कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक किमिको ११ रुपैयाँ 

रामेछाप — मन्थलीबाट ६५ किमि दूरीको बाम्ती पुग्न सवारी साधनले ७ सय रुपैयाँ भाडा असुल्ने गरेका छन् । १५ किमि पक्की र बाँकी कच्ची पर्ने सडकमा यो भाडादर प्रतिकिमि झन्डै ११ रुपैयाँ हो । यातायात सञ्चालकहरू त्यति भाडामा पनि सन्तुष्ट छैनन् ।

एक किमिको ११ रुपैयाँ 

‘यो भाडाले पुगेको छैन,’ हिमगंगा यातायात सेवा समिति अध्यक्ष शारदाजंग कार्की भन्छन्, ‘टायर महिना दिन टिक्दैन, मर्मतमा धेरै पैसा जान्छ ।’ मन्थलीदेखि रामेछापको दूरी १३ किमि छ । अधिकांश कालोपत्रे उक्त सडकमा यात्रा गर्दा सार्वजनिक बसमा सय रुपैयाँ तिर्नुपर्छ । बलेरो र टाटा सुमोमा त्यसको डेढ गुना बढी भाडा लाग्छ ।

प्रजिअको अध्यक्षतामा बस्ने जिल्ला यातायात समिति बैठकमा उक्त सडकमा लिइने भाडाबारे पटकपटक छलफल हुन्छ । समितिले कच्ची सडकमा प्रतिकिमि ४ रुपैयाँसम्म लिन पाउने गरी भाडा तोकिदिएको छ । तर, उक्त खण्डमा यो निर्णय कहिल्यै कार्यान्वयन हुँदैन । हिमाल–तराई यातायात सेवा समितिले मन्थलीदेखि रामेछापसम्मको सडकमा बस सञ्चालन गर्छ । टाटा सुमो सञ्चालन गर्ने अन्य समितिले समेत रामेछाप–मन्थलीमा यात्रु बोक्छन् । जिल्लाका अधिकांश सडकमा राज्यले तोकेअनुसार भाडादर लागू हुँदैन । सदरमुकामबाट काठमाडौं आउजाउ गर्ने सवारीले पनि अटेरी गरेका छन् । १२७ किमिको काठमाडौं पुग्न ५ सय रुपैयाँ तिर्नुपर्छ । पक्की सडकमा यात्रा गर्दा सरकारले तोकेको दरबमोजिम प्रतिकिमि २ रुपैयाँ पनि पर्दैन ।

राज्य जिम्मेवार नहुँदा आफूहरू ठगिनुपरेको अपांग सचेतना केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् । ‘हामीले भनेको यातायात व्यवसायीले सुन्दैनन्,’ उनले भने, ‘जिल्लाका धेरै सडकमा अपांग, विद्यार्थी र ज्येष्ठ नागरिकले सहुलियतसमेत पाएका छैनन् ।’ सुमोले छुट नदिएको नयाँघरेको गुनासो छ । जिल्लाका २० भन्दा बढी सडकमा बस र सुमो सञ्चालन हुन्छन् । तर, राज्यले तोकेको भाडामा यात्रा गर्न पाइँदैन । पश्चिमी र उत्तरी भेकका सडकमा चर्को भाडा असुलिन्छ । सडक असजिलो भएको बहानामा यातायात सेवा समितिले यात्रु ठगिरहेको बाम्तीका पेम्बा शेर्पाले गुनासो गरे ।

सार्वजनिक सवारीसाधनमा लाग्ने भाडादरबारे छलफल हुन छाडेकै महिनौं भएको छ । प्रजिअ दिलीपप्रसाद लामिछानेले चुनावका कारण उक्त विषयमा छलफल गर्न नभ्याएको बताए । ‘हामी चाँडै यस विषयमा छलफल चलाएर निचोडमा पुग्छौं,’ उनले भने । जिल्लामा रामेछापमा अरनिको, हिमाल–तराई, त्रिवेणी, सिटी भिलेज, नौलो सिटी, हिमगंगा, निसान भगवती, खाँडादेवी, हिमगंगा यातायात प्रालिलगायतले गाडी चलाउँदै आएका छन् ।

प्रकाशित : पुस १४, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?