कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ र पुरानाबीच प्रतिस्पर्धा

तेह्रथुम — प्रदेशसभाका उम्मेदवारहरूले जिल्लामा चुनाव प्रचार अभियानलाई तीव्र बनाएका छन् । उम्मेदवार र दलका नेता कार्यकर्ताले मुख्य रूपमा स्थानीय विकास निर्माणका योजनालाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

नयाँ र पुरानाबीच प्रतिस्पर्धा

प्रदेशसभातर्फ दुवै क्षेत्रमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ । दुवै तर्फका उम्मेदवारले आफू विजयी हुने दाबी गरेका छन् । प्रदेशसभा क्षेत्र २ मा वामगठबन्धनले एमाले पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ । उनीसँग पूर्वजिविस उपसभापति भएर जिल्लामा विकास निर्माणको काम गरेको अनुभवसमेत छ । कांग्रेसले जिल्लाको राजनीतिमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । प्याब्सन केन्द्रीय अध्यक्ष रहेका विजय सम्बाहाम्फेलाई कांग्रेसले माओवादीबाट भित्र्याएर उम्मेदवार बाएको हो । काठमाडौंलाई कार्यक्षेत्र बनाएका सम्वाहाम्फेलाई दल बदलु नेता भनेर विपक्षीले आलोचना गरिरहेका छन् ।
जिल्ला तहको राजनीतिमा चर्चा कमाएका एमाले अध्यक्ष र कांग्रेस सभापति प्रदेशसभा क्षेत्र १ तर्फ एउटै क्षेत्रमा आमनेसामने भएका छन् । पार्टीका दुई अध्यक्ष एउटै क्षेत्रमा प्रतिस्पर्धामा होमिएपछि जिल्लामा चुनावी माहोल रोचक बनेको छ ।
क्षेत्र १ बाट प्रदेशसभा चुनावमा एमाले अध्यक्ष लक्ष्मण तिवारी र कांग्रेस सभापति गोविन्द ढुंगानाले एउटै क्षेत्र रोजेर उम्मेदवारी दर्ता गराएका हुन् । दुवैले चुनावी प्रचार–प्रसारलाई आक्रामक बनाएका छन् । लालीगुराँस, म्याङलुङ नगरपालिका र छथर गाउँपालिका प्रदेशसभा क्षेत्र १ मा पर्छन् । स्थानीय तह चुनावमा म्याङलुङ नगरपालिका र छथर गाउँपालिकामा एमालेले जितेको थियो । 
लालीगुराँस नगरपालिकामा भने कांग्रेसले जित हात पारेको थियो ।
दुवै नेताले जिल्लाको विकास निर्माणको क्षेत्रमा लामो समयदेखि उल्लेख्य काम गरेकाले पनि मतदाता कुन उम्मेदवारलाई छान्ने भन्ने अन्योलमा छन् । दुई ठूला पार्टीका जिल्ला अध्यक्षको चुनावी प्रतिस्पर्धालाई धेरैले प्रतिष्ठाको विषय बनाएर हेरेका छन् । आफूले लामो समयदेखि जिल्लाका विकासे कामको अगुवाइ गरेकाले पनि मतदाताले यसपटक विश्वास गर्ने तिवारी र ढुंगानाको दाबी छ । 
तिवारीले जिल्लाको पर्यटन, कृषि, सडक सञ्जाल, जलविद्युत्, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रको विकासका मुद्दा उठाएका छन् । कांग्रेस उम्मेदवार ढुंगानाले पनि यिनै विकासे मुद्दालाई अघि सारेका छन् । लामो समयदेखि आफू जनतामाझ पुगिरहने गरेकाले मतदाताको मन जित्न आफू सफल हुने ढुंगानाको दाबी छ ।
पाँचथर र ताप्लेजुङसँग सीमा जोडिएको आठराई क्षेत्रका तेजमान कन्दङवालाई मतदाताले चतुर लिम्बू भनेर व्यंग्य गर्छन् । आठराई क्षेत्रमै बसेर जिल्लाको विकास निर्मााणका काममा आफूले उल्लेख्य योगदान पुर्‍याएकाले पनि २ नम्बर क्षेत्रमा आफ्नो जित निश्चित रहेको कन्दङवाको भनाइ छ ।
‘मसँग पहिले जिविस उपसभापति भएर जिल्लामा धेरै काम गरेको अनुभवसमेत छ,’ कन्दङवाले भने, ‘आठराई क्षेत्रको विकासमा मेरो योगदान ठूलो भएकाले पनि मतदाता मप्रति आकर्षित छन् ।’ आठराई, फेदाप र मेन्छेयायाम गाउँपालिका रहेको २ नम्बर क्षेत्रमा स्थनीय तह चुनावमा एमालेले जित हात पारेको थियो । एमाले एक्लैले चुनाव जित्दै आएको तेह्रथुममा माओवादीसमेत थपिएपछि वाम गठबन्धन झन बलियो भएको कन्दङवा बताउँछन् ।
आफू लामो समय जिल्लाबाहिर बसे पनि आफ्नो क्षेत्रका समस्यालाई नजिकबाट बुझेकाले ती समस्या समाधान गर्ने उपायसहित आफूले उम्मेदवारी दिएको कांग्रेस उम्मेदवार विजय सम्वाहाम्फे बताउँछन् । जिल्लाको विकास निर्माणसहित शिक्षा क्षेत्रको विकासको योजना आफूसँग भएकाले मतदाताले विश्वास गरी भोट दिने सम्वाहाम्फेले बताए ।

 

प्रकाशित : मंसिर १७, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?