कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैदानमा बौद्धिक नेता

कञ्चनपुर — कञ्चनपुर क्षेत्र ३ को चुनावी होडबाजी चर्चाको विषय बनेको छ । वाम र लोकतान्त्रिक दुवै गठबन्धनबाट दुई बौद्धिक नेता मैदानमा उत्रिएकाले कडा प्रतिस्पर्धाको अनुमान छ । ‘कञ्चनपुरमा सबैभन्दा कडा र रोचक भिडन्त क्षेत्र ३ मै छ,’ राजनीतिशास्त्रका प्राध्यापक डा. टेकराज पन्तले भने, ‘युवा र बौद्धिक नेता भएकाले मतदाताले दुवै जनालाई उत्तिकै रुचाएका छन् ।’

मैदानमा बौद्धिक नेता


लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश लेखक र वाम गठबन्धनबाट एमालेका डा. दीपकप्रकाश भट्टबीच कडा टक्कर छ । दुवै जना सभा–समारोहमा भाग लिन महाकाली नगरपालिकाको कुतियाकभरदेखि भीमदत्त नगरपालिकाको खल्ला मसेट्टीसम्म पुगिरहेका छन् । 
दुवैको एजेन्डा विकास 
दुईपटक प्रत्यक्ष र एकपटक समानुपातिक गरी लामो संसदीय अनुभव संगालेका कांग्रेस नेता लेखक आफूले गरेका विकास निर्माणका आधारमा यस क्षेत्रका जनताले सहजै जिताउने विश्वासमा छन् । महाकाली किनारमा तटबन्ध निर्माण र पक्की पुल बनाउने योजना आफ्नै पहलमा कार्यान्वयन हुने अवस्थामा पुगेकाले बाँकी काम सम्पन्न गर्न पनि मतदाताले आफूलाई जिताउने उनको दाबी छ ।
‘दोधारा चाँदनी क्षेत्रमा जहिल्यै बाढीको समस्या थियो,’ उनले भने, ‘तर अहिले उक्त समस्या केही हदसम्म टरेको छ, अहिले पनि जोगबुढा नदीमा तटबन्ध निर्माणको काम भइरहेको छ ।’ उनले आफू सांसद र मन्त्री हुँदा यस क्षेत्रका लागि गरेका विकास निर्माणका कामका आधारमा यहाँका बासिन्दाले रुचाएको बताए । उनले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, ब्रह्मदेव–तिंकर सडक निर्माण र महाकालीको पक्की पुल समयमै सम्पन्न गराउने चुनावी एजेन्डा अघि सारेका छन् ।
शान्ति प्रक्रियाको अभिन्न अंगका रूपमा रहेको सेना समायोजना समितिको सदस्य भई काम गरेको र पार्टीको केन्द्रीय विदेश विभागका सदस्यसमेत रहेका एमाले नेता भट्ट आफ्नो पार्टीले यस क्षेत्रमा ल्याएका विकास निर्माणको योजनाका कारण जित पक्का भएको बताउँछन् । उनले वाम गठबन्धनका कारण पनि आफूले जित्ने निश्चित भएको बताए ।
‘गठबन्धनसँगै विगतमा एमालेले ल्याएका योजनाका कारण मतदाताले रुचाएका छन्,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि महत्त्वपूर्ण सार्वजनिक पदमा नबसेकाले मतदाताको गुनासो पनि नरहेका कारण मेरो जित निश्चित छ ।’ उनले विगतमा दोधारा चाँदनीको कुतियाभरदेखि कालापानीसम्म पैदल मार्च गरेकाले पनि यस क्षेत्रका मतदातामाझ भिजेको बताए । उनले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, ब्रह्मदेव–तिंकर सडक निर्माण, मझगाउँ विमानस्थल सञ्चालन, घाडीघाँच क्षेत्रका खोलानालाको व्यवस्थापन र महाकाली सिँचाइ आयोजनाको काम चाँडो सम्पन्न गराउने एजेन्डा अघि सारेका छन् ।
८७ हजार १ सय २२ मतदाता रहेको क्षेत्र ३ मा दोधारा चाँदनी, महाकाली नगरपालिका, भीमदत्त नगरपालिका र वेदकोट नगरपालिका ८ नं. वडा समावेश छन् । दुवै उम्मेदवार महाकालीवारिका भएका कारण उनीहरूका लागि दोधारा चाँदनी निर्णायक हुने देखिन्छ । त्यही भएर दुवै उम्मेदवार उक्त क्षेत्रमा 
बढी केन्द्रित छन् । 
दोधरा चाँदनीको मत तान्न दुवै गठबन्धनले प्रदेशसभामा महाकाली नगरपालिकाकै स्थानीयलाई उम्मेदवार बनाएका छन् । प्रदेशसभा क्षेत्र (ख) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका वेलबहादुर राना र वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर सुनार उम्मेदार छन् । 
भीमदत्त नगरपालिका र वेदकोट ८ मा प्रदेश ७ का पहाडी जिल्लाबाट बसाइँ सरी आएकाहरूको बाहुल्य छ । महाकाली नगरपालिकामा प्रदेश ७ का पहाडी जिल्लासँगै कर्णालीपारिबाट आएकाहरूको बाहुल्य छ । 

 

प्रकाशित : मंसिर १७, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?