कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा क्षेत्रमा कडाइ

‘अहिलेसम्म शंकास्पद वस्तु फेला परेको छैन । जिल्लाभरको सुरक्षा व्यवस्थामा सन्तुष्ट छौं’

पर्वत/बाग्लुङ — प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले पर्वत भित्रिने र बाहिरिने नाकाहरूमा सुरक्षा निकै कडा पारेको छ । पहिलो चरणमा निर्वाचन भएका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङबाट हुन सक्ने निर्वाचन विरोधी गतिविधि रोक्न सीमा सुरक्षामा कडाइ गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए ।

सीमा क्षेत्रमा कडाइ

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले पर्वत भित्रिने र बाहिरिने नाकाहरूमा सुरक्षा निकै कडा पारेको छ ।

पहिलो चरणमा निर्वाचन भएका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङबाट हुन सक्ने निर्वाचन विरोधी गतिविधि रोक्न सीमा सुरक्षामा कडाइ गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए । ‘आजै दिनभर म्याग्दीबाट धेरै शंकास्पद मोटरसाइकल भित्रिएको सूचना आएको छ,’ प्रजिअ पन्थीले भने, ‘पर्वतका मतदाता भएको प्रमाणित नभएकालाई उतै फिर्ता पठाइयो । चुनावविरोधी गतिविधि हुन सक्ने सीमा आसपासमै हो ।’ पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरूबाट युवा दस्ता भित्र्याएर चुनाव विरोधी गतिविधि गर्न सक्ने भएकाले सिमानामा कडाइ गरिएको हो ।

सुरक्षा समितिले म्याग्दीको सीमा क्षेत्रका गलेश्वर, पर्वतबेनी, कालीपुल, बगरफाँट मिलनचोक र बागलुङको सीमा जोडिएका खनियाघाट, मालढुंगा, नयाँपुल, कुश्मा, फलेवास, जैमिनिघाटलगायत सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सशस्त्र, नेपाल प्रहरी र म्यादी प्रहरी खटाएर सिमानाबाट भित्रिने सवारी तथा सर्वसाधारणका झोलासमेत खानतलासी गरिएको छ । अधिकांश स्थानमा सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मी खटाएर खानतलासी गरिएको छ । कास्की, स्याङ्जा, बाग्लुङ, म्याग्दी मुस्ताङ लगायतबाट भित्रिने सवारीमा पनि चेकजाँच कडा पारिएको प्रजिअ पन्थीले बताए । सीमा नाकाको निगरानी मतगणना अवधिसम्म रहने सुरक्षा समितिले जनाएको छ, ‘चुनावविरोधी गतिविधि कुनै पनि हालतमा रोक्ने गरी खानतलासी गरिएको छ,’ जिल्ला सुरक्षा समितिका सदस्य एवं सशस्त्र प्रहरी उपरीक्षक नवराज अर्यालले भने, ‘अहिलेसम्म शंकास्पद वस्तु फेला परेको छैन । जिल्लाभरको सुरक्षा व्यवस्थामा सन्तुष्ट छौं ।’
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै मतदान केन्द्र र आसपासमा मादक पदार्थ बेचबिखन र सेवन गर्नगराउन पूर्ण रूपमा निषेध गरिएको प्रहरीले जनाएको छ । बजार क्षेत्रका सबै होटलमा समेत बुधबार र बिहीबार दुई दिन मदिरा बेचबिखन पूर्ण रूपमा बन्द गर्न निर्देशन गरिएको प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले बताए ।
यस्तै, बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु हुनेगरी तयारी थालेको बाग्लुङमा सुरक्षा संवेदनशीलका आधारमा जिल्ला भित्रिने र बाहिरिने नाकामा चेकजाँच कडा पारिएको छ । छिमेकी म्याग्दी र रुकुममा पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । प्युठान, गुल्मी, पर्वतमा दोस्रो चरणको निर्वाचन हुँदैछ । ‘निर्वाचनका लागि अनावश्यक मानिस आउजाउ गर्न सक्लान् भनेर निगरानी र सुरक्षा चेकजाँच बढाएका छौं,’ प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले भने, ‘शंकास्पद मानिसलाई रोक लगाउनेसम्मको काम हुँदैछ ।’

अनावश्यक मानिस आउजाउ भएमा सुरक्षामा समस्या पर्छ भनेर छिमेकी जिल्लाका प्रजिअसँग छलफल भएर कडाइ गरिएको उनले बताए । मालढुंगा, शान्तिपुर, खरवाङ, काँडेवास, कालीगण्डकी कोरिडोरको पालुङखोलालगायत स्थान बढी संवेदनशील मानिएको हो । पैदल प्रवेश गर्ने स्थानमा पनि सामान्य सुरक्षा जाँच हुने गरेको हो । सिमानामा नेपाल प्रहरी, सशस्त्र र म्यादीसमेत खटाएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
बाग्लुङदेखि धेरै नाकाबाट पर्वत र गुल्मी प्रवेश हुन्छ । केही स्थानमा प्युठान जाने सडक पनि पर्छन् । पश्चिम बाग्लुङका अधिकांश स्थानबाट गुल्मीको बाटो भएर बुटबलसम्म जाने रात्रि बस चल्छन् । सदरमुकामबाट पर्वत भएर पोखरा, काठमाडौंलगायत स्थानमा सवारी छुट्ने गरेका छन् । बुधबार दिउँसोदेखि बिहीबार बेलुकीसम्म छुट्ने सबै रात्रि र दीवा सेवाका सवारीलाइ रोक लगाइएको प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले बताए ।

निर्वाचन सम्पन्न भएका जिल्लाका मानिस गएर सुरक्षामा खलल पार्ने चुनौती भएकोले बढी जाँच गरिएको उनले बताए । ‘सुरक्षा चुनौतीमा जोडिएका हातहतियार लिएर हिँडेको हुन सक्ने तथा बम बनाउने सामग्री हुन सक्ने भएकाले भित्रनेलाई पनि जाँच गरिएको हो,’ उनले भने, ‘मत गणनाको काम बाँकी रहेकाले दुवैतर्फका जिल्लामा सुरक्षा चुनौती उत्तिकै छ ।’ बाग्लुङमा बिहीबार साँझ ५ बजेदेखि मतगणनाको तयारी भएको छ । मतगणना अवधि र परिणाम आएपछि समेत आइपर्ने चुनौतीका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई चौबिसै घण्टा चनाखो अवस्थामा राखिएको हो । प्रहरीका अनुसार बुधबार साँझदेखि मानिस पैदल आउजाउमा पनि कडाइ गरिने भएको हो ।

प्रकाशित : मंसिर २१, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?