कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृत्रिम गर्भाधानबाट जन्मिए ११० शिशु

नि:सन्तानबाट बच्न जथाभावी गर्भपतन नगर्ने, धेरै चाँडो र ढिलो बिहे नगर्ने, पहिलो सन्तान २० देखि ३० वर्षको उमेरमा जन्माउने 
फातिमा बानु

काठमाडौँ — प्रसूतिगृहको नि:सन्तान सेवा केन्द्रबाट कृत्रिम गर्भधारणका माध्यमबाट यस आर्थिक वर्षमा मात्रै १ सय १० शिशु जन्मिएका छन् । सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण सेवा विस्तारमा समस्या भइरहेको अस्पताल प्रशासन प्रमुख रानु थापाले बताइन् ।

कृत्रिम गर्भाधानबाट जन्मिए ११० शिशु

प्रसूतिगृहको नि:सन्तान सेवा केन्द्रमा दैनिक ३०/४० जना यस्तै समस्या लिएर आइपुग्छन् । कृत्रिम गर्भाधान (आईभीएफ, आईयूआई) प्रविधिबाट सन्तान जन्माउँदा महिलामा कृत्रिम गर्भाधान गरिन्छ । आईभीएफ कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो । बाँझोपनको समस्या हटाउन यस्तो प्रविधि प्रयोग गरिन्छ । यसमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट प्रयोगशालामा राखेर करिब ४८ घण्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ । कुनै जोडीको प्राकृतिक

गर्भधारण हुन नसकेमा केन्द्रले उनीहरूको स्वास्थ्य अनुसन्धान गरी कृत्रिम गर्भधारण गर्न मद्दत गर्ने केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठले बताइन् ।

‘नि:सन्तान समस्या भन्नेबित्तिकै महिलाकै मात्र दोष हुन्छ भन्ने सामाजिक मान्यता हावी छ, समस्या महिलापुरुष दुवैमा बराबरी नै हुन्छ,’ डा. श्रेष्ठले भनिन् । ‘कुनै पुरुषमा शुक्रकीट उत्पादन नै कम हुन्छ, कसैको शुक्रकीट पर्याप्त भइहाले पनि गुणस्तरीय हुँदैन, जसले गर्दा नि:सन्तान समस्या आइपर्छ,’ उनले भनिन् । समस्या पुरुषको हुँदा उपचार थप जटिल हुने श्रेष्ठ बताउँछिन् । ‘शुक्रकीट नै विकास नहुनेले अर्को व्यक्ति (डोनर) बाट शुक्रकीट लिएर पनि गर्भधारण गर्न सकिने अस्पतालका पूर्वनिर्देशक डा. अमीरबाबु

श्रेष्ठले बताए । ‘यसका लागि छुट्टै खर्च लाग्छ, दुई हजार थप,’ उनले भने ।

ललितपुरका २५/२७ वर्षीय एक जोडीको विवाहको ५ वर्ष बितिसक्दा पनि सन्तान भएनन् । सन्तानबारे डाक्टरले भनेअनुसार सबै जाँच गर्दा पनि बच्चा हुन सकेन, यस्ता जोडी प्रजनन उमेरका छन् भने केही वर्ष कुरेर प्राकृतिक रूपमै गर्भधारण गर्नु राम्रो हुने श्रेष्ठले बताइन् । नि:सन्तान हुनुका धेरै कारण

भए पनि १० देखि १५ प्रतिशतमा कारण नै पत्ता नलाग्ने उनी बताउँछिन् ।

आईभीएफ सेवाका लागि विशेषज्ञको सल्लाहमा महिलाले महिनावारी भएको २/३ दिनमा अन्डा (भ्रूण) बढ्ने औषधि खानुपर्छ । औषधि खाएको १० दिनमा अन्डाको चेकजाँच

भएपछि पाइपद्वारा पुरुषको शुक्रकीट महिलाको पाठेघरमा राखिन्छ । यस्तो प्रक्रिया आईयूआई हो, जुन आईभीएफभन्दा निकै सस्तो छ । यो सेवाका लागि आठदेखि दस हजार खर्च गर्नुपर्ने डा. श्रेष्ठले बताइन् । केन्द्रले १६ वर्षदेखि आईयूआई सेवा दिँदै आइरहेको छ ।

आईयूआई उपचार सफल नहुनेले मात्रै आईभीएफतिर लाग्नुपर्ने श्रेष्ठ बताउँछिन् । आईभीएफ भने गत पाँच वर्षदेखि सञ्चालनमा छ, जुन आईयूआईभन्दा महँगो हुने अस्पतालले जनाएको छ । ‘इन्जेक्सनको मूल्य पनि समस्या हेरेर हुन्छ, ३० देखि ६० हजारसम्म लाग्न सक्छ,’ निर्देशक डा. श्रेष्ठ भन्छन्, ‘लामो उपचार र धेरै खर्च गर्दा पनि कहिलेकाहीं उपचार सफल नहुन सक्छ । यो उपचार २० देखि ३० प्रतिशत मात्रै सफल हुन्छ ।’

आईभीएफका लागि अस्पताललाई मात्रै एक लाख ६० हजार तिर्नुपर्छ । इन्जेक्सन, चेकजाँच फलोअप गरेर दुई लाखसम्म खर्च लाग्ने उनले बताए । निजी अस्पतालमा भने ६ लाखसम्म तिर्ने गरेको केही सेवाग्राहीले बताए ।

नि:सन्तान समस्याबाट बच्न जथाभावी गर्भपतन नगर्ने, धेरै चाँडो र निकै ढिलो बिहे नगर्ने, पहिलो बच्चा २० देखि ३० वर्षको उमेरमा जन्माउने चिकित्सकहरूले सुझाएका छन् ।

प्रकाशित : पुस १५, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?