कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

उत्सवमय मतदान

हस्ताक्षरबिनै मतपत्र दिएपछि विवाद
शव बोकेरै मतदान
सय वर्ष नाघेका पनि सहभागी
कान्तिपुर टिम

अर्घाखाँची — वाङलास्थित मथुरा आधारभूत विद्यालयको (ख) केन्द्रमा मतपेटिका तोडफोड भएपछि मतदान नै स्थगित भएको छ ।

उत्सवमय मतदान

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरेरै मतपत्र दिएपछि विवाद भएको हो ।

आक्रोशित मतदाताले मतपेटिका फुटालेर मतपत्र च्यातेका छन् । मतपत्रका ठेलीसहित सम्पूर्ण निर्वाचन सामग्री तोडफोड भएपछि मतदान स्थगित गरिएको छ ।

लाम लाग्न निर्माण गरिएको बार पनि भत्काइएको छ । घटनाका बेला केन्द्रमा सुरक्षाकर्मीको संख्या न्यून थियो । केही समय मतदाता र अधिकृतसहितका कर्मचारीबीच भनाभन भएको थियो । त्यसपछि भोट हालेर बाहिर बसेका र पर्खाइमा रहेको हूल गेटभित्र पसेर सबै सामग्री तोडफोड गरेको प्रहरीले जनाएको छ ।

भीड थेगिनसक्नु भएपछि हस्ताक्षर नगरी मतपत्र दिने अधिकृत र कर्मचारी विद्यालयको कोठामा लुक्न गएका थिए । उक्त केन्द्रमा २ हजार ४४ मतदाता थिए । घटना हुँदा करिब ५ सय मत खसिसकेको अनुमान छ । ‘एउटा मतको पनि महत्त्व हुन्छ,’ स्थानीय पीताम्बर शर्माले भने, ‘हस्ताक्षर नगरी मतपत्र दिनु सरासर गलत नियत हो । मतदान अधिकृतले राजनीतिक रंग देखाए ।’ मतदान अधिकृत अधिकारीले हस्ताक्षरबिनाको मतपत्र दिएको स्वीकारे । ‘जीवनकै ठूलो गल्ती भयो । हतारमा

झुक्किएर हस्ताक्षर नगरी मतपत्र दिएछु,’ उनले भने ।

उत्साहपूर्ण मतदान

दाङका केही मतदान केन्द्रमा झडप र विस्फोटका घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सकिएको छ । मतदानमा किरियापुत्रीदेखि अपांग र वृद्धवृद्धा उत्साहका साथ सहभागी भए । तुलसीपुरको दोघरे र प्रतापकोट मतदान केन्द्र नजिक वम विस्फोट भएको थियो ।

श्रीगाउँ केन्द्रमा झडप हुँदा दुई कांग्रेस कार्यकर्ता घाइते भए । केही ठाउँमा विस्फोट भए पनि मतदान शान्तिपूर्ण रूपमा सकिएको डीएसपी भुवनेश्वर तिवारीले बताए ।

जिल्लाका १ सय ५१ मतदानस्थल र ३ सय ९४ केन्द्रमा उत्साहपूर्ण मतदान भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जनाए । ६५ देखि ७० प्रतिशतसम्म मत खसेको अनुमान छ ।

फर्किंदा मृत्यु

पाल्पाको रामपुर नगरपालिका ६ मा मतदान गरेर फर्किरहेका तिलकपुरका ७४ वर्षीय झुलबहादुर कुमालको मृत्यु भएको छ । हिंडाएर ल्याइएको र दमका बिरामी भएकाले बाहिर निस्कने क्रममा मतदान केन्द्र परिसरमै ढलेको प्रहरीले जनायो । यस्तै बगनासकाली, १ चिर्तुङधारा शिखरका २७ वर्षीय अपांगता भएका चित्रबहादुर चिदीले आफन्त र साथीभाइको सहायतामा ५ किमि टाढाबाट ह्वीलचियरमा आएर मतदान गरे । स्थानीय प्रशासनले दिने विशेष सवारी पास नपाएपछि रिब्दीकोट, ७ पालुङमैनादीमा अन्तिम संस्कार गर्न लगिँदै गरेको शवसहित मलामीले केन्द्रमै आएर मतदान गरे ।

रिब्दीकोट, ७ पालुङमैनादीका लीलाकुमारी गैरेको शवसहित छोरा र मलामी मत खसाल्न मतदान केन्द्रमा आएका हुन् । १ सय १ वर्षीया गैरेको बुधबार राति निधन भएको थियो । दाहसंस्कार गरेर फर्किंदा मतदानको समय सकिने भएकाले शवसहित मतदानका लागि आएको उनीहरूले बताए ।

यस्तै माथागढी गाउँपालिका, ४ झडेवास्थित रत्न मावि (ख) केन्द्रबाट १ सय ७ वर्षीया तिलीसरा रानाले मतदान गरेकी छन् । गुल्मीमा भने झन्डै ७१ प्रतिशत मत खसेको बताए । बाँकेमा ६५ प्रतिशत बढी मत खसेको छ ।

नवलपरासी पश्चिम सुनबल कीर्तिपुरमा १ सय १६ वर्षीया वृद्धले मतदान गरेका छन् । सुनबल ३ का दीर्घनारायण जैसी भण्डारीले युगज्योति आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । कपिलवस्तुमा ६७ प्रतिशत मतदान भएको छ । मतदाता उत्साहित हुँदै मतदानका लागि लाम बसेका थिए । रूपन्देहीमा ७३ प्रतिशत मत खसेको छ । बर्दियामा ७० प्रतिशत मतदान भएको छ । प्यूठानमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले यसपालि पनि मतदान गरेनन् । उनकी पत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेकी छन् । सिंह आफ्नै पत्नीलाई भोट हाल्न नआई काठमाडौंमै बसेको स्रोतले बताएको छ ।

प्रकाशित : मंसिर २२, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?