कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन शान्तिपूर्ण : गृह

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार भएको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण भएको छ । छिटफुट विस्फोट र झडपका घटना भए पनि निर्वाचन शान्तिपूर्ण भएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीले सर्लाही र स्याङ्जामा भएका झडप नियन्त्रण गर्न हवाई फायर गरेको छ ।

निर्वाचन शान्तिपूर्ण : गृह

अन्य स्थानमा भने अत्यधिक बल प्रयोग गर्नुपर्ने वा फायर खोल्नुपर्ने अवस्था नआएको प्रहरीले जनाएको छ । एकाध ठाउँमा नक्कली विस्फोटक पदार्थ भेटिए पनि त्यसले मतदान प्रभावित पार्न सकेन । 

गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले निर्वाचनमा मतदाताको सहभागिता उत्साहपूर्ण रहेको बताए । मतपेटिका संकलन, मतगणना र निर्वाचन परिणामको सुरक्षा भने बाँकी रहेको उनले जनाए । समग्रमा सुरक्षा रणनीति सफल भएको दाबी गर्दै प्रवक्ता दुवाडीले निर्वाचन पहिलो चरणको तुलनामा शान्तिपूर्ण भएको उल्लेख गरे । प्रहरीले अरूको नाममा मत हाल्ने दुई जनालाई रौतहट र दुईलाई दाङबाट पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले निर्वाचन सोचेभन्दा शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै निर्वाचन अवधिभर कुनै त्रासको घटना नभएको बताए । 

गृह मन्त्रालयले शुक्रबार साँझसम्म मुलुकभरका सबै मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा ओसारिसकिने अनुमान गरेको छ । गृह प्रवक्ता दुवाडीका अनुसार अछाम, काभ्रे र डोटीका केही मतदान केन्द्रबाट शुक्रबार नै हेलिकप्टरमा मतपेटिका ओसारिनेछ । 

कसरी सुध्रियो सुरक्षा ? 
निर्वाचनको एक साता अघिसम्म शृंखलाबद्ध विस्फोटका घटना भए पनि निर्वाचनको दिन भने शान्तिपूर्ण रह्यो । उम्मेदवारलक्षित विस्फोटका घटना बढेपछि निर्वाचन शान्तिपूर्ण हुने संशय धेरैमा थियो । तर कडा सुरक्षा प्रबन्ध र निर्वाचन सुरक्षा कार्यनीतिमा गृह मन्त्रालयले गरेको परिवर्तनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । 

गृह मन्त्रालयले निर्वाचनको सुरक्षा घेरा कसिलो पार्ने निर्णय गरेको थियो । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रोमा नेपाली सेना रहने निर्णयमा थोरै फेरबदल गर्दै गृहले सेनालाई मतदान केन्द्र नजिक सारेको थियो । त्यस्तै निर्वाचनअघिका दुई दिन प्रहरीले नेकपा विप्लवका केन्द्रीय नेतामाथि पनि निगरानी बढाउँदै समर्थक पक्राउलाई तीव्र बनाएको थियो । एक उच्च प्रहरी अधिकारीका अनुसार सोमबार राजधानीको चपलीहाइटमा कांग्रेस उम्मेदवार गगन थापालक्षित गर्दै विस्फोट भएपछि प्रहरीमाथि चुनौती थपिएको थियो । उक्त घटनालगत्तै प्रहरीले विप्लव समूहमाथि कडा निगरानी गरेको थियो । प्रहरीको विशेष ब्युरो विप्लव समर्थक नेता पक्राउ गर्न केन्द्रित भएको थियो । 
प्रहरीले बिहीबारसम्म निर्वाचनविरोधी गतिविधिमा संलग्न विप्लव माओवादीका ६ सय ३१, अन्य ३ सय ५२ र जनकपुरबाट सिके राउतसहित १४ जनालाई पक्राउ गरेको थियो । काठमाडौं प्रहरी परिसरले पनि निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको भन्दै विप्लव माओवादी समर्थक ५२ जनालाई पक्राउ गरेको थियो । 

गगनमाथि बम प्रहार गर्ने पक्राउ 
नेपाल प्रहरीको विशेष ब्युरोले सोमबार चपलीहाइटमा कांग्रेस उम्मेदवार गगन थापालक्षित बम विस्फोटमा संलग्नहरूलाई चाइनिज पेस्तोल र आठ राउन्ड गोलीसहित पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रवि गोले, विचारमान तामाङ, महेश नेपाली, राजीव तामाङ र रोशन विष्टसहित ६ जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ परेका सबै राजधानीमा विस्फोट गराउने विभिन्न घटनामा संलग्न थिए । प्रहरीले राजीव भने विस्फोटक पदार्थ बनाउने प्रशिक्षण प्राप्त गरी उपत्यकामा विस्फोट गराउने योजनामा संलग्न रहेको बताएको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार विप्लवकै योजनामा राजधानीलाई विभिन्न आठ सेक्टरमा बाँडिएको थियो जसमध्ये एक नम्बर कमान्डको युवा दस्ता इन्चार्जको जिम्मेवारी रवि गोलेले लिएका थिए । 

 

प्रकाशित : मंसिर २२, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?