कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला उठाउन कन्जुस्याइँ

शंकर आचार्य

पर्सा — राजनीतिक दलहरूले प्रदेश २ मा महिला उम्मेदवारी दिन कन्जुस्याइँ गरेका छन् । यो प्रदेशमा प्रतिनिधिसभातर्फ कुल ८ सय ५५ उम्मेदवार रहेकोमा तीमध्ये महिला २८ जना मात्र छन् । तीमध्ये ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

महिला उठाउन कन्जुस्याइँ

जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी रौतहटमा ७, सर्लाहीमा ६ र धनुषा तथा पर्सामा ४/४ महिला उम्मेदवार छन् । सिराहामा ३, सप्तरी र महोत्तरीमा २/२ महिला उम्मेदवार छन् । बारामा एकजना पनि महिला उम्मेदवार छैनन् ।

प्रदेशका सप्तरीदेखि पर्सासम्मका ८ जिल्लामध्ये महोत्तरी २ बाट कांग्रेसले किरण यादव र पर्सा ४ बाट माओवादी केन्द्रले उर्मिला अर्याललाई प्रतिनिधि सभामा टिकट दिएको बाहेक अन्य आधा दर्जन जिल्लामा ठूला दलबाट महिला उम्मेदवारले अवसर पाएका छैनन् ।

साना दलका हकमा नेपाल मजदुर किसान पार्टीले सप्तरी २ बाट निरोदेवी ठाकुर र रौतहट २ बाट मानजोगी कुमारीलाई टिकट दिएको छ । नेपाली जनता दलले पर्सा ४ बाट किरणबाला बर्मा र सर्लाही २ बाट मीरा (विन्द्रा) देवी झालाई अवसर दिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सिराहा ३ बाट रीतादेवी खडकालाई उम्मेदवार बनाएको छ । नेकपा मालेले धनुषा ४ बाट कोशिलादेवी तत्मा र रौतहट ४ बाट अनवरी खाँलाई उम्मेदवार बनाएको छ ।

प्रदेशमा पनि उस्तै
प्रदेशसभातर्फ पनि महिला उम्मेदवारीको अवस्था खासै उत्साहजनक छैन । ८ जिल्लामा कुल १ हजार ४ सय १२ उम्मेदवारमध्ये ५४ जना मात्र महिला छन् । तीमध्ये पनि १९ स्वतन्त्र उम्मेदवार हुन् । महोत्तरीमा सर्वाधिक १ दर्जन महिला उम्मेदवार छन् । त्यसपछि बारा र सिराहामा ८/८, रौतहटमा ७, धनुषा, सर्लाही र पर्सामा ५/५ जना छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा महिला उम्मेदवारमा स्वतन्त्रको संख्या बढी हुनुले दलहरूबाट टिकट नपाउँदा बागी उम्मेदवारी दिएको सम्भावना बढी देखिन्छ । यसै प्रदेशमा मैथिलीभाषी मिथिला क्षेत्र तथा भोजपुरी र बज्जिकाभाषी क्षेत्र पर्छन् ।

वाग्मतीपूर्वदेखि कोसी नदीपश्चिमसम्मको बीचको भूभागलाई मिथिला क्षेत्र मानिन्छ । भोजपुरा तथा बज्जिकाभाषी क्षेत्रभन्दा तुलनात्मक रूपमा शिक्षाको र चेतनाको स्तर मैथिलीभाषी क्षेत्रमा बढी छ । वाग्मतीपश्चिम रौतहट र बाराको पूर्वी भेगमा बज्जिका र मध्यबारादेखि पर्सासम्मको क्षेत्र भोजपुरीभाषी क्षेत्र हो । तुलनात्मक रूपमा मैथिलभाषी क्षेत्रका महिलाको शिक्षा र चेतनाको स्तर केही राम्रो मानिन्छ । तर जनप्रतिनिधिको अवसर दिने मामिलामा महिलालाई अवसरबाट वञ्चित गरिएको छ ।

झन्डै २ दशकदेखि मध्यतराईका जिल्लाहरूमा महिला सशक्तीकरणको क्षेत्रमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू कार्यरत रहे पनि नेतृत्व तहमा महिलालाई पुर्‍याउन उनीहरूको लगानी र प्रयासको उत्साहजनक परिणाम नआएको यसले प्रमाणित गर्छ । यसले पहिलो मधेस आन्दोलन पछि मधेसी महिलालाई घुम्टोबाहिर ल्याउन, चुलो चौकाको दायराबाट माथि उठाउन र पतिको नाम उच्चारण गर्न सक्ने बनाएको दाबी गर्ने गैससहरूको कामको नतिजा पनि सकारात्मक नआएको देखिने विश्लेषकहरूले बताएका छन् ।

ठाकुरराम क्याम्पस वीरगन्जकी प्राध्यापक डा. सुष्मा तिवारी महिलालाई प्रत्यक्ष चुनावमा अवसर नदिइनुको पछाडि पछिल्ला केही चुनावमा पैसाको चलखेल बढी हुनुलाई मुख्य कारण ठान्छिन् । ‘जसले बढी पैसा दिन्छ, उसले टिकट पाउँछन्,’ उनले भनिन्, ‘महिला नेतृहरूले कहाँबाट ल्याएर पैसा खर्च गर्ने ?’ यसबाहेक महिला नेतृहरूलाई अझै पनि दलका पुरुष नेताहरूले कम आँक्नु पनि अर्को कारण रहेको उनको बुझाइ छ । यसका साथै केही महिला नेतृहरूमा आत्मबलको कमी पनि तेस्रो कारण हुन सक्ने उनले बताइन् ।

उर्मिला अर्याल यस पटक पर्साको क्षेत्र नं ४ बाट माओवादी केन्द्रकी उम्मेदवार बनेकी छन् । वाम गठबन्धनले साझा उम्मेदवार अर्यालको राजनीतिमा लामो अनुभव छ । उनी मुलुकको समग्र राजनीतिक प्रणाली नै महिलामैत्री नरहेको बताउँछिन् । ‘महिला नेतृहरूले घरायसी काम मात्र नभई आफू आबद्ध दलको काम गरेर राजनीति गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘परिवार, श्रीमान्, छोराछोरीको अपेक्षालाई पूरा गरेर महिलाले राजनीति गर्न ठूलो संघर्ष गर्नुपर्छ ।’

पछिल्लो समय चुनावमा पैसाको खेल बढी भएकाले महिलालाई यस्तो परिस्थितिमा चुनाव लड्न ठूलै समस्या हुने उनको बुझाइ छ ।

‘अचेल चुनावमा पैसा, मसल र लाठीको बोलवाला हुन्छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा महिलाले पैसा खर्च गरेर चुनाव लड्न सक्दैनन् भन्ने मानसिकता दलका पितृसत्तात्मक सोच भएका नेताहरूमा मात्र छैन ।’

प्रकाशित : कार्तिक २३, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?