कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कहिलेसम्म टहरामा बस्ने ?’

प्रतीक्षा काफ्ले

स्याङ्जा — भीरकोट नगरपालिका–६ सिमलचौरकी ६० वर्षीया सावित्रा जीसीसँग भूकम्पपीडितको रातो कार्ड छ । उनको भत्किएको घर प्राविधिकको टोलीले अवलोकन गरे । अहिलेसम्म कुनै सरकारी सुविधा नपाएको उनको गुनासो छ ।

‘गाउँभरिका अरूले न्यानो कपडाको १० हजार पाए, मेरा हातमा त त्यो पनि परेन,’ उनले भनिन्, ‘आस देखाएर सरकारले निराश पारेको छ ।’ घर भत्किएपछि उनको परिवार लाखापाखा लागेको छ । साथमा सुस्तमनस्थितिको जेठा छोरामात्रै छन् । घर फेरि उभ्याउन सकिने अवस्था नभएको उनले बताइन् । ‘सरकारले पहिलो किस्ता सहयोग दिन्छ भनेर जग खनाएर बसियो, अझसम्म दिएको छैन,’ उनले भनिन्, ‘स्याउलाले बारेको कुटीमा दिन बिताएका छौं । भोट माग्न आउनेले मेरा दु:ख सरकारलाई पुर्‍याइदिए हुने हो ।’

स्याङजामा दोस्रो चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । दिनदिनै नजिक आएको चुनावले जीसीलाई छोएको छैन । ‘ओत थाप्ने बास बनाइदिए मात्र पुग्छ तब भोट दिन्छु,’ उनी भोट माग्न आउने सबै उम्मेदवार र पार्टी कार्यकर्तालाई यही भन्छिन् । ‘म जस्ता पीडितलाई सिंहदरबार चाहिँदैन । बस्ने झुपडी भए पुग्छ,’ उनले भनिन् ।

गुजारा चलाउने माध्यम केही थिएन । त्यसैले उनले गत वर्षदेखि पशु सेवा केन्द्रको लगानीमा चारवटा गाई पाल्न थालेकी छन् । ‘भोकै बस्न गाह्रो भयो,’ उनले भनिन्, ‘कहीं नभएको जात्रा हाडी गाउँमा भनेजस्तै छ, आफू मर्ने बेलामा गाई पालेकी छु । धन्न मलाई पशु कार्यालयले पनि लगानी गरिदियो । यही नै ठूलो कुरा हो ।’ गाईको दूध बिक्रीबाट हुने आम्दानीले ऋण तिर्ने र आफ्नो गुजारा चलेको उनले बताइन् ।

आँधीखोला गाउँपालिका–५ का ६५ वर्षीय तोयनाथ लामिछाने पनि भूकम्पपीडित हुन् । उनले अघिपछि नेताहरूले आफ्ना कुरा नसुन्ने भएपछि चुनावका बेला यही हो मौका भन्दै राहतको माग राखेका छन् । ‘स्थानीयको चुनावमा पनि राहत दिलाउने आश्वासन दिएर भोट लगे,’ उनले भने, ‘अब भोट माग्न आउनेले हाम्रो समस्या सम्बोधन गर्नुपर्छ ।’ लामो समयदेखि सहरबजारमा बसोबास रहेकाहरूले आफ्नो गाउँको घर भत्किएको देखाएर राहत पाए पनि गाउँमै बसेका धेरै जना भने त्यसमा छुटेको उनले बताए ।

गल्याङको पिडिखोलाका विश्वनाथ विक राहतको आसमा बसेका आफूहरूलाई रातो कार्डमात्रै दिएको सरकारलाई उम्मेदवारले बताइदिनुपर्ने भन्ने लाग्छ । ‘परिवारका पाँच जनाको दिन टहरामै बित्ला भन्ने चिन्ता छ,’ उनले भने, ‘अब आश्वासन होइन घर बनाउन ऋण दिलाइदिए पुग्छ ।’

प्रकाशित : मंसिर ८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?