कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२३ वर्षपछि कोसीटप्पुमा राज गरुड

वेदराज पौडेल

इटहरी — कोसीटप्पु वन्यजन्तु आरक्षमा २३ वर्षपछि राज गरुड देखिएको छ । संरक्षणविदका अनुसार नेपाल बाहिर बच्चा कोरल्ने यो चरा सन् १९९५ मा चितवन र कोसीटप्पुमा देखिएको थियो । कोसी वर्ड सोसाइटीका अध्यक्ष अनिश तिम्सिनाले कोसीटप्पुको कटान क्षेत्रभन्दा पश्चिम गिद्धहरूको झुन्डमा राज गरुड देखिएको बताए । केही दिनदेखि राज गरुड यही क्षेत्रमा विचरण गरिरहेको छ ।

२३ वर्षपछि कोसीटप्पुमा राज गरुड

समुद्र सतहबाट २ सय ५० मिटरदेखि १५ सय मिटरसम्म उचाइमा पाइने यो चरालाई स्थानीय भाषामा भुँडीफोर/हाँडीफोरसमेत भनिन्छ । यो सामान्यतया गाउँघरमा देखिने भुँडीफोरभन्दा ठूलो हुछ । बच्चा कोरल्ने समयमा पोथीको रंग परिवर्तन हुन्छ । पिठ्युँमा नीलोनीलो फुस्रो र मुख्य पखेटाको ढकनी वरपर चाँदीजस्तो चमकदार घेरा हुन्छ । अनुहार तथा निधार कालोकालो सुकेको रगतजस्तै देखिन्छ ।

घाँटीभन्दा तल मासु लाम्चोआकारमा झुन्डिएको हुन्छ । अर्थात् टाई झुन्डिएझै देखिन्छ । राज गरुड १४५ देखि १५० सेन्टिमिटरसम्म अग्लो हुन्छ । यसको लम्बाइ भने १ सय ३६ सेन्टिमिटरसम्म हुन्छ । दुवै पखेटा फिजाएको बेला लम्बाइ ९८ इन्चसम्म हुने चराविद्हरू बताउँछन् । यसको तौल ८ देखि ११ किलोग्रामसम्म हुन्छ । पक्षीविद् डा. हेमसागर बरालका अनुसार यो संकटापन्न अवस्थामा छ । यसको संरक्षण गर्न नसकिए विश्वबाटै लोप हुने खतरा छ । ४०/५० वर्षअघिसम्म कोसीपूर्वको इनरुवा, धरान, विराटनगरलगायत सडक छेउका अग्ला रूखमा राज गरुड देखिए पनि यो एकाएक हराएर गएको उनले बताए । सुरक्षित बाससहितको सहज आहारा पाउने स्थान घट्दै गएपछि चरा पनि हराउन थालेको हो । अहिले कोसीमा फेला परेको राज गरुड बिहारबाट चरनका लागि आएको हुन सक्ने उनी बताउँछन् । यसका लागि सुरक्षित बाससहितको चरिचरन व्यवस्था गर्न सके फेरि पनि यसलाई फर्काउन सकिने बरालको भनाइ छ । प्राकृतिक सन्तुलन कायम राख्न राज गरुडको भूमिका अतुलनीय रहने उनी बताउँछन् ।

नोभेम्बरदेखि जनवरीसम्मको सुख्खा मौसममा राज गरुडको पोथीले ५० फिटभन्दा अग्लो रूखमा एकदेखि तीन दिनमा बढीमा तीनवटा अन्डा पार्ने र ओथारा बस्छ । वर्षमा एकपटकमात्र अन्डा पार्ने र ओथारा बस्ने यो प्रजातिले एक महिनामै बच्चा कोरल्छ । भालेपोथी दुवैले अन्डाको रक्षा गर्छन् । बच्चा कोरलेको सय दिनसम्म उनीहरूले बच्चालाई आहारा खोजेर खुवाउँछन् । बच्चा आफैं आहारा खोज्ने नभएसम्म आलोपालो उनीहरूले नै खुवाउँछन् । यो पक्षीले बच्चा कोरल्ने बेलामा मात्र अग्लो रूख र बाँसमा गुँड लगाउँछ । त्यतिमात्रै होइन, बच्चा कोरल्ने बेलामात्र यिनीहरू समूह बनाएर बस्छन् ।

सर्प, माछा, भ्यागुता, घुँगी, सीपीको अलावा मरेका जीवजन्तुको समेत आहारा बनाउने यसले गुँड बनाउने अग्ला रूख नासिनु, चोरी सिकारको जालमा पर्नु, बच्चाको सिकार हुनु, विषाक्त खानेकुराका कारण लोप हुन थालेको छ । सीमसार नासिँदै जानु र पानीको बहाव परिवर्तन हुने भएको कारण पनि यसलाई आहाराको कमी हुने गरेको पक्षीविदहरू बताउँछन् । उत्तरपूर्वी कम्बोडिया र भारतको असाममा ठूलो संख्यामा रहेको यो पक्षी विगत वर्षहरूबाट घटदै गइरहेका छन् ।

प्रकाशित : पुस १२, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?