कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांगलाई आत्मनिर्भर बनाउँदै आँखा अस्पताल

देवनारायण साह

मोरङ — एकातिर गरिबी, अर्कोतिर छोराछोरी दृष्टिविहीन जन्मेको पीडा । जोसुकैलाई सह्य हुँदैन । यस्तै पीडा भोग्नुपर्‍यो, रतुवामाई ३ का अमरलाल हरिजनले । सुकुम्बासी परिवारका अमरलालका जेठो छोरा कमल दृष्टिविहीनका साथै कान पनि नसुन्ने, माहिलो मेजर र कान्छी छोरी सोबिता दृष्टिविहीन छन् ।

अपांगलाई आत्मनिर्भर बनाउँदै आँखा अस्पताल

उनलाई केही वर्षअघिसम्म बिहानबेलुका चुलो बाल्न दैनिक मजदुरीमा जानै पर्ने र, घरमा छोराछोरी एकलै छाड्न पनि नमिल्ने अवस्था हुँदा मर्नु नबाँच्नु थियो । उनले सपरिवारलाई एक चिहान बनाउने प्रयास पनि नगरेका होइन । तर, समाजका भद्रभलादमीको सहयोगले अहिलेसम्म बाँचिरहेको उनले सुनाए ।

अमरलालले विराटनगर आँखा अस्पताल रानीका सहजकर्ता गाउँमा आँखा जाँच गर्दै आफ्नो घर आएको सम्झिँदै अस्पतालको सानो सहयोगले आज आफ्नो र छोराहरूको जीवन सहज भएको उनले बताए । ‘अस्पतालले गाउँमा सकारात्मक सोच अभिवृद्धि तालिम सञ्चालन गरेपछि आँखा नदेख्ने र कान नसुन्ने पनि आत्मनिर्भर भएर जीवनयापन गर्न सक्ने जानकारी प्राप्त भयो,’ उनले भने, ‘अस्पतालले सञ्चालन गरेको गमनशीलता तालिममा दुवै छोरालाई सहभागी गराएँ र त्यसपछि उनीहरू आफै नित्यकर्मका साथै हिँडडुल गर्नेसम्म भए ।’ अहिले छोराछोरीलाई घर छोडेर मजदुरी गर्न जान सहज भएको उनी बताउँछन् । अस्पतालले आफ्ना छोराछोरीलाई मुढा बनाउने तालिमसमेत दिएकाले जीवन सहज भएको उनी सुनाउँछन् ।

यस्तै, पथरी सनिश्चरे १ का कुमार सुब्बाको पहिलो सन्तान मेरी जन्मेदेखि नै आँखा नदेख्ने भएपछि निकै पिरोलेको उनले बताए । ‘छोरीको लालनपालनका साथै जीवनबारे नै रातदिन सोच्थेँ,’ उनले भने, ‘विराटनगर आँखा अस्पतालका सहजकर्ता अनिता तामाङ र रमा ढकाल आँखा जाँच गर्दै आएपछि आफ्नी छोरीको समस्या बताएँ, त्यसपछि अस्पतालले सञ्चालन गरेको विभिन्न तालिममा सहभागी भएपछि सहज जीवन यापन गर्न सक्ने अनुभव भयो ।’ अस्पतालकै सहयोगमा आफ्नी ८ वर्षीया छोरी धरानस्थित ज्ञानचक्षु विद्यालयमा कक्षा २ मा पढिरहेको उनले बताए ।

‘पहिले आँखा नदेख्ने छोरी पाएर पूर्वजन्मको पाप भोगिरहेको लाग्थ्यो,’ उनले भने, ‘अहिले छोरीको गायन प्रतिभा हेरेर भगवानले आफूलाई छोरीका रूपमा प्रसाद पठाएको जस्तो लाग्छ ।’ विद्यालय भर्ना भएपछि मेरी गीत गाउन थालेकी छन् । ८ वर्षीया मेरीको सुरिलो आवाजले जोसुकैको मन जित्न सफल भएको ज्ञानचक्षु विद्यालयका प्रधानाध्यापक केशरी थापाले बताइन् ।

यस्तै, रतुवामाई ६ का शंकरप्रसाद ढकालले २५ वर्षको उमेरमा दुवै आँखाको नसा सुकेर ज्योति गुमाए । आँखा नदेख्ने भएपछि पत्नीले सम्बन्ध विच्छेद गरेको उनले सुनाए । ‘जीवनको सहारा एक छोरा थियो उसलाई पनि लिएर पत्नी गएपछि म बेसहारा भएर दाजुभाउजूको शरणमा पुगेँ, एक्लै हिँड्न नसक्ने, खाना पनि खान नसक्ने, शौचालय पनि अरूले नै लगिदिनुपर्ने अवस्थामा बाँच्न बाध्य थिएँ,’ उनले भने, ‘विराटनगर आँखा अस्पतालले गाउँमा अपाङ्गता भएकालाई आत्मनिर्भर अभियान सञ्चालन गरेपछि आफू पनि सहभागी भएर गमनशीलताको तालिम लिएपछि आफ्नो काम आफंै गर्न सक्षम भएँ ।’ अहिले नेत्रहीन संस्थामा एक महिने मुढा बनाउने, च्याउखेती र बाख्रापालन तालिम लिएर आयआर्जनसमेत गरिरहेको उनले सुनाए ।

विराटनगर आँखा अस्पताल रानीले सिबिआरको सहयोगमा सन् २०१३ मा मोरङको ११ गाविसमा दृष्टिविहीनलाई आत्मनिर्भर बनाउन ‘समुदायमा आधारित पुन:स्थापना’ कार्यक्रम सुरु गरेको थियो । अभियानअन्तर्गत झुरकिया, बरडंगा, महदेवा, सिजुवा, रंगेली, गोविन्दपुर, टकुवा, अमरदह, हसन्दह, शनिश्चरे र पथरीका २ सय १३ आँखा नदेख्ने व्यक्ति अहिले आत्मनिर्भर भएका छन् । उनीहरूलाई गमनशीलता, सकारात्मक सोच विकास, भोकेशनललगायत तालिम दिएको छ । दृष्टिविहीनको दैनिक जीवनयापनका लागि सीपमूलक तालिम दिएर प्रतिव्यक्ति १५ हजार निव्र्याजी ऋण उपलब्ध गराएर आयआर्जन कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालका सिबिआर संयोजक अफाक अनबरले बताए । ११ गाविसस्थित दृष्टिविहीन र कान नसुन्ने ३५ बालबालिकालाई विद्यालय भर्ना गराएको उनको भनाइ छ । उक्त कार्यक्रमअन्तर्गत ११ गाविसका ४ हजारभन्दा बढी न्यून दृष्टि भएकाको उपचार भएको उनले बताए ।

कार्यक्रमका वरिष्ठ अधिकृत पदम महरले स्वास्थ्य संस्थाले बिरामीको उपचारसँगै सामाजिक क्षेत्रमा काम गरेको यो प्रयोग सफल भएको जनाए । ‘विराटनगर आँखा अस्पतालको यो कार्यक्रमले मुलुकका स्वास्थ्य संस्थालाई सामाजिक क्षेत्रमा काम गर्ने बाटो पहिल्याइदिएको छ,’ उनले भने, ‘अन्य सामाजिक संस्थाभन्दा सम्बन्धित सेवा सञ्चालन गरिरहेकाले सामाजमा प्रभावकारी भएको प्रमाणित भएको छ ।’

प्रकाशित : पुस १५, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?