कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेलको एक दिन - मतदाता भेट्न भ्याइनभ्याइ

प्रताप रानामगर

दमौली (तनहुँ) — प्रतिनिधिसभाका लागि तनहुँ–१ का उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यतिखेर दोहोरो धपेडीमा छन् । आफ्नो निर्वाचन क्षेत्रमा चुनावी सभा, भेला र घरदैलो तीव्र पारेका उनी लोकतान्त्रिक गठबन्धनका लागि देशव्यापी चुनावी माहोल बनाउन अन्य जिल्ला पनि भ्याइरहेकै छन् ।

पौडेलको एक दिन - मतदाता भेट्न भ्याइनभ्याइ

देश दौडाहाकै क्रममा देवघाटमा प्रचारप्रसारपछि बिहीबार साँझ दमौलीमा बास बसेका उनी शुक्रबार बिहानदेखि साँझसम्म घरदैलो, चुनावी भेटघाट र सभामा हतारहतार सहभागी भइरहे । निवासमा सधैंजसो बिहान ७ बजे कार्यकर्ता भेटघाटबाट उनको दिनचर्या सुरु हुन्छ । बिहानै कार्यकर्ता र संघसंस्थाका पदाधिकारीलाई समूह–समूहमा भेटेका उनी त्यसपछि ‘मर्निङवाक’ मा निस्किए । त्यही मेसोमा भेटिएका मतदातासँग मत माग्न पनि भ्याए । त्यसपछि उनी व्यास–२ स्थित पार्टीको चुनाव प्रचार कार्यालय पुगे । त्यहाँ संक्षिप्त सभा थियो । सभामा उनले विभिन्न पार्टीबाट कांग्रेसमा आएकालाई स्वागतसँगै सम्बोधन पनि गरे । त्यसपछि सुरु भयो, दमौली बजारमा घरदैलो । मतदातासँग उनले आफ्नो र प्रदेशसभा सदस्य उम्मेदवारका लागि भोट मागे । केही घण्टाको व्यस्ततापछि टोली निवास फर्कियो । 

खाना खाएपछि पौडेल चुनावी दौडाहामा बन्दीपुर क्षेत्र पुगे । डुम्रेमा नयाँ शक्तिका नेता, कार्यकर्ताको टोली उनको प्रतीक्षामा थियो । पौडेलको उपस्थितिपछि भेला सुरु भयो । भेलामा नयाँ शक्तिका जिल्ला संयोजक देवेन्द्र थापाले संघीय गणतन्त्र संस्थागत गर्न सक्ने नेतृत्व क्षमता पौडेलसँग भएको बताउँदै चुनावमा उनलाई सक्रियरूपमा सघाउने वाचा गरे । भेलाका केही सहभागीले बन्दीपुर गाउँपालिका विकासमा पछि परेकाले त्यसको अगुवाइ गर्न पौडेललाई आग्रह गरेका थिए । 

स्थानीय राजकुमार तामाङले सडक, विद्युतीकरण, खानेपानी व्यवस्था गर्न माग राखे । अर्का सहभागी बेरुङ तामाङले चुँदीरम्घादेखि खातीथोकसम्म सडक ट्रयाक खोलिदिन र खानेपानी योजना ल्याइदिन आग्रह गरे । नयाँ शक्तिका नेता–कार्यकर्ताको समर्थनपछि प्रसन्न देखिएका पौडेल कल्चोक हुँदै थुम्कीको चुनावी सभालाई सम्बोधन गर्न पुगे । त्यहाँ उनले समृद्ध तनहुँका लागि कृषि, पर्यटन र जलविद्युत् विकासका एजेन्डालाई मुख्य प्राथमिकता राखेको भन्न छुटाएनन् । पौडेलले गाउँका सडक कालोपत्रे, सुकुम्बासीलाई लालपुर्जा, गाउँमा खानेपानी, विद्युत् र स्वास्थ्यचौकी बनाइदिने प्रतिबद्धतासमेत जनाए । दिउँसो अढाई बजे उनी याम्पा फाँट हँुदै बन्दीपुर महिला विकास र हरिहर आमासमूहले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुन डुम्रे बजार पुगे । त्यहाँ उनले महिलाको हकअधिकार संविधानमा लेखिएको र त्यसलाई कार्यान्वयन गराउन महिला नै अग्रसर हुनेपर्ने भनाइ राखे । 

आमासमूहले उनको आगमनअघि नै भेला आयोजना गरी टोलका समस्या टिपोट गरेको थियो । गाउँको विकास गर्ने नेतालाई मत दिने निर्णय सुनाउँदै आमासमूहकी अगुवा बोमा पुनमगरले पौडेललाई बन्दीपुरको विकासका लागि योजना ल्याइदिन आग्रह गरिन् । ‘पटकपटक मन्त्री भएका नेता पौडेललाई हामी प्रधानमन्त्री भएको देख्न चाहन्छौं,’ उनले भनिन् । पौडेलले पनि गाउँमै बसौंबसौं लाग्नेगरी विकास ल्याउने र रोजगारी दिने प्रतिबद्धता जनाए । 

त्यसपछि तामझामसाथ शिखर डाँडामा सभा भयो । स्थानीय युवा क्लब सम्बद्ध युवाले खैंजेडीको तालमा गीत गाए । तन्नेरीहरूले नाचगान गरे । परम्परागत वेशभूषामा सहभागी तन्नेरीहरूलाई अघि लगाएर उनले केही घरमा भोट माग्न पनि भ्याए । लोकतन्त्र बचाउनका लागि भन्दै कांग्रेसलाई विजयी गराउन आग्रह गरेका पौडेल भेलाहरूमा वाम गठबन्धनको आलोचना गर्न पनि चुकेनन् । दिनभरको चुनावी भेला, सभा, घरदैलोपछि उनको टोलीले साँझ चुनाव प्रचारप्रसार समिति पदाधिकारीसँग छलफल गर्‍यो । साँझ ८ बजे मात्रै उनी निवास फर्कन भ्याए । 

प्रतिस्पर्धी पनि उस्तै 
पौडेलका प्रतिस्पर्धी वाम गठबन्धन उम्मेदवार कृष्णकुमार श्रेष्ठको व्यस्तता पनि कम छैन । एमाले–माओवादी मिलेपछि आफ्नो शक्ति दरिलो भएको अनुभव गरेका उनी चुनावी सभामा अब नयाँ पुस्ताले जिल्ला नेतृत्व लिनुपर्ने पालो आएको बताउँछन् । बिहान ८ बजेदेखि सुरु हुने उनको चुनावी दौडाहा बेलुकी ८ बजेसम्मै चल्ने गरेको छ । शुक्रबार पनि उनी प्रचारप्रसारमा व्यस्त रहे । बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न स्थानमा भेला, सभा र घरदैलो गरे । 

 

प्रकाशित : मंसिर १८, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?