कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला छापामारदेखि पहिलो प्रतिनिधिसभा सदस्यसम्म

हरि गौतम

रुकुम (पूर्व) — तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र युद्धको पहिलो छापामारदेखि औपचारिक राजनीति थालेकी नेकपा माओवादी केन्द्रकी नेतृ कमला रोकाको यात्रा प्रतिनिधिसभा सदस्यसम्म पुगेको छ ।

महिला छापामारदेखि पहिलो प्रतिनिधिसभा सदस्यसम्म

२०७२ सालमा जारी नेपालको नयाँ संविधानमा उल्लेख भएअनुसार बनेको देशको कान्छो तथा ७७औं जिल्ला रुकुम (पूर्व)बाट रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतले पछि पार्दै रोका विजयी बनेकी हुन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीको पक्षमा ४ हजार ४ सय ६ मत आएको छ । खसेको १८ हजार १ सय १४ मतमध्ये १६ हजार ९ सय २४ मत मात्रै सदर भएको थियो । उक्त जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका ५ जना पुरुषसँगै प्रतिस्पर्धा गरेकी एक्ली रोका विजयी भइन् ।

२०३२ सालमा साविकको प्वाङ तथा हालको सिस्ने गाउँपालिका–२, मा जन्मेकी रोका माओवादीले सशस्त्र घोषणा गरेकै दिन आक्रमण भएको रुकुम आठविसकोट प्रहरी चौकी आक्रमणकी एउटी सदस्य उनी हुन् । ‘पूर्णकालीन भएको केही समयमै प्रहरी चौकी आक्रमणमा जानुपर्ने भयो,’उनले भनिन्, ‘गएर पनि चौकी आक्रमण सफलतापूर्वक सम्पन्न भयो ।’ त्यसपछि उनी २०५३ माओवादीको रुकुम जिल्लाको पहिलो महिला सदस्य भइन् । २०५४ को असार महिनामा उनी केही समय दाङको जेलमा पनि बसेकी थिइन् । २०५५ मा महिला संगठनको जिल्ला अध्यक्ष, २०५७–२०५९ सम्म माओवादीको प्यूठान जिल्ला इञ्चार्ज २०५९ देखि २०६० सम्म रोल्पा र रुकुमका केही भाग मिसायर बनाइएको विशेष जिल्लाको पार्टी इन्चार्ज भइन् ।

२०६० मा माओवादीले बनाएको ९५ जनाको केन्द्रीय समितिमा पनि उनी सदस्य थिइन् । २०६२ को चुनवाङ बैठकपछि माओवादीको सेनाको ५ औं डिभिजनको दीर्घस्मृति विग्रेड कमिसार बनेर उनी गण्डक अभियानमा लागेकी थिइन् । शान्ति स्थापनापछि मूल राजनीतिमा फर्केकी उनली २०६३ मा अन्तरिम विधायक र २०६४ को संविधानसभा निर्वाचनबाट समानुपातिक सूचीमार्फत सभासद् भएकी उनी युवा तथा खेलकुद मन्त्री समेत भइसकेकी छिन् । उनी हाल माओवादी केन्द्रको सचिवालय सदस्य तथा महिला विभाग इन्चार्ज छिन् । प्रत्यक्षतर्फ उनी पहिलो पटक निर्वाचन लडेर विजयी बनेकी हुन् ।

युद्धभन्दा चुनाव जोखिम रहेको उनले प्रतिक्रिया दिएकी छिन् । मत परिणाम घोषणालगत्तै उनले भनिन् ‘युद्ध रुप पक्ष जटिल देखिए पनि सार पक्षमा सजिलो थियो । चुनाव रुप पक्षमा सजिलो देखिए पनि सार पक्ष भने जटिल भयो ।’युद्धमा एउटै लक्ष्य प्राप्तिका लागि एउटै काममा ध्यान दिए पुग्ने भए पनि चुनावमा त्यो सुत्रले काम नगर्ने बताइन् । ‘चुनावमा चार कान, चार आँखा नगरी स्थिति सम्हाल्न सकिने हुँदैन भने युद्धमा पाएको जिम्मेवारी पूरा गर्नेतर्फ मात्रै ध्यान दिए पुग्छ’ उनले थपिन् । उनले आफ्नो विजयी घोषणा भएपछि जिताउने मतदातालाई धन्यवाद दिँदै उनले विकास गर्ने प्रतिबद्धता गरेकी छिन् । ‘जनताले ठूलो जिम्मेवारी सुम्पिनु भयो,’ उनले भनिन्, ‘म चुनाव प्रचारको क्रममा गरेका प्रतिबद्धता पूरा गर्नतर्फ लाग्नेछु, मेरो प्रयास जिल्लाको समग्र विकास र समृद्धिको लागि हुनेछ ।’

विशेषगरी जनताका माग दुई थरिका भएको उनले बताइन् । चुनावी अभियानको क्रममा ठाउँठाउँ घुम्दा तत्कालीन र दीर्घकालीन समस्या जनताबाट आएको उनले बताइन् । उनका अनुसार तत्कालीन खालका खानेपानी, विद्यालय भवन, बाटोघाटो, विद्युत्‌लगायत माग धेरै छन् भने दीर्घकालीन मागका रुपमा सडक निर्माण, बाह्रै महिना यातायात सञ्चालन, सञ्चार सेवा, विद्युतलगायतको माग गरेको उनले बताइन् । ‘मैले बाम गठबन्धनको तर्फबाट घोषणा पत्र पनि तयार पारेको छु, घोषणा पत्रमा उल्लेख गरिएका योजना क्रमश: कार्यान्वयनमा लैजाने र जिल्लाको विकास र समृद्धिलाई तीव्रता दिन म कुनै कसर बाँकी राख्ने छैन,’ उनले भनिन्, ‘जनताको चाहना विकास निर्माण छ, अन्य विषयमा नअल्झेर विकासतिरै अघि बढ्ने गरी लाग्ने प्रतिबद्धता म दोहोर्‍याउँछु ।’

प्रकाशित : मंसिर २२, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?