कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उर्लिए मतदाता

कान्तिपुर टिम

विराटनगर — प्रदेश १ का सात जिल्लामा बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न भएको मतदानमा उत्साहपूर्ण सहभागिता देखिएको छ । चिसो मौसम र धान थन्क्याउने चटारोबीच ग्रामीण क्षेत्रका मतदान केन्द्रमा बिहानको समयमा मतदाताको उपस्थिति पातलो थियो ।

मध्याह्नपछि भने उल्लेख्य संख्यामा सर्वसाधारणले मतदान गरे । मतदान केन्द्रहरूमा महिलाको उपस्थिति बाक्लो थियो । सहरी क्षेत्रका केन्द्रमा भने बिहानैदेखि मतदाताको भीड लागेको थियो ।

एकै केन्द्रमा १५ किरियापुत्री
आफन्तको मृत्युले शोकाकुल भए पनि धरान–६ पानबारीस्थित घोपालीमार्गका तीन परिवारका १५ जना किरियापुत्रीले मतदान गरेका छन् । उनीहरूले सुनसरी क्षेत्र नम्बर १ को ‘क’ अन्तर्गत पर्ने पानबारीको सरस्वती उच्च मावि केन्द्रमा मत खसालेका हुन् । जनआन्दोलन ०६२/०६३ पछिको ऐतिहासिक चुनाव भएकाले मतदानमा सहभागी भएको उनीहरूले बताए । 
 किरियापुत्रीलाई अरूले छोइछिटो गर्न नहुने संस्कार रहेकाले निर्वाचन कार्यालयले दिउँसो २ बजेको समय तोकी उनीहरूका लागि सहज मतदानको व्यवस्था मिलाएको साबिक पाँचकन्याका पूर्वअध्यक्ष रमेश बस्नेतले बताए । उक्त केन्द्रबाट ४ हजार ४ सय ६८ जनाले मतदान गरे ।


झमक आठै बजे केन्द्रमा 
साहित्यकार झमक घिमिरेले धनकुटा ६ स्थित कभर्डहल केन्द्रबाट बिहान ८ बजे मतदान गरिन् । घिमिरे आमा आशाकुमारीका साथ केन्द्र पुगेकी थिइन् । कचिडेस्थित निवासबाट गाडीमा गएकी उनलाई बहिनीले बोकेर केन्द्रभित्र लगेकी थिइन् । घिमिरेले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउँदा निकै उत्साही भएको प्रतिक्रिया दिइन् । शारीरिक अवस्थाका कारण आफैं मतदान गर्न नसक्ने घिमिरेलाई आमा आशाकुमारी र झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंले सहयोग गरेका थिए । 

शृंखलाबद्ध विस्फोट
धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउ‘पालिकाअन्तर्गत ऑखिसल्लामा बिहीबार बिहान अज्ञात समूहले शृंखलाबद्ध विस्फोट गराएको छ । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ऑखिसल्लाको थलथले मतदान केन्द्रभन्दा करिब ६ सय मिटरदेखि २ किमि दूरीमा विस्फोट भएको जिल्ला प्रहरी प्रमुख सुदीप राजभण्डारीले जनाए ।

करिब २० मिनेटको अवधिभित्र सातचोटि विस्फोटपछि सर्वसाधारणमा त्रास बढे पनि मतदान जारी 
रह्यो । विस्फोट जिम्मा हालसम्म कसैले लिएको छैन । घटनालगत्तै त्यस क्षेत्रका मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले कडा सुरक्षा दिएका थिए । सुरक्षाकर्मीका अनुसार उक्त स्थानमा सुतली बम विस्फोट भएको हो । मतदान केन्द्रमा उल्लेख्य मतदाता रहेका बेला विस्फोट भए पनि पर्याप्त सुरक्षा उपलब्ध गराई मतदान निरन्तर गरिएको प्रजिअ प्रेमप्रकाश उप्रेतीले बताए । ‘मतदान समग्रमा शान्तिपूर्वक सम्पन्न भएको छ’, उनले भने, ‘मतदाताको उपस्थिति उत्साहप्रद रह्यो ।’ 


इलाममा ६५ प्रतिशत 
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा इलाममा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायो । शुक्रबार बिहान ४ बजेसम्ममा सबै मतपेटिका सदरमुकाम ल्याएर तत्काल गणना थाल्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण सुवेदीले बताए । उनका अनुसार २६ संकलन केन्द्रमार्फत जिल्लाभरका मतपेटिका सदरमुकाम ल्याइनेछ । 
क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल एवं २ मा पूर्वसभामुख सुवास नेम्वाङ उम्मेदवार भएका कारण जिल्लाको चुनावी परिणामप्रति देशव्यापी चासो छ । नेपाली कांग्रेसका तर्फबाट १ मा भूपेन्द्र कट्टेल एवं २ नम्बर क्षेत्रमा केशव थापा उम्मेदवार छन् । खनालले सूर्योदय नगरपालिकास्थित रम्फोकको राष्ट्रिय आधारभूत मावि र प्रतिस्पर्धी कट्टेलले सूर्योदयकै मालुम केन्द्रबाट मतदान गरे । नेम्वाङ, थापा र कांग्रेसका पूर्वमहामन्त्री केबी गुरुङले सदरमुकामको बालमन्दिर केन्द्रबाट मतदान गरे । इलाममा स्थानीय निर्वाचन तुलनामा मतदान घटेको हो । स्थानीय निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो । 

तेह्रथुममा ६६ प्रतिशत
जिल्लामा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । मतदाता चिसोका कारण बिहान निर्धारित समयभन्दा केही ढिला गरी मतदान केन्द्र पुगे पनि घाम लागेपछि उपस्थिति बाक्लिएको थियो । जिल्लामा ६६ दशमलव ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । 


सिन्धुली र काभ्रेमा ६५ प्रतिशत
सिन्धुली (कास)– जिल्लामा बिहीबार भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । मतदान शान्तिपूर्ण रहेको प्रजिअ जनकराज दाहालले जानकारी दिए । मतपेटिका राति २ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्‍याउने गरी व्यवस्था मिलाइएको उनले बताए । 
वृद्धवृद्धा, अपांगता भएका व्यक्तिका लागि मतदान गर्न विशेष व्यवस्था मिलाइएको थियो । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको सिन्धुलीमा १ सय ३७ मतदानस्थल र २ सय ४० मतदान केन्द्र छन् ।

त्यसैगरी काभ्रेमा पनि झन्डै ६५ प्रतिशत मत खसेको अनुमान छ । प्रारम्भिक तथ्यांकका आधारमा ६५ प्रतिशत मत खसेको आकलन गरिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । स्थानीय तहको निर्वाचनको तुलनामा कम मत खसेको छ । स्थानीय तहको निर्वाचनमा झन्डै ७५ प्रतिशत खसेको थियो ।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्वाचन भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले सुरक्षा निकायको सक्रियताका कारण कुनै पनि घटना हुन नपाएको दाबी गरे । यस्तै शुक्रबारबाट मात्रै मतगणना सुरु हुने भएको छ । 
 ३ सय ५० वटै मतदान केन्द्रका मतपेटिका संकलन भइसकेपछि मात्रै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । उनका अनुसार, भौगोलिक रूपमा विकट डाँडापारि क्षेत्रका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिनेछ । 

 

प्रकाशित : मंसिर २२, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?