कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान केन्द्रमा सर्वदलीय बैठक बस्दै

मनोज बडु

दार्चुला — पहिलो चरणमा हुने निर्वाचनलाई शान्तिपूर्ण र भयरहित सम्पन्न गर्न यहाँका सबै मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृत दलहरूसित छलफलमा व्यस्त छन् ।

मतदान केन्द्रमा सर्वदलीय बैठक बस्दै

शुक्रबार दिउँसोसम्म सम्बन्धित मतदान केन्द्रमा भाग लिने दलका प्रतिनिधिहरूसित स्वच्छ, शान्तिपूर्ण तवरमा निर्वाचन गराउन छलफल भइरहेको महेन्द नमुना मावि केन्द्रका अधिकृत विष्णुराज जोशीले बताए ।

मतदान केन्द्र पुगिसकेकाले बिहीबार नै मतदान केन्द्रको चारकिल्ला छुट्याई निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था बुझ्ने र सुरक्षा अवस्थाबारे सुरक्षा निकायसँग समन्वय गरेको उनले जानकारी दिए ।

मतदान अधिकृतहरू शुक्रबार बिहानैबाट केन्द्रका बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । सबै मतदान अधिकृतले बिहीबार मतदान केन्द्रका चार किल्ला तोकेको र शुक्रबार बिहानैबाट सर्वदलीय बैठक बोलाएर निर्वाचनबारे जानकारी गराइसकेका छन् ।

जिल्लाका १ सय १० मतदानस्थल र १ सय २९ केन्द्रमा बिहीबार नै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै मतदान अधिकृतले शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गरिरहेका छन् । सबै केन्द्रमा सुरक्षा व्यवस्थापन, कर्मचारी खटपटन र जिम्मेवारी तोक्ने काम भइरहेको छ । 
सुरक्षा व्यवस्था कडा
निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न जिल्लाभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै मतदान केन्द्रमा चारवटै सुरक्षा निकाय परिचालन गरिएको छ ।

नेपाल प्रहरीसँगै म्यादी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको जिल्ला सुरक्षा समन्वय समितिले जनायो । सुरक्षा समितिका अनुसार स्थानीय तह निर्वाचन, पछिल्ला विकसित घटनाक्रम र सुरक्षा योजना तयार पारी तथा केन्द्रीय योजनाअनुसार विकसित घटना क्रमलाई आधार मानेर १ सय २९ मतदान केन्द्रमध्ये १९ अतिसंवेदनशील, २५ संवेदनशील र ८५ केन्द्रलाई सामान्य किसिममा राखेर सुरक्षा अवस्था व्यवस्थापन गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकरी जनार्दन गौतमले जानकारी दिए ।

समितिका अनुसार चारै सुरक्षा निकायका दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ गौतमले बताए । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै समितिले प्रत्येक केन्द्रमा नेपाल प्रहरी र म्याद परिचालन गरिएको छ । साथै जिल्लाका ९ वटै स्थानीय तहमा नेपाली सेनाको अस्थायी क्याम्प राखी परिचालन गरिएको र सशस्त्र प्रहरीले पनि पस्ती, धुलीगडा र लटिनाथमा अस्थायी वेश क्याम्प राखेर सबै मतदान केन्द्रमा गस्ती गरिरहेको संयोजक गौतमले जानकारी दिए ।

त्यस्तै सुरक्ष संवेदनशीलतालाई हेरेर भारत सीमा जोडिएका ५ वटा नाका बिहीबार बेलुकी ७ बजेदेखि ७२ घण्टाका लागि सिल गरिएका छन् । भारतीय सीमा जौलजिवी, दत्तु, खलंगाको पुलघाट, तिग्रम र ब्यासको सीतापुल नाकालाई सिल गरिएको प्रजिअ गौतमले बताए । योसँगै सीमा क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाएको उनको भनाइ छ । 

 

प्रकाशित : मंसिर ९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?