कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीपोखरीमा कंक्रिट - ‘रक्षक नै भक्षक’

पोखरीमा पानी जमाउन नसकिने बताएपछि कंक्रिट प्रयोग गर्न दिएका हौं : पुुरातत्त्व विभाग
दामोदर न्यौपाने

ललितपुर — सम्पदा रक्षा गर्नुपर्ने निकायले नै रानीपाखरीमा कंक्रिट राख्न दिएर सम्पदा मास्न लागिरहेकोमा सरोकारवालाले गुनासो गरेका छन् । रानीपोखरी पुनर्निर्माण क्रममा काठमाडौं महानगरपालिकाकाले पुरातात्त्विक मापदण्ड मिचिएपछि ‘अब के गर्ने ?’ भनेर आयोजना गरेको छलफलमा काठमाडौं क्षेत्र ८ का सांसद जीवनराम श्रेष्ठले भने, ‘रक्षक नै भक्षक भइदियो । त्यही भएर समस्या उब्जियो ।’ उनले जनसहभागिता नभएसम्म सम्पदा जोगाउन नसिकने बताए ।

रानीपोखरीमा कंक्रिट - ‘रक्षक नै भक्षक’

पुरातत्त्व विभागले नै रानीपाखरीमा कंक्रिट राख्न स्वीकृति दिएर गल्ती गरेको उनले बताए । ‘म पहिला महानगरको वडाअध्यक्ष छँदादेखि नै रानीपाखरीको विषयमा चासो राखेको हुँ,’ श्रेष्ठले भने, ‘तर त्यतिबेलाका मेयर पीएल सिंहले रानीपोखरीछेउमा प्रहरी कार्यालय बनाउन दिनुभयो । हामी यो ठाउँलाई खुला राख्न चाहन्थ्यौं । अहिले कफी सप राख्ने समाचार सार्वजनिक भएपछि मैले मेयर विद्यासुन्दर शाक्यलाई फोन गरें । उहाँले रानीपोखरीबाहिर राख्ने बताउनुभएको छ ।’ श्रेष्ठले आफू कानुन निर्माण गर्ने ठाउँमा गएकाले अब सम्पदा जोगाउने कानुन बनाउन पहल गर्ने आश्वासन पनि दिए । ‘सम्पदा संरक्षण गर्नैपर्छ,’ उनले भने, ‘नष्ट हुनबाट जोगाउने हिसाबले झकझकाउनुपर्छ ।

पुरातत्त्वविद् सुदर्शनराज तिवारीले कफी खानका लागि इतिहास, संस्कृति र सम्पदा मास्न नहुने बताउँछन् । ‘ब्युटिफिकेसन गर्ने नाममा कानुन मास्न पाइँदैन,’ उनले भने, ‘भूकम्प गएपछि बनेको पोस्ट रिकन्स्ट्रक्सन गाइडले माटोको साटो सुर्की र चुना प्रयोग गर्न मात्रै पाइन्छ भनेको छ । यहाँ कंक्रिट राख्नु कानुनविपरीत हो ।’ यो राष्ट्रपतिले उद्घाटन गरिएको हो, त्यही भएर यो पहिले नै सुरु भएको कार्यक्रमको निरन्तरता हो भन्दै आएका छन् मेयर शाक्य । ‘राष्ट्रपतिलाई किन गुमराहमा राखियो ?’ तिवारीले भने, ‘अब यो प्रश्न गर्नुपर्छ । गैरकानुनी निर्माण तुरुन्त रोक्नुपर्छ । रोकेर कानुन कार्यान्वयन गर्नुको विकल्प छैन ।’

तिवारीले संस्कृतिलाई राजनीतिमा लैजान नहुने पनि बताए । ‘यहाँ राखिएको कंक्रिट तुरुन्त फाल्नुपर्छ,’ उनले भने, ‘सम्पदा जोगाउने हो भने प्राचीन निर्माण सामग्री, जनशक्ति र निर्माण प्रक्रिया अपनाउनुपर्छ । यो निर्माण गर्न अप्ठयारो छैन अझै । हामीसँग प्राचीन निर्माण सामग्री छन्, कालीगढ पनि छन् ।’

पुरातत्त्व विभागले पनि रानीपाखरीमा कंक्रिट प्रयोग गर्न स्वीकृति दिएको तर साँघुरो बनाउन अनुमति नदिएको बताएको छ । ‘पानी जमाउन नसकिने बताएपछि कंक्रिट प्रयोग गर्न दिएका हौं,’ पुुरातत्त्व विभागका महानर्दिशक भेषनारायण दाहालले भने, ‘यसभित्र सानो भुवेवल कफी सप राख्न र यसलाई ब्युटिफिकेसन गर्न अनुमति दिएका हौं ।’ पोखरीको वरिपरि मिचेरसमेत पर्खाल लगाइरहेको छ । पोखरीको पूर्व र दक्षिणतिरको भागमा धमाधम पर्खाल लगाइरखेको छ । पोखरीको छेउको विन्दुबाट झन्डै १० मिटर परसम्म पर्खाल लगाइँदै छ । पोखरीवरिपरि यति नै क्षेत्रमा पर्खाल लगाइने निर्माण कार्यमा संलग्न ठेकेदार कम्पनीले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले ‘रानीपोखरीमा कंक्रिट संरचना बनाइए पछि भत्काइने’ प्रतिबद्धता जनाए । ‘हामीले एकैसाथ माइतीघरको १८ घर भत्काएका थियौं,’ उनले भने, ‘पोखरी मिचेर स्काउट भवन बनाइएको हो भने त्यो पनि हामी भत्काइदिन्छौं । जुन ठाउँमा पोखरी मिचिएका छन्, त्यहाँको पहिलाको अवस्था हेरेर हामी बनेको संरचना भत्काइदिन्छौं ।’ उनले यी काम गर्न घुमाउरो पारामा आफू ‘मुख्यमन्त्री’ बन्नुपर्ने बताए । ‘यो सबै काम म गर्छु,’ उनले भने, ‘त्यसका लागि म के भन्न खोजेको छु, त्यो तपाईंहरूलाई थाहा छ । त्यसका लागि पनि घचघच्याउनुपर्‍यो ।’

भूकम्पले मन्दिर भत्काए पनि पोखरी चलाउनुपर्ने अवस्था थिएन । ‘मन्दिर पो भत्काएको हो त,’ सम्पदामा पीएचडी गरिरहेकी मोनालिसा महर्जन भन्छिन्, ‘पोखरी त भत्काएको थिएन । कंक्रिट लगाएका तीनवटा संरचना भत्कायौं भन्छ महानगर । तर पोखरीको बीचबाटै मिचेको छ । कंक्रिट मिसाएको छ । एकातिर मास्ने अनि अर्काेतिर कंक्रिट भत्काएका छौं भन्छन् । यो आँखामा छारो हाल्ने काम हो ।’

रानीपोखरीलाई महानगरले म्युजिकल वाटर फाउन्डेसन पार्कका रूपमा विकसित गर्ने योजनासहित काम अघि बढाएको थियो । तर मेयर शाक्य आएपछि यसको स्वरूपमा परिवर्तन गरेको महानगरका इन्जिनियर उत्तरकुमार रेग्मीले जानकारी दिए । कस्तो परिवर्तन गरेको भनेर चाहिँ आफूले भन्न नमिल्ने उनले बताए । ‘म आधिकारिक होइन । आधिकारिक ठाउँबाट सूचना दिनू भनियो भने दिन्छु । नत्र दिन मिल्दैन । यहाँ पुरातात्त्विक मापदण्ड कसरी कायम गर्ने भन्नेमा हामी पनि चिन्तित छौं ।’ रानीपोखरी छेउमा बस्न पार्कसमेत निर्माण गर्ने महानगरको लक्ष्य थियो, यसअघि सर्वाजनिक भएको ड्रइङ डिजाइनमा । यहाँ आउने पर्यटकका लागि टिकट काटेर घुम्ने व्यवस्थासमेत गरिने योजना सार्वजनिक भएको थियो । गार्डेेन, घुम्न दुईवटा बाटा, कफी सपलगायत संरचना बन्नेछन् । पार्कमा आकर्षक बत्तीको पनि व्यवस्था हुनेछ । पोखरीवरिपरिको क्षेत्रमा पनि विभिन्न रङका बत्ती राख्ने योजना छ । रंगीन फोहोरासमेत फालिनेछ । यहाँबाट दैनिक १ लाख रुपैयाँ आम्दानी गर्ने महानगरको योजना छ । तर, स्थानीयले सम्पदालाई सम्पदाकै रूपमा कायम राख्नुपर्ने माग राखेका छन् । ‘पहिला जस्तो थियो, त्यस्तै रूपमा हुनुपर्छ । पुर्खाको नासो त्यही रूपमा आउँदो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ,’ सम्पदाप्रेमी शैलेश राजभण्डारी भन्छन््, ‘सम्पदा नासिएको हामी हेरेर बस्न सक्दैनौं ।× ऐतिहासिक ठाउँ पर्यटकीय स्थल बनोस् । हामीलाई आपत्ति छैन । तर व्यापारिक उद्देश्य राखेर सम्पदा मास्न पाइँदैन । हामी दिंदैनौं ।’

यसको निर्माण लागत १० करोड लाग्ने गरी पुरातत्त्व विभागकाले लागत इस्टिमेट पठाएको थियो । बालगोपालेश्वर पुनर्निर्माणमा भने भ्याटबाहेक १ करोड २६ लाख रुपैयाँ लाग्ने पुरातत्त्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत घिमिरेले जानकारी दिए ।

प्रकाशित : पुस १०, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?