कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिपक्षीय प्रतिस्पर्धा

मोरङ — जिल्लाका अधिकांश क्षेत्रमा द्विपक्षीय प्रतिस्पर्धाको संकेत देखिइरहँदा मोरङ ५ मा भने त्रिपक्षीय भिडन्त हुँदै छ । ९० प्रतिशतभन्दा बढी मधेसी समुदाय रहेको यो क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, वाम गठबन्धनबाट माओवादीका विनाविभागीय मन्त्री शिवकुमार मण्डल र संघीय समाजवादी फोरमका राजकुमार यादवबीच प्रतिस्पर्धा छ ।

त्रिपक्षीय प्रतिस्पर्धा

२०१९ सालदेखि चुनावी मैदानमा रहेका बद्रीप्रसाद मण्डल राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार छन् । पहिले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि यही क्षेत्रबाट उठ्दै आएका थिए । उनको घर यहीँ पर्छ । २०७० को निर्वाचनमा कांग्रेसका अर्यालसँग पराजित यादव यसपटक प्रदेश २ को सप्तरीबाट उम्मेदवार बनेका छन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । सुनसरीबाट समेत विजयी भएका यादवले मोरङ ५ छाडेका थिए । उपनिर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालका जयराम यादव विजयी भए । 

वाम गठबन्धनका मण्डल २०७० को निर्वाचनमा साबिक क्षेत्र ४ बाट मण्डल विजयी भएका थिए । अहिलेको क्षेत्र नम्बर ५ मा साबिक ४ नम्बरका केही भागसमेत मिलाइएका छन् । ‘पुरानो क्षेत्रका अधिकांश भाग अहिले पनि छन्,’ अर्यालले भने, ‘मेरो जितको प्रमुख आधार भनेको यो क्षेत्रमा २ वर्षमा गरेको विकास नै हो ।’ संगठनको आधार र विकासप्रेमका कारण कांग्रेस यो क्षेत्रलाई बलियो मान्छ भने मण्डल वाम गठबन्धले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । ‘यो क्षेत्रको विकासका लागि मेरो पनि भूमिका उत्तिकै छ,’ उनले भने, ‘भविष्यका लागि पनि जनताले साथ दिनेछन् ।’ 

संघीय समाजवादी फोरमका यादव संगठन बलियो भएकाले परिणाम आफ्ना पक्षमा आउने दाबी गर्छन् । ‘हाम्रो भोट बैंकमा अरूले जित्लान् भन्ने विश्वास गर्न सकिँदैन,’ उनले भने, ‘मधेस आन्दोलनपछि फेरिन थालेको यस क्षेत्रको विकासको जस उपेन्द्र यादवबाहेक अरूलाई जान सक्दैन ।’ यो क्षेत्रबाट राजपा र संघीय समाजवादी फोरमका छुट्टाछुट्टै उम्मेदवार छन् । आआफ्नो संगठन मजबुत रहेको भन्दै मधेसकेन्द्रित दलले छुट्टाछुट्टै उम्मेदवारी दिएका हुन् । 

जिल्लामा गनगाई २६ हजार ७ सय ३०, केवट २५ हजार ४ सय ६४ र यादवको जनसंख्या २१ हजार ३ सय ६७ छ । तीनवटै समुदायको अधिकांश बसोबास यसै क्षेत्रमा रहेकाले मधेसी मूलका तीनै उम्मेदवारले जातीय जनसंख्यालाई आआफ्ना जितको आधार मानिरहेका छन् । अल्पसंख्यकमा पर्ने गनगाईबाट बद्रीप्रसाद र केवटबाट शिवकुमार उम्मेदवार छन् ।

संघीय समाजवादीले प्रदेश ‘क’ मा गनगाई समुदायका विजयकुमार सिंह र ‘ख’ मा पहिलो संविधानसभामा फोरमबाट निर्वाचित जयराम यादवलाई उम्मेदवार बनाएको छ । वाम गठबन्धनबाट ‘क’ अल्पसंख्यक समुदायका ज्ञानेश्वर राजवंशी र (ख) मा मुस्लिम समुदायका सुभान मियाँ उठेका छन् । कांग्रेसबाट प्रदेश ‘क’ मा सुकदेवप्रसाद मण्डल र ‘ख’ मा राजेशकुमार गुप्ता उम्मेदवार छन् । राजपाले ‘क’ मा शंकरप्रसाद साह र ‘ख’ मा भोगेन्द्र यादवलाई उठाएको छ ।

 

प्रकाशित : मंसिर १८, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?