कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोट तान्न आरोप–प्रत्यारोप

प्रतिस्पर्धी पाखा लगाउने होडबाजीमा उम्मेदवारहरू आचारसंहिता बिर्सेर व्यक्तिगत घोचपेचमा उत्रिएका छन्
राजेन्द्र मानन्धर

दोलखा — संसदीय निर्वाचनमा जिल्लामा असफल हुँदै आएको नेपाली कांग्रेसले पटकपटक वामपन्थीलाई जिताएकैले जिल्ला विकासमा पछि परेको आरोप लगाउँदै यही विषयलाई चुनावी प्रचार बनाइरहेको छ । त्यसको प्रतिवादमा वाम गठबन्धनका उम्मेदवार बहुदलपछिको अधिकांश समय कांग्रेसले केन्द्रीय सरकार कब्जा गरेकै कारण आफूहरूले चाहेजति विकास गर्न नसकेको अर्थ्याइरहेका छन् ।

भोट तान्न आरोप–प्रत्यारोप

बहुदलपछिको पहिलो आमनिर्वाचनमा दुवै निर्वाचन क्षेत्र भारी मतले एमालेको पोल्टामा आएको थियो । २०४९ को स्थानीय निर्वाचनको परिणाम भने कांग्रेसतिर फर्कियो । स्थानीय निर्वाचन जितेर जिविस बनाएको कांग्रेसले दोलखाको विकासको ढोका त्यसैबेलादेखि खुलेको दाबी गर्दै आसन्न निर्वाचनमा त्यसको जस लिन खोजिरहेको छ । कांग्रेसले प्रतिनिधिसभामा अघि सारेका रुद्रबहादुर खड्का त्यसबेला जिविस सभापति थिए । त्यसताका पुल र सडकमार्ग खुलाउने सुरुआत गरेकै कारण अहिले जिल्ला सडक सञ्जालले भरिएको उनको दाबी छ ।

एमालेले भने केन्द्रीय सत्ता र जिविस जितेको अवधि (२०४९–२०५४) मा कांग्रेसले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाएको छ । बरु २०५४ मा एमालेले स्थानीय निर्वाचन जितेपछि जिल्लाले दीर्घकालीन र संस्थागत विकासको बाटो समातेको उसको दाबी छ । गुरुयोजनासमेत बनाउन नसकेर पाँच वर्ष बिताएको कांग्रेसको स्थानीय सरकार भ्रष्टाचार र व्यक्तिवादी विचरणमा सकिएको एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।

‘जलस्रोत, पर्यटन, कृषि, बाली र यातायातले समुन्नत दोलखाली’भन्ने नारा तय गरेर गुरुयोजना बनाएको परिणाम अहिले जिल्लामा तीन सयभन्दा बढी सडक र जलविद्युत् आयोजनाको बाढी लागेको वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार एमालेका पार्वत गुरुङ बताउँछन् । ‘मैले २०७० सालमा जितेपछि गाउँमै उद्यम, व्यवसायको माध्यमबाट रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा गएका युवा फर्काउने अभियान चलाइएको हो,’ उनले भने ।

कांग्रेसको जिविस र केन्द्रीय सरकार हुँदा पहिलो निजी लगानीको खिम्ती जलविद्युत् आयोजना आएकाले दोलखामा जलविद्युत् विकासको ढोका खुलेको कांग्रेसबाट प्रदेशसभा ‘क’ का उम्मेदवार बर्मा लामाले बताए । ‘एमालेले जिताएर पठाएका सांसद न स्थिर हुन सके न त विकासको नेतृत्व गर्न सके,’ उनले भने । २०६४ सालमा माओवादीले दुवै सिट जितेको स्मरण गर्दै वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ का उम्मेदवार विशाल खडकाले उक्त समयमा सडकका ठूल्ठूला केन्द्रीय योजना ल्याउन सकेको दाबी गरे ।

एमाले सांसदहरूको प्रयत्नमा जिल्लामा यातायात र विद्युत् विकास भएको, जीवनस्तर उकासिँदै गएको तथ्यांक रहेको प्रदेश ‘ख’ का उम्मेदवार पशुपति चौलागाईं बताउँछन् । चौंलागाईंले टिकट ल्याएपछि पार्टी छाडेर नेकपा मालेबाट प्रदेश ‘ख’ मा उम्मेदवारी दिएका लालकुमार केसी पनि एमाले जिविसले बनाएको विकास खाकाको हकदार आफू भएको दाबी गर्दै मत मागिरहेका छन् । उक्त समयमा उनी एमालेबाट जिविस सभापति थिए ।

बहुदलयता २०५१ मा एक क्षेत्र कांग्रेसले जितेबाहेक जिल्लामा अरू सबै चुनावमा वामपन्थी शक्तिले बाजी मार्दै आएको छ । चुनाव जितेर मन्त्रीसमेत पाए पनि दोलखा कांग्रेसले कुनै उपलब्धि दिलाउन नसकेको भन्दै विपक्षीहरू चुनावी मसला बनाइरहेका छन् । कांग्रेसले भने उक्त अवधिमा मन्त्री भएका निष्ठावान् नेता भीमबहादुर तामाङको एकल लगावले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्न सकेको भन्दै मत तान्ने प्रयास गरिरहेको छ । यद्यपि एमाले सांसदहरू पशुपति चौलागाईं र आनन्दप्रसाद पोखरेल उक्त योजनामा आफूहरूको प्रयत्न निकै महत्त्वपूर्ण रहेको दाबी गरिरहेका छन् ।

करिब डेढ लाख मतदाताको मत तान्न उम्मेदवारहरू आचारसंहिता नै मिचेर एक–अर्कालाई घोचपेचपूर्ण भाषण गर्दै हिँडेका छन् । व्यक्तिगत घोचपेचमा प्रदेश ‘क’ उम्मेदवार कांग्रेसका लामा र माओवादीका खडका अघि देखिन्छन् । उनीहरू प्रत्येक भाषणमा एक–अर्काप्रति व्यक्तिगत कटाक्ष गरिररहेका हुन्छन् ।

उम्मेदवारहरूले प्रतिस्पर्धीलाई पाखा लगाउन चर्काइरहेका यस्ता भाषणले मतदातालाई भने छोएको देखिँदैन । उनीहरू विकास र जीवनस्तर सुधार्न सक्ने दल र उम्मेदवारको पक्षमा छन् । ‘बहुदलपछिका हरेक निर्वाचनमा नेताहरू पुरानै कुरा दोहोर्‍याउँछन्, गर्नचाहिँ सिन्को पनि भाँच्दैनन्,’ चरिकोटको सातदोबाटो चोकमा भेटिएका जिलुनिवासी तारानाथ चौलागाईंले भने ।

प्रकाशित : कार्तिक २८, २०७४ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?