनले बताए । २०४८, २०५१, २०५६ र २०७० मा भएका आम निर्वाचनमा उम्मेदवारको मुखै नदेखी मत दिएका थिए, लाङटाङका बासिन्दाले । उम्मेदवार नआइपुगे पनि उनीहरूले आफ्नो रोजाईका उम्मेदवारलाई मतदान गर्दै आएका छन् । सदरमुकाम धुन्चेबाट करिब दुई दिन पैदल यात्रा गरेर पुगिने लाङटाङलाई सडक सञ्जालले छोएको छैन । दुर्गम भएका कारण उम्मेदवार मत माग्न नआएको स्थानीयको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा भने लाङटाङकै स्थानीय उम्मेदवार भएका कारण सहज भएको थियो । उम्मेदवार भेटेर कुरा सुनेको भए उम्मेदवार छनोट गर्न सजिलो हुने स्थानीयको भनाइ छ । २०७२ वैशाख १२ को भूकम्पले लाङटाङ तहसनहस बनाएको थियो । गाउँमा उम्मेदवार नआउँदा विकास र पुनर्निर्माणको कुरा ओझेलमा पर्ने हो कि भन्ने चिन्ता लाङटाङवासीलाई छ । मतदान केन्द्र रहने विद्यालय भूकम्पपछिको पहिरोले पुरेपछि लाङटाङ गाउँभन्दा माथि रहेको मुन्डुप गाउँमा सारिएको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताए ।

लाङटाङमा २ सय ९२ मतदाता छन् । लाङटाङ, क्यानजिन र मुन्डुपमा गरी १ सय ३९ पुरुष र १ सय ५३ महिला मतदाता छन् । लाङटाङका लागि सदरमुकाम धुन्चेबाट बुधबार हिँडेका कर्मचारी बिहीबार दिउँसो ३ बजे पुगिसकेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । 

निषेधित क्षेत्र घोषणा
यसैबीच, कालिका गाउँपालिका १ राम्चेलाई जिल्ला प्रशासन कार्यालय रसुवाले १० घण्टासम्म निषेधित क्षेत्र घोषणा गर्‍यो । राम्चेमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले एकै स्थानमा आमसभा राखेकाले सुरक्षालाई मध्यनजर राख्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।

जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार बिहीबार दिउँसो १२ बजेदेखि राति १० बजेसम्मका लागि मात्र निषेधित क्षेत्र घोषणा गरिएको हो । यस्तै पहिलो चरण मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै रसुवागढी सीमा नाका बन्द गरिएको प्रजिअ न्यौपानेले बताए । सबै मतदान केन्द्रमा सुरक्षाकर्मी मतपेटिका र मतपत्रसहित पुगिसकेकाले निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको उनले बताए । 

प्रकाशित : मंसिर ८, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?