कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान

वेदराज पौडेल

इटहरी — कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको घरपालुवा हात्ती सोभाकलीसँग संसर्गका लागि आउने जंगली हात्ती माकुनालाई आरक्षले घाँटीमा स्याटेलाइट रेडियो कलर लगाएपछि हात्तीको उपद्रो रोकिएको छ ।

हात्तीको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान
आरक्षभित्रको हात्तीसारमा रहेको सोभाकलीसँग दिनहुँ लहसिन थालेको माकुनाको कारण आरक्ष प्रशासन र स्थानीयसमेत आक्रान्त बनेका थिए ।

सोभाकलीसँगको संसर्गपछि खानेकुरा खोज्न गाउँ पस्दा हात्तीले वितण्डामात्र होइन, मानिस पनि मार्ने गरेको थियो । मंसिर पहिलो सातामात्र सुनसरी र सप्तरीमा ४ जनालाई मारेपछि हात्तीको खबर बुझ्न र अनुगमन गर्न वन्यजन्तु विभाग, कोसीटप्पु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा सेटलाइट रेडियो कलर लगाइएको हो । माकुनालाई डार्ट गरेर रेडियो कलर बाँधिएको कोसीटप्पु वन्यजन्तु आरक्षकका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।

साहका अनुसार हात्तीलाई रेडियोकलर बाँधेपछि अहिले उदयपुरको भागलपुरतिर हात्तीले आफ्नो बथान सारेको छ । त्यसैले अहिले आरक्ष वरपर हात्तीको आतंक केही मत्थर छ । आरक्षभित्र जंगलक्षेत्र कम हुनु र हात्तीलाई रोक्न सक्ने बार नहुँदा बस्तीमा छिर्ने र वितण्डा मच्चाउने गरेको हो । अघिल्लो वर्ष हात्तीले ६ जनाको ज्यान लियो । अहिले मंसिरमा मात्र चार मार्‍यो । जाडो मौसममा आरक्षभित्र सुख्खा हुने र खानेकुरा खोज्न हात्ती गाउँ पस्ने गर्छ । जाडोमा हुस्सु लागेको बेला नदेखिने भएकाले हात्तीले मानिसमाथि आक्रमण गर्ने गरेको वार्डेन साहले बताए ।

मंसिर ११ गते कोसी गाउँपालिका ३ की ४५ वर्षीया सेवियादेवी सरदार र वेचनदेवी सरदारको हात्तीले आक्रमणबाट मृत्यु भयो । ६० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भइन् । आरक्षबाट दाउरा लिएर फर्किएका तीनैजनालाई उखुबारीमा लुकेको हात्तीले आक्रमण गरेको थियो ।

त्यसैगरी सप्तरीको कञ्चनरूप १० की ७० वर्षीया फुलुवादेवी यादवको पनि हात्ती आक्रमणबाटै मृत्यु भयो । घरमा बसिरहेका बेला हात्ती आक्रमणमा फुलुवादेवीको ज्यान गएको हो । त्यस्तै सुनसरी बराह ९ श्रीलंका टापुका रविलाल उरावको पनि हात्ती आक्रमणमा मृत्यु भयो । ३८ वर्षीय उरावको आक्रमणस्थलमै ज्यान गएको थियो ।

माकुनाले तीन जनाको ज्यान लिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट भेटनेरियन पुरुषोत्तम पाण्डे नेतृत्वमा आएको टोलीले हात्तीलाई डार्ट गरी सेटलाइट रेडियो कलर लगाएको हो । आरक्षका वार्डेन साहले भने, ‘अहिले स्याटेलाइट निगरानीसमेत गरिन थालिएको छ ।’ आरक्ष कार्यालय वरिवरि माकुना आउनासाथ कार्यालय परिसरको एन्टेनामा संकेतस्वरूप बत्ती र आवाज दुवै आउँछ । त्यसपछि आरक्षले माइकिङ गर्दै स्थानीयलाई सचेत रहन आग्रह गर्छ । हात्तीबाट स्थानीयलाई जोगाउन यसबाहेक जनचेतनाको काम पनि आरक्षले गरिरहेको साहले बताए ।

हात्तीलाई गाउँ प्रवेश गर्न रोक्नका निम्ति सुनसरी, सप्तरी र उदयपुर क्षेत्रमा विद्युतीय तारबार लगाउने तयारी भइरहेको छ । प्रकाशपुर र मधुवन क्षेत्रमा विद्युतीय तारबार लगाइसकिएको छ । आरक्ष जंगलमा ११ वटा जंगली हात्ती छन् । आरक्ष रहेको सुनसरी, सप्तरी र उदयपुराका मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घरका ८४ हजार ४ सय २३ जना बसोबास गर्छन् ।


प्रकाशित : पुस ६, २०७४ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?