कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तिम १६ मा को कस्तो ?

च्याम्पियन्स लिग
एजेन्सी

लन्डन — युरोपेली च्याम्पियन्स लिग फुटबलको यसपालिको नकआउट चरण ‘ड्र’ भर्खरै निस्केको छ । कसले कोसँग खेल्ने तय भइसकेको छ । यस्तोमा तयार भएको नयाँ समीकरणमा को कस्तो छ त ? द गार्डियनले तयार पारेको विश्लेषण :

अन्तिम १६ मा को कस्तो ?

युभेन्ट्सविरुद्ध टोटेनहम
टोटेनहम समर्थकको एक समूहलाई चिन्ता लागेको हुनुपर्छ, युभेन्ट्स प्रतिद्वन्द्वी पाएकोमा । तर समूह चरणको ‘ड्र’ निस्कँदा पनि यस्तै चिन्ता अर्को समर्थकको समूहलाई पनि लागेको हुनुपर्छ । किनभने त्यति बेलाका प्रतिद्वन्द्वी थिए, रियल म्याड्रिड र बोरुसिया डर्टमन्ड । खासमा टोटेनहमले युभेन्ट्सलाई लिएर धेरै चिन्ता लिइरहनु पर्दैन । किनकि यो यसअघि जस्तो बलियो टिम छैन । अहिले सिरी ‘ए’ को पनि तेस्रो स्थानमा छ । टोटेनहमको छबि नै बनेको छ, ठूलो टिमलाई हराउने । सायद यसपल्ट पनि यस्तै हुनेछ ।
अगाडि बढ्ने टिम : टोटेनहम

बसेलविरुद्ध म्यानचेस्टर सिटी
समूह चरणमा म्यानचेस्टर युनाइटेड बसेलमा गएर पराजित भएको थियो । यो नै म्यानचेस्टरको एकमात्र हार थियो । यस्तोमा म्यानचेस्टर सिटीलाई जोसे मोउरिन्होले पक्कै सल्लाह दिनेछन्, बसेल कम आँक्ने मिल्ने टिम होइन । तर सिटीले साँच्चै बसेलविरुद्ध आफू अनुकूल नतिजा निकाल्न सकेन भने त्यो वास्तवमै अप्रत्यासित हुनेछ । यस सिजन जुन–जुन टिम सिटीका अगाडि आए, ती सबैले सिटी कति बलियो छ भनेर बुझ्ने अवसर पाए । पेप ग्वार्डिओलाको टिमलाई बसेलविरुद्ध गाह्रो हुनु नपर्ने हो ।
अगाडि बढ्ने टिम : म्यानचेस्टर सिटी

पोर्टोविरुद्ध लिभरपुल
यी दुई टिम भिडा नतिजा जस्तै पनि हुनसक्छ । दुवै टिमले समूह चरणमा निकै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । पोर्टोले त्यो समूहबाट अगाडि बढेको थियो, जुन समूहलाई लिग चरणमा सबैभन्दा खराव भन्न मिल्छ । खासमा आजभोलि लिभरपुलले कस्तो खेल प्रदर्शन गर्ने हो, त्यो नै अनुमान गर्न सकिन्न । कुनै बेला भिलरपुलले गज्जब खेल्छ, कहिले राम्रो खेलिरहेको अवस्थाबाट पतनतर्फ अग्रसर हुन्छ । तर अनुमानका लागि जिद्दी गर्ने हो भने लिभरपुल नै बलियो छ, दुई टिममध्ये ।
अगाडि बढ्ने टिम : लिभरपुल

सेभियाविरुद्ध म्यानचेस्टर युनाइटेड
युनाइटेडका लागि यो चुनौतीपूर्ण खेल हुनेछ, सेभियाको सामना गर्दा । युरोपा लिगका पछिल्ला दुई फाइनल विजेता हुन्, यिनीहरू । यी दुईबीच म्यानचेस्टर नै अगाडि बढ्ने सम्भावनाबाट गुज्रिने छ । किनभने यसपल्ट घरेलु ला लिगामा सेभियाले राम्रो गर्न सकिरहेको छैन । यस्तै स्थिति समूह चरणमा पनि रह्यो । लिभरपुलविरुद्ध निकालेका दुई बराबरी भने स्तरीय थियो । प्रशिक्षक एडुवार्डो बेरिजो बिरामी पर्नाले पनि टिमलाई गाह्रो भएको छ । सेभिया म्यानचेस्टरलाई हराउन सक्ने टिम हो, तर यस्तो हुने छैन ।
अगाडि बढ्ने टिम : म्यानचेस्टर युनाइटेड

रियल म्याड्रिडविरुद्ध पीएसजी
यो यस्तो ‘ड्र’ हो, जसलाई लिएर फुटबल प्रशंसक खुसी हुन सक्छन् । यो त्यस्तो खेल हो, पुरानो धनाढयविरुद्ध नयाँ धनाढय । स्थापित क्लबविरुद्ध नयाँ आक्रामक क्लब अर्थात् रियल म्याड्रिडविरुद्ध पीएसजी । यी दुई टिमबीचको खेल कुनै सिनेमाजस्तै हुनेछ, जसमा एउटा शक्तिशाली पात्रले अर्को शक्तिशाली पात्रसँग भिडन्त गर्छ । तर यो सिनेमा अन्त्यको कथा सबैलाई चित्तबुझ्ने र मनपर्ने नै हुनुपर्छ भन्ने हुन्न । धेरैले के पनि आरोप लगाउन सक्छन् भने यो मैदानमा हुने खेलभन्दा बाहिर अर्थशक्तिको भिडन्त हो ।
अगाडि बढ्ने टिम : पीएसजी

साख्तर डोनेस्कविरुद्ध रोमा
नकआउट चरणमा तय छ, यो खेलले सबैभन्दा कम चर्चा पाउने छ । यो यस्तो खेल हो, जसलाई मैदानमा गएर हेर्नुभन्दा घरमै बसेर टीभीमा हेर्नु ठीक हुनेछ । किनभने दर्शकले यसबीच अरु काम पनि गर्न सक्छन् । समूह चरणमा साख्तर डोनेस्कले राम्रो भने खेलेको थियो । डोनेस्क त्यो समूहबाट अगाडि बढेको हो, जसमा नेपोली पनि थियो । त्यसैले साख्तरलाई यसपल्टको च्याम्पियन्स लिगमा ‘डार्क हर्स’ को संज्ञा दिने पनि निस्केका छन् । तर रोमा यो चुनौती पार गर्न सक्षम देखिन्छ ।
अगाडि बढ्ने टिम : रोमा

चेल्सीविरुद्ध बार्सिलोना
अन्तिम १६ मा सर्वाधिक रोमाञ्चक मान्न मिल्ने ‘ड्र’ हो यो । चेल्सीविरुद्ध बार्सिलोना, फुटबलमा सम्भव सबै खाले सनसनी यस खेलले दिन सक्छ । कसलाई थाहा, कति बेला यस्तो खेलमा के हुने हो । दुवै टिममा प्रतिभाशाली खेलाडीको कम छैन । इतिहास पनि दुवैको समृद्ध छ, कम्तीमा पछिल्लो समय । तर घरेलु लिगमा दुवैले तय गरेको यात्रा केही फरक छ । जहाँ बार्सिलोनाले ला लिगामा राम्रो गरिरहेको छ, त्यहीं त्यस्तै प्रदर्शन चेल्सीले प्रिमियर लिगमा गर्न सकिरहेको छैन ।
अगाडि बढ्ने टिम : चेल्सी

बायर्न म्युनिखविरुद्ध बेसिक्टास
भनिन्छ, युरोपेली क्लब फुटबलमा कुनै पनि सजिलो खेल हुन्न । एक खास दिन कुनै पनि टिमले अर्को टिमलाई हराउन सक्छ । यी त भए भावनात्मक प्रसङ्ग । बायर्न त्यो भाग्यमानी टिम हो, जसले सम्भवत: सबैभन्दा सजिलो विपक्षी पाएको छ, त्यो पनि अन्तिम १६ मा । बुन्डेसलिगामा पक्कै पनि बायर्नले राम्रो सुरुआत लिन सकेन । तर बायर्न बेसिक्टासको चुनौती सजिलै समाप्त पार्न सक्षम छ । नराम्रो खेल्दा पनि बायर्न नै बलियो छ भन्न समेत मिल्छ ।
अगाडि बढ्ने टिम : बायर्न म्युनिख
– द गार्डियन

प्रकाशित : मंसिर २७, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?