कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिले दलका उम्मेदवार, अब साझा नेता

पोखरा — उम्मेदवारहरूले टोल भेला र घरदैलोमा आफूलाई बाटो देखाउन स्थानीय खोज्छन् । जसले घरघर चिनेको छ, कता जाँदा उम्मेदवारले प्रभाव पार्न, आफ्नो पक्षमा मतदाता रिझाउन सक्छ, उही स्थानीय अगुवा रोजाइको हुन्छ । पोखरा तालचोकका ४४ वर्षीय धर्म सुवेदी यसैगरी हिँडेका थिए । उनले कांग्रेसका उम्मेदवारलाई बाटो देखाए । घरदैलोमा अघिअघि हिँडे ।


चुनावको नतिजा फरक आयो । वाम गठबन्धनका उम्मेदवार विजयी भए । यतिबेला वाम गठबन्धन आफ्ना नेतालाई अघि लगाएर मतदातालाई धन्यवाद दिन घरदैलो गरिरहेको छ । घरदैलोमा फेरि आएका निर्वाचितलाई उनले बधाई दिए, फूलमाला र अबिर पनि लगाइदिए ।
‘जति वैचारिक विमति थियो । पहिले थियो,’ उनले भने, ‘चुनावपछि भिन्न दलबाट निर्वाचित उम्मेदवार अब हाम्रा साझा नेता भए । घरमै आएका बेला उहाँहरूलाई अबिर र माला लगाइदिनुपर्छ ।’ भिन्न दलबाट चुनावी मैदानमा पुगेर जितेपछि भने नेताहरू सबैका अगुवा हुने उनले बताए । ‘विजयी उम्मेदवारलाई घरदैलोमा आउँदा साझा नेता हुन सक्नुहोस् भन्यौं,’ पोखरा २७, भण्डारढिककी कांग्रेस कार्यकर्ता रामकला विश्वासले भनिन्, ‘जसले जिते पनि काम गर्न पाएको अवधिभरि जनताको हित गर्ने काम गर्नुपर्छ ।’ आफ्ना नेताको पराजय सम्झँदा खल्लो लागे पनि यसपटक जितेकालाई दल र गुटभन्दा माथि उठेर सबैको हितमा काम गर्न सुझाव दिएको उनले बताइन् । ‘जितेका उम्मेदवार एउटा दल वा गुटको हुँदैन, सबैको साझा प्रतिनिधि हुन्छ,’ उनले भनिन् ।
चुनावअघि प्रचारमा जुटेका आ–आफ्ना दलका नेताको पक्षमा मत माग्दै हिँड्नु स्वाभाविक भए पनि विजयी भएर गएपछि नेताले दलगत स्वार्थ राखेर मतदातामाथि विभेद भने गर्न नहुने उनको तर्क छ । आफ्नो मात्रै दल र कार्यकर्ताका कुरा सुन्ने नेता अर्को चुनावमा नटिक्ने भण्डारढिककी एमाले कार्यकर्ता दिलमाया विक बताउँछिन् । ‘यसपटक जित्नेले हामी दलका मात्रै होइनौं । साझा नेता हौं भनेर बुझ्नुपर्‍यो,’ उनले भनिन्, ‘त्यति भए सबैले पक्षपात नगर्नेलाई नै हाइहाई गर्छन् ।’
मतदाताहरूमा समेत गुण, दोषका आधारमा समर्थन र विरोध गर्ने संस्कारको विकास भइसकेकाले नेतालाई विकासप्रेमी बन्न सुझाएको स्थानीय शिक्षक रामप्रसाद अधिकारीले बताए । ‘अब कुन नेताले राम्रो नराम्रो के गरे भन्नेमा मतदाता चनाखो छन्,’ उनले भने, ‘त्यसैले अब जुन नेताले विजयपछि दलको टयागबाट माथि उठेर फराकिलो विचार बनाएर काम गर्छ, उसको राजनीति दीर्घकालसम्म निरन्तर चल्छ ।’ मतदातालाई धन्यवाद दिन घरदैलो हिँडेका विजयी उम्मेदवारहरूलाई आफूले विगतको जस्तै संकुचित सोंच राख्ने बन्न नहुने सुझाव दिएको उनले बताए ।
कास्की १ मा पर्ने यो क्षेत्रमा प्रतिनिधिसभामा एमालेका खगराज अधिकारी र प्रदेशसभातर्फ माओवादीका दीपक कोइराला विजयी भएका छन् । धन्यवाद ज्ञापन गर्दै घरदैलो पुगेका अधिकारीले दलगत स्वार्थ छाडेर आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि सबैको नेता भएर काम गर्ने प्रतिबद्धता जनाए ।

 

प्रकाशित : पुस ३, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?