कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतका लागि नेपालको पूर्व राजदूत अन्तिम कसरत गर्दै

कपिलवस्तु — भारतका लागि नेपालको राजदूतबाट राजीनामा दिएर चुनाव लड्न कपिलवस्तु आएका कांग्रेस नेता दीपकुमार उपाध्याय बिहीबार जिल्लाको मुजहनीमा दौडधुपमा भेटिए । लुम्बिनी सडकका बिजुलीका पोलमा लहरै टाँसिएका उनका पोस्टरमा अवधिमा नारा लेखिएका छन्, ‘दीपकबाबुको विजयी काराया जाय ।’

भारतका लागि नेपालको पूर्व राजदूत अन्तिम कसरत गर्दै

‘दीपकबाबु’ आफ्ना क्षेत्र १ का अवधीभाषी मतदातासँग त्यही भाषामा कुरा गर्न सक्छन् । ट्रयाकसुटमा भोट माग्न निस्केका उनी बिहीबार बिहानै पकडी नजिकैका एक बिरामी भेट्न पुगे । हालचाल सोधेपछि उनले अवधीमै भने, ‘भैरहवा लगेर सरकारी अस्पतालमा देखाउनु, नि:शुल्क उपचार हुन्छ ।’ 
यही गाउँको आँपको बगैंचामा उनले कोणसभा पनि गरे । उपाध्याय आठौंपटक चुनावी मैदानमा छन् । यसअघि पञ्चायतकालका दुई चुनाव लडेका उनले बहुदलपछि कांग्रेसको उम्मेदवारका रूपमा तीनपटक जिते । २०७० को संविधानसभा निर्वाचनमा एमालेका बलराम अधिकारीसँग पराजित उपाध्यायलाई सुशील कोइरालाले भारतका लागि राजदूत बनाए । एमाले सरकारले फिर्ता बोलाएका उपाध्यायलाई 
फेरि देउवा सरकारले त्यही पदमा पठाएको थियो । 
२०७० मा आफूसँगै पराजित भएका माओवादी उम्मेदवार चक्रपाणि खनाल ‘बलदेव’ सँग यसपालि पनि उपाध्यायको प्रतिस्पर्धा छ । माओवादी सेनाका डेपुटी कमान्डर खनाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला उनका राजनीतिक सल्लाहकार थिए । बिहीबार बिहान खनाल पनि पकडीमै चुनावी प्रचारमा थिए । नजिकैको गाउँमा केही युवालाई अबिर लगाएर पार्टी प्रवेश गराएर फर्किएका उनका साथमा बलराम अधिकारी पनि थिए । अघिल्लोपटक आपसमा भिडेका अधिकारी र खनाल वाम गठबन्धनका कारण अहिले एउटा पक्षमा छन् भने राजदूत बनेर फर्किएका उपाध्याय यो गठबन्धनसँग भिडिरहेका छन् । यो भिडन्तको तेस्रो कोणमा पूर्वमन्त्री दानबहादुर चौधरी पनि छन् तर उनका भुजाको लम्बाइ भने अलि कम देखिन्छ । चौधरी नयाँ शक्तिका उम्मेदवार हुन् । 
उपाध्याय संविधान कार्यान्वयन गरेर दिगो शान्ति स्थापनाका लागि आफ्नो जित आवश्यक रहेको बताउँछन् भने वाम गठबन्धनलाई अनावश्यक र हतारोको गठबन्धनका रूपमा चित्रण गर्छन् । ‘म त भारततिरै थिएँ, यहाँ त यस्तो धु्रवीकरण गराउने खेल भएछ । तर, राजदूतको मर्यादामा बसेकाले बोल्न पाइरहेको थिइनँ । साह्रै उकुसमुकुस भएपछि राजदूत छोडेर आएको हुँ,’ उनले भने । उनले यस्ता धुव्रीकरणले पार्टी सर्वोच्चता कायम गराउने र त्यसले नागरिक सर्वोच्चता खोस्ने आशंका खडा भएको पनि बताए । 
खनाल भने उपाध्यायलाई न हेभिवेट उम्मेदवार मान्छन् न आफ्नो मुख्य प्रतिस्पर्धी । ‘उहाँलाई हराउने बलरामजी हामीसँगै हुनुहुन्छ, उहाँ केको भेट्रान ? यो क्षेत्रमा त दानबहादुर चौधरी पनि हुनुहुन्छ । उहाँहरूको अवस्था उस्तै छ,’ खनालले भने । उपाध्याय निरन्तर सत्तामा रहेर पनि यस क्षेत्रको विकासमा खासै योगदान नगरेको भन्दै खनालले वाम सरकार बनेपछि विकास हुने पनि दाबी गरे । उनले यस क्षेत्रका दुई भाग भएको भन्दै एउटामा विकासको माग तीव्र भएको र अर्को क्षेत्रमा सरकारी अड्डा अदालतमा मुद्दामामिला गर्नेबाट संरक्षणको माग मुख्य रहेको बताए । ‘यो क्षेत्रमा आफ्नो विचारसँग सहमत नहुनेलाई अनेक मुद्दा लगाएर फसाउने चलन रहेछ, यसबाट जोगाइदिनुपर्‍यो भनेर धेरैले मलाई अनुरोध गर्नुभएको छ,’ खनालले भने । 
पश्चिम तराईका जिल्लामध्ये मानव विकास सूचकांकमा निकै तल रहेको कपिलवस्तुमा सिंचाइ, कृषि मल र सडक सञ्जालको मुख्य माग छ । संसारभरिका पर्यटक आकर्षित गर्ने बुद्धभूमि भएर पनि कपिलवस्तुले पर्यटनबाट फाइदा लिन नसकेको दुवै उम्मेदवारको बुझाइ छ । ‘लुम्बिनी र समृद्धिको कुरा राम्ररी उठ्न सकेको छैन । लुम्बिनीको गुरुयोजनाअनुसार यहाँका मानिसलाई फाइदा पुग्ने गरी कार्यक्रम अघि बढाउन पनि मैले पहल गरेको छु,’ उपाध्यायले भने । खनाल त गुरुयोजनाले कपिलवस्तु र यहाँका जनतालाई हेपेको बताउँछन् । ‘गुरुयोजनाले कपिलवस्तुका जनतालाई हेपेको छ, लुम्बिनी विकास समितिको मात्रै सम्पदा होइन,’ खनालले भने । 
दुवै उम्मेदवारको मुख्य चुनावी एजेन्डा विकासमै केन्द्रित छ । विकास नहुनुमा खनाल उपाध्यायलाई दोषी देखाउँछन् भने उपाध्याय कांग्रेस सरकारले थालेको विकासलाई माओवादी युद्धले रोकेको तर्क गर्छन् । ‘जबर्जस्ती थोपरिएको अनावश्यक युद्धका कारण धेरै काम अवरुद्ध भए, त्यसबेला धेरै अपराध पनि भए, हत्या हिंसालाई सामान्य बनाउने काम गरियो,’ उपाध्यायले भने । खनाल भने युद्धलाई समयको आवश्यकता भन्दै त्यसबेला आफ्नो पार्टी र सरकार पक्ष दुवैबाट केही गल्ती भएको स्विकार्छन् । ‘त्यसबेला केही ज्यादती भएका छन्, केही डरलाग्दा गल्ती भएका छन् । हामी त्यसका लागि अहिले पनि क्षमाप्रार्थी छौं,’ खनालले भने, ‘अब हामी त्यो घाउलाई पनि पुर्ने गरी काम गर्नेछौं ।’ 
यादव, कुर्मी र मुस्लिम बहुल यो क्षेत्रको राजमार्ग आसपास खनाल र हुलाकी राजमार्गको दक्षिणपट्टि उपाध्यायको पकड बलियो छ । यसैले यी दुवै अहिले एकअर्काका क्षेत्रमा बढी सक्रिय भइरहेका छन् । 

प्रकाशित : मंसिर १५, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?