कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास माग्दै अल्पसंख्यक समुदाय

देवनारायण साह

मोरङ — अल्पसंख्यक समुदायले भोट माग्न आउने उम्मेदवारहरूसँग आ–आफ्नो समुदायको समग्र विकासको माग गरिरहेका छन् । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा पछाडि परेका अल्पसंख्यक समुदायहरू अहिले भोट माग्न आउने उम्मेदवारसँग विशेष योजनासहित आउन माग गरिरहेका छन् ।

विकास माग्दै अल्पसंख्यक समुदाय

जंगलमा सिकार खेल्ने पुख्र्यौली पेसा भएका यहाँका झाँगड समुदाय हरेक दृष्टिकोणले पछाडि परेको छ । जंगल फँडानी गरी बसोबास थालेका झाँगडहरू अझै सुकुम्बासी हुन् । उनीहरू आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा पछाडि छन् ।

कटहरी गाउँपालिका ५, भौरहाका जितमान उरावले आफूहरूलाई प्रत्येक चुनावमा उम्मेदवारहरूले अनेक आश्वासन बाँड्दै फकाएर भोट लिने गरेको तर जितेर गएपछि फर्केर नआउने गुनासो पोखे । ‘आफ्ना पुर्खाहरूले जंगल फाँडेर बनाएको खेतीयोग्य जमिन यहाँका जमिनदारहरूले षड्यन्त्रपूर्वक हड्पेकोले सुकुम्बासी भएका छौं,’ उनले भने, ‘ती जमिनदारको जग्गा अहिले आफूहरूको नाममा मोही भएको तर त्यसको हक कायम हुन नसक्दा दु:ख पाइयो । त्यसैले आफ्नो हक दिलाउने उम्मेदवारलाई भोट दिने सोचेका छौं ।’

स्थानीय ६५ वर्षीय चन्द्राबत्तीदेवी उरावले आफूहरूको बच्चा जन्मेदेखि मृत्यु हुन्जेल जाँड, रक्सीकै भोजभतेर हुँदै आएकाले सामाजिक रूपमा पछि परेको बताइन् । ‘ज्ञान नहुँदा हामीसँगै हाम्रा बालबालिकाले पनि दु:ख पाए,’ उनले भनिन्, ‘आफूहरूको बालबालिकाको शिक्षादीक्षाको भरपर्दो व्यवस्था मिलाउनेलाई मत दिने सोचेकी छु ।’

उनले बालबालिकालाई शिक्षा, सबैलाई राम्रो स्वास्थ्योपचार, ६० वर्षकालाई सामाजिक सुरक्षा भत्ता, शौचालय, रोजगारी, सामाजिक प्रतिष्ठा आफ्ना समुदायलाई आवश्यक भएको उनी बताउँछिन् । भौरहाका सय घरपरिवार झाँगडको माग यस्तै छ ।
यसअघिका चुनावमा यहाँका अगुवाहरूले आफूहरूको नाममा उम्मेदवारहरूसँग मोटो रकम लिएर आफूहरूलाई भोट हाल्न लगाएको स्थानीय सावित्रीदेवी उरावले बताउँछिन् । उनले घरका अभिभावकलाई पसलमा लगेर मासु, रक्सी खुवाइदिएर सपरिवारकै भोट लिएका अगुवाहरूलाई यसपालि ठेगान लगाउने बताइन् ।

२०६८ को जनगणनाअनुसार मुलुकमा ३७ हजार ४ सय २४ जनसंख्या रहेको झाँगडको मोरङमा ६ हजार ६ सय ९४ छ । यस्तै, राज्यको पहुँचमा पुग्न नसकेको डोम सुमुदाय अवस्था झन् विकराल छ । खान र लगाउनेबाहेक उनीहरूको जीवनै छैन । अहिलेसम्म उनीहरूको बालबालिका विद्यालय पढ्न नगएको अवस्था छ । गए पनि २/४ कक्षा पढेर छाड्ने गरेका छन् । डोम समुदायमा २/४ वर्षको उम्मेरमा नै बालबालिकाहरूको विवाह गरिदिने परम्परा छ । यहाँका विनोद मरिकले उम्मेदवारहरू भोट माग्न आउने गरेको तर जतिपटक भोट दिए पनि आखिर आफूहरूका लागि केही नहुने गरेको गुनासो पोखे ।

‘आफ्नो समुदायको उत्थानका लागि योजना ल्याउने उम्मेदवारलाई यसपालि भोट दिन्छौं,’ उनले भने, ‘आश्वासनको भरमा यसपालि भोट नहाल्ने भन्दै उम्मेदवारहरूलाई भनिसकेको र आफूहरूको लागि के के गर्ने सुनाउन लगाएका छौं । त्यसमध्ये राम्रो योजना भएको उम्मेदवारलाई आफूहरूले भोट हाल्छौं ।’

प्रकाशित : मंसिर १८, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?