कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामहरि र यज्ञराजको मन जित्ने होडबाजी

ओखलढुंगा — कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञ सुनुवार जिल्ला मात्र नभई राष्ट्रिय राजनीतिमै चर्चा कमाएका अनुहार हुन् । अठारपल्ट कार्यबाहक प्रधानमन्त्रीको नाम लेखाएका जिल्लाका नेता बलबहादुर राईको विरासत पछ्याउँदै राजनीतिमा होमिएका खतिवडा र अनेरास्ववियुको केन्द्रीय राजनीतिबाट चर्चामा आएका सुनुवारबीचको प्रतिस्पर्धा निकै रोचक हुँदै छ ।

रामहरि र यज्ञराजको मन जित्ने होडबाजी

यतिबेला खतिवडा सदरमुकामुदेखि पूर्व र सुनुवारले पश्चिम क्षेत्रका बस्तीमा निर्वाचन अभियान लगिरहेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा यी दुईको प्रचारप्रसार पनि आक्रामक छ । दुवै पार्टीका चुनावी ब्यानर, तुल र झन्डाले सदरमुकाम रंगिएको छ । आचारसंहिताविपरीत बजार चुनाव चिह्न र झन्डा अंकित तुलले छोपिँदा पनि निर्वाचन आयोगले त्यस्ता सामग्री हटाउन सकेको छैन । सूर्योदयसँगै घन्कन सुरु हुने चुनावी गीत राति अबेरसम्म पनि सकिँदैन । दुवै उम्मेदवारले आफूलाई गीतमार्फत विकासप्रेमी नेताका रूपमा चिनाउन खोजेका छन् । एमालेले एउटा गाडी त चुनावी गीत बजाउनकै लागि छुट्याएको छ ।

खतिवडा ‘एउटै उद्देश्य निरन्तर काम, समृद्ध ओखलढुंगा हामी सबैको अभियान’ मूल नारा बनाएर हिँडेका छन् । सुनुवार ‘सामाजिक एकता र आर्थिक समृद्धिको आधार, वाम गठबन्धन प्रगतिशील गठबन्धनको नेतृत्वमा स्थिर र बलियो सरकार’ नारा बोकेर मतदातामाझ पुगेका छन् ।

प्रचार क्रममा दुवै नेता सडक निर्माण, सुनकोसीमा मोटर पुल, विमानस्थल कालोपत्रे, खिजीफलाँटेमा इलाका प्रशासन कार्यालय खोल्ने काम गरेको भन्दै जस लिने होडमा देखिएका छन् । सुनुवारले आफूले वाचा गरेको विकास निर्माण चार वर्षमा पूरा गरेको दाबी गरे । खतिवडा पनि आफूले प्रतिबद्धता जनाएभन्दा धेरै बजेट जिल्लाको विकासमा भित्र्याएको बताउँछन् । ‘वाम गठबन्धन त सानो आधार हो, मैले वाचा पूरा गरेकाले कांग्रेसले कहिल्यै टाउको उठाउन नसक्ने मतान्तरमा जित्छु,’ सुनुवारले भने । खतिवडाले पनि ५ हजारभन्दा बढी मतले जित्ने दाबी गरे । ‘जिल्लामा म जति खटिएको छु, एमाले उम्मेदवार खटिएका छैनन्,’ उनले भने, ‘जनताले विकास गर्ने मान्छे चिनेका छन् ।’

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के जिल्लाको विकास र जनताको पीरमर्कामा खटिने स्वभाव दुवैमा रहेको बताउँछन् । ‘ओखलढुंगाको विकास र समृद्धिका लागि दुवै नेता आवश्यक छन् तर चुनावी क्षेत्र एउटै मात्रै भएकाले एउटालाई ५ वर्षपछि धकेल्नुपर्ने कठिन अवस्था बनेको छ,’ उनले भने, ‘बितेका चार वर्ष दुवै नेताले जिल्लामा विकास बजेट ल्याउन पनि प्रतिस्पर्धा देखाए जसबाट धेरै सडक र अन्य विकास पूर्वाधार खडा भए ।’

यी दुईबीच अर्को पनि समानता छ– सबैभन्दा बढी जिल्ला आउने । चुनाव जितेपछि नेता जिल्ला फर्कन्नन् भन्ने मतदाताको गुनासो यहाँ कमै सुनिन्छ । ‘उनीहरू आउनुअघि जिल्लाबाट निर्वाचित हुनेहरू जिल्ला फर्कन्थेनन् । स्थानीय बासिन्दाको गुनासो नै नेताहरू जिल्ला फर्कंदैनन् भन्ने थियो,’ मास्के भन्छन्, ‘खतिवडा र सुनुवारले त्यसलाई ब्रेक गरेका छन् ।’

दुवै नेताबीच जिल्लाका कार्यक्रममा को प्रमुख अतिथि बन्ने भन्ने होड हुन्थ्यो । विवादै निम्तिन्थ्यो । पछि क्षेत्र नं १ को कार्यक्रममा सुनुवार र २ को कार्यक्रममा खतिवडा प्रमुख अतिथि बन्ने समझदारी भएको थियो । ०७० सालको निर्वाचनबाट यी दुवै संसद् पुगेका हुन् । सुनुवार निर्वाचन क्षेत्र नं १ बाट र खतिवडा २ बाट निर्वाचित भएका हुन् ।

वाम गठबन्धनतर्फ प्रदेश ‘क’ मा एमालेका अम्बिरबाबु गुरुङ र ‘ख’ मा माओवादीका मोहनकुमार खडका उम्मेदवार छन् । कांग्रेसले ‘क’ मा मित्रसेन दाहाल र ‘ख’ मा प्रदीप सुनुवारलाई उठाएको छ । सुनुवारलाई आफ्नो निर्वाचन क्षेत्रबाट नउठाएर ‘ख’ मा ल्याएको भन्दै कांग्रेसबाटै ज्ञानेन्द्र रुम्दालीले बागी उम्मेदवारी दिएका छन् । वाम गठबन्धन यसको फाइदा उठाउने दाउमा छ ।

जिल्लामा सबैभन्दा बढी आदिवासी जनजातिको बसोबास छ । आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष नेत्रबहादुर नेम्बाङका अनुसार ५८ प्रतिशत जनसंख्या आदिवासी जनजाति छन् जसमा सबैभन्दा बढी राई (१६ प्रतिशत) छन् । त्यसपछि क्षत्री, सुनुवार, बाहुन, मगर, तामाङको जनसंख्या छ । महासंघ जिल्ला अध्यक्ष नेम्बाङ जातीय आधारमा मत ध्रुवीकरण हुने सम्भावना कम रहेको बताउँछन् । ‘उम्मेदवारको व्यक्तिगत प्रभावका आधारमा जातीय मत तानिन सक्छ,’ उनले भने, ‘कसको अनुहार कस्तो छ भन्ने हेरेर मत दिने क्रम अब छैन भन्दा पनि हुन्छ ।’

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?