कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा प्रतिष्ठाको ‘लडाइँ’

कञ्चनपुर — प्रदेश ७ को तराईस्थित सबभन्दा पश्चिमी जिल्ला कञ्चनपुरमा आगामी मंंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।

कञ्चनपुरमा प्रतिष्ठाको ‘लडाइँ’

प्रदेश ७ को तराईस्थित सबभन्दा पश्चिमी जिल्ला कञ्चनपुरमा आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसबाट पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य एनपी सावद र रमेश लेखक ‘हेभिवेट’ उम्मेदवार छन् । सावद क्षेत्र २ र लेखक ३ मा उम्मेदवार छन् । क्षेत्र १ मा गठबन्धनतर्फ माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर उम्मेदवार छिन् । दाहालकी बुहारी भएकाले सीमा क्षेत्रको पुनर्वास बस्तीकी मगरलाई समेत यहाँ ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ । पछिल्लो संविधानसभामा कांग्रेसले कञ्चनपुरका चारवटै सिट जितेको थियो । यस पटक जिल्लामा प्रतिनिधिसभातर्फ तीन सिटमात्र छन् ।
सावद र लेखकलाई एमाले र माओवादी गठबन्धन चुनौतीका रूपमा देखा परेको छ । गठबन्धनका उम्मेदवारलाई भने कसिलो गठबन्धन हुन नसक्नु र थारू मत चिढिनु चुनौती बनेका छन् ।

गठबन्धनबाट एमाले उम्मेदवारहरू क्षेत्र २ का नरबहादुर धामी र ३ का दीपकप्रकाश भट्टले कांग्रेसका सावद र लेखकलाई कडा टक्कर दिइरहेका छन् । स्थानीय तहको चुनावमा दुवै क्षेत्रमा कांग्रेसको भन्दा गठबन्धनको मत धेरै छ ।

दोस्रो संविधानसभा चुनावमा लेखकले माओवादी र एमालेले ल्याएको कुल मतभन्दा बढी मत ल्याएका थिए । तर, पछिल्लो स्थानीय तह चुनावमा लेखकको क्षेत्र ३ मा गठबन्धनले कांग्रेसको भन्दा साढे चार सय मत बढी ल्याएको छ भने सावदको क्षेत्र २ मा १० हजार बढी मत बढी ल्याएको छ । यी दुई क्षेत्रमा राप्रपा र जनशक्तिले कांग्रेसलाई सघाएका छन् ।
संविधानसभा र स्थानीय तहमा सहयोगी दलले ल्याएको मतसमेत जोड्दा लेखकलाई चुनौती कम छ भने सावदलाई बढी चुनौती छ । कञ्चनपुर भेगीय आधारमा मत खस्ने जिल्ला मानिन्छ । लेखक र उनका प्रतिस्पर्धी भट्ट दुवै बैतडीका मूलवासी हुन् । कञ्चनपुर ३ मा डडेलधुरा र बैतडीबाट बसाइँ सरेका मतदाताको बाहुल्य छ । बैतडीबाट कञ्चनपुर झरेका बैतडीवासीको मत दुवैलाई बराबर जाने सम्भावना छ । तर डडेलधुराबाट झरेका मतदाताको मत भने लेखकलाई बढी जानेछ । डडेलधुरावासी नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्र भएकाले डडेलधुराबाट झरेका मतदाताको मत बढी लेखकलाई जाने देखिन्छ । लेखक एक पटक प्रतिनिधिसभा र दुई पटक संविधानसभा सदस्य रहिसकेका छन् । विकास निर्माणका कार्यक्रम धेरै ल्याउन सकेकामा एकथरी मतदाता उनीप्रति खुसी छन् भने अर्काथरी युवालाई रोजगारी दिन नसकेकामा असन्तुष्ट छन् । यसको फाइदा एमाले उम्मेदवार भट्टलाई हुनेछ । सेना समायोजन समिति मातहतको प्राविधिक समितिमा रहेर काम गरिसकेका भट्ट कञ्चनपुरका मतदाताबीच कम परिचित छन् । त्यसको फाइदा लेखकलाई हुनेछ ।
नेता लेखकले महाकाली नदी पारिको बस्ती दोधारा–चाँदनीलाई सडकमार्गबाट जोड्न महाकालीमा चार लेनको पुल निर्माण गर्न शिलान्याश गराएको र सडक तथा तटबन्धनका धेरै कार्यक्रम पारेकाले आफूले जित्ने दाबी गरे । एमालेका भट्टले भने लेखकमा चिप्ला कुरा मात्र गर्ने र जनताका काम केही नगर्ने प्रवृत्ति भएकाले आफूले जित्ने दाबी गरे ।

भट्टको उम्मेदवारीलाई लिएर एमालेभित्र असन्तुष्टिसमेत छ । पछिल्लो संविधानसभा सदस्यमा उम्मेदवार बनेका एमाले नेता उर्वादत्त पन्त भट्टको उम्मेदवारीप्रति असन्तुष्ट छन् । उनले एमाले कार्यकर्ता हिरासिंह विष्टलाई विद्रोही उम्मेदवारीसमेत दिन लगाएका थिए । मनोनयन फिर्ता लिने अवधि सकिएपछि विष्टले वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिए पनि पन्तसहित एमालेका जिल्लास्थित सिनियर नेताहरूको असन्तुष्टि यथावत् छ । एमालेले मतदानको दिनसम्म यो असन्तुष्टि मिलाउन नसके भट्टलाई चुनाव जित्न सकस पर्नेछ । एमालेले भने असन्तुष्टि मिलिसकेको दाबी गरेको छ ।

क्षेत्र २ मा वाम गठबन्धनको मत बढी भएकाले सावदको प्रतिष्ठा दाउमा छ । एमाले अध्यक्ष केपी ओलीले क्षेत्र २ मा सिनियर नेताहरू हुँदाहुँदै आफ्नो पक्षका अनेरास्ववियु पूर्वकेन्द्रीय कोषाध्यक्ष धामीलाई उम्मेदवार बनाएका कारण पार्टीभित्र असन्तुष्टि छ । कांग्रेसभित्र सिनियर नेता सावद आफैं उम्मेदवार भएकाले खासै असन्तुष्टि छैन, यसको फाइदा उनलाई हुनेछ । तर स्थानीय तहमा वाम गठबन्धनको १० हजार बढी मतलाई घटाएर उछिन्न सावदलाई त्यति सहज छैन ।

सावदको क्षेत्रमा २६.२ प्रतिशत मतदाता थारू छन् । उनको क्षेत्रबाट मात्र होइन जिल्लाबाटै एमाले र माओवादी गठबन्धनले एक जना पनि थारू नेतालाई उम्मेदवार बनाएका छैनन् । जिल्लामा माओवादीको आधारभूमि भनेकै थारू समुदाय हो । आफ्नो समुदायबाट कसैले पनि उम्मेदवारी नपाएकामा थारूहरू गठबन्धनसँग असन्तुष्ट छन् । कांग्रेसले भने प्रदेशसभाको समानुपातिकतर्फ गीता चौधरी र श्यामलाल राना र प्रदेशसभामा रामलाल रानालाई उम्मेदवार उठाएको छ । यही कारण थारू मत बढी आउने र आफूले जित्ने विश्वास कांग्रेस उम्मेदवार सावदको छ ।

क्षेत्र २ मा पनि डडेलधुराबाट झरेका मतदाताको संख्या ठूलै छ । सावद डडेलधुरा र एमालेका धामी बैतडीबाट कञ्चनपुर झरेका हुन् । यहाँ भेगीय हिसाबले मत भएकाले त्यसको फाइदा सावदलाई हुने आकलन छ । डडेलधुराबाट झरेका धेरै मतदाताको मत सावदलाई जाने र त्यो नै निर्णायक हुने दाबी कांग्रेसको छ ।

एमाले उम्मेदवार धामी भने जनताले राजनीतिक स्थिरता र तीव्र विकास खोजेकाले वाम गठबन्धन पहिलो रोजाइ भएकाले आफूले जित्ने दाबी गर्छन् ।

क्षेत्र १ मा वाम गठबन्धनकी उम्मेदवार बिना मगर चर्चामा छिन् । उनको चर्चा माओवादी अध्यक्ष दाहालको परिवारकी सदस्य भएकाले मात्र होइन, चुनावी प्रचारको तडकभडकका कारण पनि छ । जिल्लाका तीन क्षेत्रमध्ये सबभन्दा बढी प्रचार सामग्री क्षेत्र १ मै छन्, त्यो पनि धेरैजसो माओवादीकै । माओवादीका जिल्लास्तरका धेरैजसो नेता प्रचारका लागि मगरकै क्षेत्रमा केन्द्रित छन् । २ र ३ क्षेत्रका एमाले उम्मेदवारले माओवादीसित गठबन्धन भए पनि प्रचारमा जाँदा एक्लो परेको महसुस गरिरहेका छन् । एमालेका क्षेत्र २ का उम्मेदवार धामीले औपचारिक रूपमा भने आफूहरूले माओवादीको पूर्ण सहयोग पाइरहेको दाबी गरे ।

क्षेत्र १ मा अधिकांश मतदाता आदिवासी जनजाति, थारू, बाहुन, क्षत्री र दलित छन् । यहा जनजातिमा मगरको पकड राम्रो छ । थारू समुदायमा कांग्रेसको भन्दा एमाले र माओवादीको पकड राम्रो भए पनि कसैले उम्मेदवारी नपाएका कारण थारू मतदाता असन्तुष्ट छन् । यो क्षेत्रमा झन्डै ५० प्रतिशत थारू मतदाता छन् । बाँकी समुदायबाट सांगठनिक आधारमा मत जाने गर्छ । पछिल्लो संविधानसभामा यो क्षेत्रबाट कांग्रेसका दिवानसिंह विष्टले मगरलाई पराजित गरेका थिए । विष्ट यस पटक पनि उम्मेदवार छन् । यो क्षेत्रमा दोस्रो संविधानसभा र पछिल्लो स्थानीय तहमा गठबन्धनले ल्याएको मत कांग्रेसको भन्दा १२ हजारले बढी छ । सर्सती हेर्दा गठबन्धन बलियो देखिए पनि अघिल्लो संविधानसभामा माओवादीले भन्दा बढी मत ल्याएका एमाले नेता लालबहादुर विक टिकट नपाएका कारण असन्तुष्ट छन् । उनीसहितको असन्तुष्टिले मगरको प्रतिष्ठा दाउमा छ । उनले जित्न ठूलै मिहिनेत गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?