कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाम मतदाता तान्न कांग्रेस तल्लीन

काशीराम डाँगी

रोल्पा — कांग्रेसका पूर्वसांसद सुरेन्द्र हमाललाई पार्टीको चुनावी गतिविधिमा वृद्धि गराउने रणनीति बनाउनमै भ्याइनभ्याइ छ । कसलाई कहाँ र कसरी खटाउने भन्नेमै उनी लागिपरेका छन् । महिना दिनदेखि यसै काममा लाग्दै आएको उनले बताए ।

वाम मतदाता तान्न कांग्रेस तल्लीन



चुनावी अभियान लिएर नियमित गाउँ घुमघाम र कार्यकर्ता भेटघाटमा व्यस्त रहँदै आएका उनी केन्द्रीय तहको नेतृत्वसमेत समन्वय गर्छन् । मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनका लागि आफ्नै पार्टीका उम्मेदवारलाई जिताउन उनी उत्साहित भएरै अभियानमा जुटेका छन् ।

रोल्पामा कांग्रेसका संस्थापक सभापति हमाल विगतमा दुईपटक सांसद बनिसकेका हुन् । ०५१ र ०५६ मा भएका संंसदीय निर्वाचनमा उनी रोल्पाबाट निर्वाचित भएका थिए । पटक/पटक सहायक मन्त्री र राज्यमन्त्री भइसकेका उनी निकै पछि पार्टी सभापति जिताउन निर्वाचनमा खटिएका छन् । प्रतिनिधिसभाका लागि रोल्पाबाट पार्टी सभापति अमरसिंह पुनलाई उम्मेदवार बनाएपछि बिनाहिच्किचाहट हमाल प्रचार अभियानमा जुटेका हुन् । ‘यसपटक कांग्रेसको पालो हो भन्ने नारा लिएर हामी मतदातामाझ पुगेका छौं । र, सफलता मिल्ने आशामा पनि छौं,’ हमालले भने ।

वाम तालमेलपछि रोल्पामा गठबन्धनले तीव्र रूपमा चुनावी गतिविधि बढाएपछि पूर्वसांसद हमालसहितको जिल्ला नेतृत्व चुनावी अभियानमा छ । प्राय: सबै गाउँपालिकास्तरीय सभामा पुगेका हमालले भने, ‘०४८ मा जस्तै सबै वाम एक ठाम भन्ने नारा एमाले र माओवादी एकातिर भए पनि हामी हाम्रो जित सुनिश्चित गर्न कस्सिएर लागेका छौं ।’ उनले पार्टीले यसपटकको निर्वाचनमा ‘अहिले कांग्रेसको पालो’ भन्ने नारा अघि सारेको र त्यसैका लागि कार्यकर्ता परिचालन गरिएको बताए । कांग्रेसले लोकतन्त्रलाई जोगाउन वाम गठबन्धनलाई पछि पार्दै आफ्नो जित गराउनसमेत मतदातालाई आग्रह गरेको छ ।

वाम तालमेलपछि माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनलाई साझा उम्मेदवार बनाइएको छ । कांग्रेसले उनीसँग प्रतिस्पर्धामा जिल्ला सभापति एवं सिंचाइ राज्यमन्त्री अमरसिंह पुनलाई अघि सारेको हो । हमालका अनुसार १० वर्षे सशस्त्र द्वन्द्वमा हतियारसहित ‘युद्ध’ मा होमिएको माओवादीलाई कांग्रेसले नै शान्ति प्रक्रियामार्फत निशस्त्र बनाएकाले द्वन्द्वको घाउ पुर्न पनि अब नेतृत्व लिने निष्कर्षसाथ आफूहरू चुनावमा खटेको बताए ।

द्वन्द्वका बेला प्राय: राजधानीमै बसेका हमाल शान्ति प्रक्रियापछि भने रोल्पामा आए । ‘म आफ्नो जिल्लामै बस्न चाहन्छु,’ हमालले भने, ‘यो मेरो जन्मभूमि मात्र होइन, मलाई माया गर्ने कार्यकर्ता र जनता बस्ने ठाउँ हो ।’ उनीसँगै चुनावी अभियान सफल पार्न कांग्रेस सभापति तथा प्रतिनिधिसभा उम्मेदवार पुनलाई पूर्वसांसद लेखनाथ आचार्य, पूर्वसहायक मन्त्री भीमकुमारी पुन, पार्टी पूर्वसभापतिहरू कृष्णबहादुर घर्तीमगर र माधव आचार्यले समेत साथ दिएका छन् ।

कांग्रेस उम्मेदवार पुन रोल्पाको दुर्गम गाउँ राँक निवासी हुन् । ‘म २५ वर्षसम्म निर्माण व्यवसायमा लागेँँ । अहिले भने त्यो छोडेर पूर्णकालीन राजनीतिमा आएको छु,’ सिंचाइ राज्यमन्त्री पुनले भने, ‘कांग्रेस नेतृत्वले जिते रोल्पालगायत हजारौं द्वन्द्वपीडितलाई न्यायको अनुभूति दिलाउनु छ । म त्यही काम गर्छु ।’

उनीसँग माओवादी पूर्वलडाकुका कमान्डर तथा पूर्वअर्थमन्त्री वर्षमान चुनावी मैदानमा छन् । वर्षमान वाम गठबन्धनका साझा उम्मेदवार हुन् । उनीसँग प्रतिस्पर्धी चुनाव बनाउन कांग्रेस अगुवाले साथ दिएपछि रौनकतामा थप रोचकता देखिने निश्चित छ । कांग्रेसले प्रदेशसभामा जिल्लाका नेताहरू शेरबहादुर महरा र खगेन्द्र हमाललाई उम्मेदवार बनाएको छ ।

मतदाता फुटाउने रणनीति
माओवादीपछि रोल्पामा दोस्रो ठूलो शक्ति मानिएको कांग्रेसले चुनावमा जित हासिल गर्न वाम मतदातालाई आकर्षित गर्ने भिन्नै रणनीति अपनाएको छ । ‘माथिबाट वाम गठबन्धन भएको एकोहोरो निर्देशन दिए पनि स्थानीय तहमा मतदाता एकढिक्का भएका छैनन् । वाम गबठन्धनप्रति असन्तुष्टले हामीलाई नै मत दिनेछन् ।’ प्रदेशसभाका लागि रोल्पाबाट समानुपातिक उम्मेदवार नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य भन्छन्, ‘वाम मतदाता रुष्ट देखियो, तिनको मत हामीलाई आउनेमा आशावादी छौं ।’

हमालले पनि एमाले र माओवादी कार्यकर्ताबीच ‘मनमुटाव’ रहेको दाबी गरे । ‘हिजो युद्धका बेला कुटाइ खाएका एमाले कार्यकर्ताले कसरी भोट देलान् ? त्यसैले हामीलाई नै मत आउने देखिएको छ,’ हमालले भने । उनका अनुसार वाम तालमेल गरी रोल्पामा उम्मेदार छान्दा एमालेलाई पूर्ण रूपमा ‘बाइपास’ गरिएकाले उनीहरूलाई कांग्रेसतर्फ आकर्षित गर्न सजिलो भएको छ । उनले भने, ‘जिल्लामै तेस्रो ठूलो शक्ति एमालेलाई प्रतिनिधि र प्रदेशसभामै उम्मेदवार नदिएकाले एमालेको ठूलो तप्का असन्तुष्ट छ ।’

धनराज रोल्पा आए
मगरको बाक्लो बसोबास रहेको रोल्पामा कांग्रेसले विपक्षी मतदातालाई तान्न अर्को उपायसमेत अपनाएको छ । कांग्रेसले पूर्वसांसद तथा केन्द्रीय सदस्य धनराज गुरुङलाई गाउँगाउँ पुर्‍याएर वक्तामा रूपमा उभ्यायो । जातीय राज्यको विपक्षमा धारणा राख्दै आएका गुरुङलाई रोल्पामा बोलाएर कांग्रेसले एमाले र माओवादीका कतिपय मतदातालाई प्रभावित पार्न खोजेको स्पष्ट छ ।

प्रकाशित : मंसिर ७, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?