कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पश्चिम सुर्खेतमा विष्ट 'भर्सेस' विष्ट

राज्यमन्त्रीलाई टक्कर दिँदै ‘जेल ब्रेक’ का कमाण्डर
प्रकाश अधिकारी

सुर्खेत — वीरेन्द्रनगर उपत्यकादेखि पश्चिम सुर्खेत क्षेत्र नं २ प्रदेश सभा (ख) मा अहिले धेरैको आँखा परेको छ । यसअघिको निर्वाचन क्षेत्र नं ३ मा पर्ने यो इलाकामा आगामी मंसिर २१ गते हुने निर्वाचनमा बहालवाला राज्यमन्त्री र एक समयका चर्चित माओवादी विद्यार्थी नेताबीच प्रतिष्पर्धा हुँदैछ । सूचना तथा सञ्चार राज्यमन्त्री एवं निर्वतमान सांसद तप्तबहादुर विष्टलाई वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विन्दमान विष्टले चुनौती दिँदैछन् ।

पश्चिम सुर्खेतमा विष्ट 'भर्सेस' विष्ट

 

मतदातासंग घरदैलो भेटघाट गर्ने क्रममा साबिकको तातापानी गाविस पुगेका राज्यमन्त्री विष्टले वाम गठबन्धनले आफूलाई केही असर नपर्ने दाबी गरे । ‘एमाले र माओवादीकै कार्यकर्ताबाट मलाई राम्रै भोट आउँछ । माथि केन्द्रमा नेता मिल्दैमा केही फरक पर्दैन्,’ उनले भने, ‘प्रतिष्पर्धीको तुलनामा म ‘हेभिवेट’ उम्मेदवार हँु । सजिलै जित्छु ।’ 

 

उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा मत मागिरहेका छन् । दुई दशक जिल्ला पार्टी सभापति भएका विष्ट पश्चिम सुर्खेतमा पार्टीभित्र बलियो सांगठनिक पकड भएका नेता मानिन्छन् । उनी ०४९–५४ मा जिविसको उपसभापति र, ०७० सालको संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए ।

 

राज्यमन्त्री विष्टसंग प्रतिष्पर्धामा उत्रेका वाम गठबन्धनका उम्मेदवार विन्दमान विष्ट जनयुद्धताका ३० जना कैदी/बन्दीसहित जेलब्रेक गरेका थिए । ०५८ साल माघ २ गतेको यही घटनाले विद्यार्थी संगठनमाझ ‘हाइट’ बढायो । अखिल (क्रान्तिकारी) तत्कालिन जिल्ला अध्यक्ष उनलाई ०५७ साल भदौमा पक्राउ गरी सुर्खेत कारागार चलान गरिएको थियो । अखिल (क्रान्तिकारी) का पूर्व महासचिव रहेका विन्दमानले ०५५ सालबाट पार्टी राजनीति सुरुवात गरेका हुन् । उनले पश्चिम सुर्खेत विकासमा निकै पछाडि परेकाले जनताले नयाँ नेतृत्व खोजेको बताए । 

 

‘पश्चिम सुर्खेत विकासमा धेरै पछाडि पर्‍यो । कर्णालीजस्तै विकट छ । जनताले फेरी पनि तिनै नेतालाई जिताउँदैनन्,’ उनले भने, ‘मसंग विकासको खाका छ । युवाको उत्साह छ । परिवर्तनप्रति जनताको साथ छ ।’

 

विन्दमान वाम गठबन्धनको बल र, तप्तबहादुर आफूले गरेका विकास निर्माणको प्रभावले जित्ने दाउमा छन् । कांग्रेस उम्मेदवार विष्टले भेरी र कर्णाली नदीमा ८ वटा पक्की पुल र २३ वटा झोलुंगे पुल निर्माणको पहल आफैले गरेको बताए । भेरी–कर्णालीको दोभानलाई भारतको काशीजस्तै धार्मिक पयर्टनको गन्तव्य बनाउने योजना सुनाए । अन्तर जिल्ला जोड्ने सडक निर्माण, सुर्खेतमा फ्रि वाइफाई, प्रत्येक स्कूलमा २ वटा कम्प्युटर र सोलार वितरण गर्ने लगायतका उनका एजेण्डा हुन् । आफू सांसद निर्वाचित भएपछि पश्चिम सुर्खेतमा विकासको लहर फैलाएको कांग्रेस उम्मेदवार विष्टको भनाई छ ।

 

त्यस्तै, वाम गठबन्धनका उम्मेदवार विष्टले पनि अन्तर जिल्ला जोड्ने सडकलाई नै आफ्नो मुख्य एजेण्डा बनाएका छन् । ‘पश्चिम सुर्खेत अछाम, कैलाली, बर्दिया, डोटी, दैलेखसंग जोडिएको छ । तर, ती जिल्लाबाट सिधै आउजाउ गर्न सकिदैन । भेरी–कर्णाली यही क्षेत्र भएर बग्छन् । जलस्रोतको समुचित प्रयोग हुन सकेको छैन् यी नै मेरा प्राथमिकता हुन्,’ गुटुमा रहेका विन्दमानले भने, ‘पश्चिम सुर्खेतलाई सम्वृद्ध बनाउने भिजन मसंग छ । एउटा कुनै योजनालाई देखाएर वर्षौसम्म भोट माग्दिनँ ।’ 

 

४७ हजार मतदाता रहेको यस प्रदेश क्षेत्रमा चौकुने, वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका छन् । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चौकुनेबाहेक अन्य दुई तह कांग्रेसले जितेको थियो ।

प्रकाशित : कार्तिक २९, २०७४ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?