कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सारथि’ को भूमिकामा कांग्रेस–एमाले

ठाकुरसिंह थारू

नेपालगन्ज — बाँके क्षेत्र २ मा रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसको इतिहास र प्रतिष्ठासँग जोडिएको उक्त क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले राप्रपाका ओमप्रकाश आजादलाई र वाम गठबन्धनले स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रालाई सघाएपछि यो क्षेत्रतर्फ सबैको ध्यान गएको हो ।

‘सारथि’ को भूमिकामा कांग्रेस–एमाले

यसअघिका चुनावमा यो क्षेत्रबाट कांग्रेस सभापति स्व. सुशील कोइराला चुनाव लड्दै आएका थिए ।

तीन प्रतिनिधिसभा क्षेत्र रहेको बाँकेमा राप्रपाले कांग्रेसलाई प्रतिनिधिसभा क्षेत्र १ र ३ तथा ६ वटै प्रदेशसभामा सहयोग गर्ने भएको छ । वाम गठबन्धनले माओवादी केन्द्रलाई प्रतिनिधिसभा क्षेत्र १ र तीन वटा प्रदेशसभा क्षेत्र (क) मा सघाएको छ । अन्य क्षेत्रमा एमालेले माओवादी केन्द्रको साथ पाएको छ । स्थानीय तहको निर्वाचनमा पाएको मतपरिणामलाई आधार मान्ने हो भने बाँके प्रतिनिभिसभा क्षेत्र २ मा लोकतान्त्रिक र क्षेत्र १ र ३ मा वाम गठबन्धन बलियो देखिन्छन् । क्षेत्र २ मा दुई गठबन्धनसँगै संघीय समाजवादी फोरम पनि स्पर्धामा छ । प्रमुख दलका गठबन्धनले भने आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनमा प्रमुखहरूले पाएको मतपरिणाममा भने निकै ठूलो अन्तर देखिन्छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतपरिणाम फरक पर्न सक्ने अनुमान गरिएको छ । 

गठबन्धनका असन्तुष्ट कार्यकर्ताका कारण मत फेरबदल हुन सक्ने आकलनसमेत गरिएको छ । ‘वाम गठबन्धन भएपछि सबै लोकतन्त्रवादी एकजुट भएकाले सबै क्षेत्रमा हाम्रो जित निश्चित छ । विगतमा असन्तुष्ट रहेका कार्यकर्ता पनि एकमत भएर लाग्नुभएको छ,’ कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले भनिन्, ‘सबैजना उत्साहित भएर प्रचारमा जुटेका छन् ।’ प्रतिनिधिसभा क्षेत्र १ अन्तर्गत पर्ने कोहलपुर नगरपालिका, नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका प्रमुखले प्राप्त गरेको मत जोड्ने हो भने वाम गठबन्धनको २१ हजार २ सय ४२ मत छ । लोकतान्त्रिक गठबन्धनको १७ हजार २ सय ४२ मत छ । नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरमले बहुमतसहित जित हासिल गरेको थियो । 

एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले वाम गठबन्धन भएपछि सबै क्षेत्रमा बलियो भएको दाबी गरे । ‘हामी सबै क्षेत्र जित्दै छौं । किनभने हाम्रो मत त्यसै बढी छ,’ उनले भने, कमजोरी देखिएका क्षेत्रमा बढी मिहिनेत गरिरहेका छौँ ।’ प्रतिनिधिसभा क्षेत्र २ अन्तर्गत पर्ने नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपा र डुडवा गाउँपालिका प्रमुखमा कांग्रेसले जितेका थिए । त्यसलाई आधार मान्ने हो भने वाम गठबन्धनका प्रमुखहरूले १६ हजार ५ सय ५६ मत पाएका थिए । तर लोकतान्त्रिक गठबन्धनमा आबद्व उम्मेदवारहरूको २६ हजार ९ सय मत छ । 

प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत पर्ने खजुरा, जानकी र बैजनाथ गाउँपालिकामा एमालेले जितेको थियो । त्यसलाई आधार मान्ने हो भने उक्त क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको मत १७ हजार १ सय ८९ र वाम गठबन्धनको मत १७ हजार १ सय ८९ छ ।

प्रकाशित : मंसिर ४, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?