कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदाता भन्छन्– बोलेको काम पूरा गर

विराटनगर/धनकुटा — बक्राहाको बाढीले हरेक वर्ष आक्रान्त मोरङ २ का मतदाता स्थायी तटबन्ध गर्ने जनप्रतिनिधिको खोजीमा छन् । यो समस्याको भरपर्दो समाधान गर्न सक्ने उम्मेदवारलाई भोट दिने उनीहरूको तयारी छ ।

विगतमा पनि धेरै नेताले तटबन्ध बनाएर वर्षाका बेला बाढीको विनाशबाट जोगाउने प्रतिबद्धता जनाए पनि पूरा नगरेकामा मतदाताको चित्त दुखाइ छ । यो क्षेत्र खोलैखोलाले घेरिएको छ । झापाको सिमानामा रहेको रतुवा, मध्य भागको बक्राहा र पश्चिमको चिसाङ खोला यो क्षेत्रमा पर्छ । त्यसमध्ये बीचमा पर्ने बक्राहाले यस क्षेत्रका बासिन्दालाई हरेक वर्ष आतंकित बनाउँदै आएको छ ।

‘मतदाताले बक्राहामा स्थायी तटबन्ध गरेर डुबानबाट मुक्त गर्न आग्रह गरेका छन्,’ हसन्दहका मतदाता महेन्द्र विष्टले भने, ‘यस क्षेत्रका बासिन्दाले विकास निर्माणका योजनालाई दोस्रो चरणमा राखेर तटबन्धलाई प्राथमिकता दिएका छन् ।’

१ लाख ११ हजार ३ सय २१ मतदाता रहेको यस क्षेत्रमा रतुवामाई र सुनवर्षी नगरपालिका पूरै र रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीसनिश्चरे नगरपालिकाको वडा ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा १, २ र ३ गरी कुल २९ वटा वडा छन् ।

त्यसमध्ये बक्राहा खोलाको बाढीले हरेक वर्ष रतुवामाई र सुनवर्षी नगरपालिका डुबानमा पर्दै आएको छ । अघिल्लो वर्ष हसन्दहको जयनगरमा करिब अढाई सय मिटर बाँध फुटेर बाढी बस्तीमा पस्दा दुवै नगरपालिकामा हजारभन्दा बढी घर डुबानमा परेका थिए ।

‘बक्राहामा हरेक वर्ष अस्थायी बाँध बाँधिन्छ । बर्खा लागेपछि फुटिहाल्छ,’ रतुवामाई नगर प्रमुख रविन राईले भने, ‘यसपालि पनि बक्राहा र रतुवाको बाँध फुटेर बाढी बस्तीमा पस्दा रतुवामाई नगरमा मात्रै एक अर्बभन्दा बढीको धान खेतसहित भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ । त्यति नै क्षति सुनवर्षी नगरमा पनि पुर्‍याएको छ । राईले भने यहाँका जुनसुकै उम्मेदवारलाई पनि मतदाताले बक्राहामा स्थायी तटबन्ध माग तेर्साउँदै आएका छन् । मतदाताको पहिलो मागलाई यस क्षेत्रका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारले पनि उच्च प्राथमिता दिएका छन् ।

‘आश्वासन पूरा गर’
‘थाहै नपाई चुनाव आइसकेछ,’ बढदै गएको चिसोबाट बच्न आगो ताप्दै गरेकी धनकुटा पाख्रिबासकी सीता श्रेष्ठले भनिन्, ‘खै भोट पनि कसलाई दिनु, हाम्रा लागि राम्रा काम गर्ने कोही भएनन् ।’ घरदैलोमा अझै पनि उम्मेदवार आइनसकेको उनले बताइन् । उनीसँगै रहेकी कमला श्रेष्ठको पनि उम्मेदवारीप्रति गुनासो धेरै छन् । महँगीले बर्सेनि हैरान पारेको पीडा उनीसँग छ । महँगीले डाँडा काटिरहेको छ,’ उनले थपिन्, ‘कम्तीमा नेताले नियन्त्रण गरे हुने नि ।’ उनको अर्को गुनासो पनि छ, ‘घरदैलोमा आएर मतदातालाई अनेक आश्वासन दिने तर बोलेको कुरा पूरा गरेनन् नेताले ।’

उनीजस्तै अन्य पाख्रिबासवासीको उम्मेदवारसामु गुनासो चुलिएको छ । पाख्रिबास ४ फलाँटेका ६० वर्षीय श्यामकुमार राई दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति हुन् । राईले सुरक्षित भएर बाँच्न पाउन पाए हुने तर्क राखे । उनले विगतमा कयौं पटकका चुनावमा मतदान गरेको स्मरण गर्दै भने, ‘पहिले पनि सबैले गरिब, निमुखाका लागि काम गर्छु भन्दै जिते तर चुनाव जितेपछि फर्केर कोही आएनन् ।’ आफ्नै गाउँघरमा ठूला नेता भए पनि सडक, सिँचाइ र खानेपानीको माग वर्षांैदेखि पूरा नभएको उनले बताए ।

पारिगाउँका गोविन्द हिङमाङले चुनाव जितेर जानेले गाउँघर बिर्सने गरेको बताए । पाख्रिबासमा लुगा सिलाउने उनले ज्याला मजदुरी गर्नेका पीडा सुन्ने नेता नजन्मिएको भन्दै आक्रोश पोखे । पाख्रिबासका उपेन्द्र बस्नेतले अहिलेसम्म उम्मेदवारलाई भित्तामा टॉसिएको तस्बिरमा मात्र देखेको बताए ।

‘चुनाव आइसक्दा पनि कोही उम्मेदवार भेटेको छैन,’ उनले थपे, ‘पोस्टरमा देखेकालाई केका आधारमा भोट दिनु ?’ कृषि पेसामा संलग्न सडक, खानेपानी, सिँचाइजस्ता माग वर्षौंदेखि गर्दै आए पनि चासो दिने नेता नपाएको उनको भनाइ छ । कृषि विशेषज्ञ र बीउबीजनको अभाव हुँदा पनि भनेजस्तै उब्जाउ गर्न कठिन भएको बस्नेतले बताए । स्थानीय श्यामबहादुर बस्यालले छोइछिटो गर्ने चलनको अन्त्य गर्न उम्मेदवारलाई सुझाव दिएको बताए । बिहानबेलुकी छाक टार्न धौधौ पर्ने प्रति सरकारमा पुग्नेले उचित ध्यान नदिएको उनको तर्क छ । 

 

प्रकाशित : मंसिर १९, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?