कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुमका दुई मतदान केन्द्रमा पुन: मतदान सुरु

हरि गौतम

रुकुम (पश्चिम) — मंसिर १० गते मतदान स्थगित भएका जिल्लाका दुई मतदान केन्द्रमा पुन:मतदान सुरु भएको छ । बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा विहान ७ बजेटबाट मतदान सुरु भएको छ । १० गते आइतबार भएको मतदानको क्रममा मतदाताले नै मतपेटिकामा एसिड हालेपछि २ मतदान केन्द्रको मतदान कार्य स्थगित भएको थियो ।

रुकुमका दुई मतदान केन्द्रमा पुन: मतदान सुरु



बाँफिकोट गाउँपालिका–५, स्थित रत्न आधारभुत विद्यालय काँडाको क मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको लागि मतदान सुरु भएको छ भने आठविसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गतसैनाको ख मतदान केन्द्रमा प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकको लागि मतदान सुरु भएको छ । ७ बजेटबाटै मतदान सुरु भैसकेको रत्न आधारभुत विद्यालय काँडा क मतदान केन्द्र बाँफिकोट–५, का मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए ।

मतदानका क्रममा मतदाताले आफ्नो मत पत्र सहित मतपेटिकामा एसिड खसालिएको आशंका गरिएको छ । आशंकाकै आधारमा प्रहरीले २ जनालाई प्रक्राउ गरी अनुसन्धान गरिरहेको छ । बाँफिकोटमा २ सय ४६ र आठविसकोटमा ३ सय ३ मत खसिसकेपछि मपेटिकामा आगो देखिएको थियो । मतपेटिकामा आगो देखिएपछि लगत्तै पानीले निभाइएको थियो ।

१० गते हरेक मतदान स्थलमा राखिएका तीन मतपेटिकामध्य यी दुई मतदान केन्द्रका एउटा/एउटा मतपेटिका एसिड राखिएपछि अन्य २ मतपेटिकामा मात्रै मतदान गराइएको थियो । उक्त दिन बाँफिकोटमा प्रदेश सभा सदस्य र समानुपातिकतर्फको मात्रै मतदान भएको थियो भने आठविसकोटमा प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ मात्रै मतदान भएको थियो ।

मतदान स्थगित भएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई गराएपछि आयोगले आजका लागि पुन:मतदानको दिन तोकेको थियो । बाँफिकोटको मतदान केन्द्रमा ६ सय ७२ मतदाता छन् भने आठविसकोटमा ७ सय ५६ मतदाता रहेका छन् ।

आजको मतदान बहिस्कार गर्ने कांग्रेस आठविसकोट नगर समितिले निर्णय गरेपनि आजको मतदानमा कांग्रेसका प्रतिनिधि पनि सहभागि भएका छन् । गत १० गतेको मतदानको दिन मतदान केन्द्रमा खटिएका आफ्ना प्रतिनिधिलाई पक्राउ गरिएको विरोधमा कांग्रेसले आजको मतदान बहिस्कार गर्ने निर्णय गरेको थियो । मतदान बहिस्कार गर्ने निर्णय गरेको कांग्रेस आठविसकोट नगर समितिले हिजोको सर्वदलिय बैठक बहिस्कार गरेको थियो ।

नेपाली कांग्रेसको जिल्ला कार्य समितिको निर्णय अनुसार मतदानमा सहभागि भएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले बताए । उनले लोकतन्त्रको रक्षाका लागि मतदानमा सहभागि भएको प्रतिक्रिया दिएका छन् । गत १० गतेको मतदानको क्रममा मतपेटिकामा एसिड हालेको भन्दै प्रहरीले मतदान केन्द्रमै खटिएका कांग्रेस प्रतिनिधि केशब खड्कालाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ ।

प्रकाशित : मंसिर १५, २०७४ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?