कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पराजयपछिको हार्दिकता !

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मत परिणाम सार्वजनिक भइरहँदा जित्नेहरू मात्र हैन, केही पराजित समेत चर्चामा आए । पराजयपछिको चर्चाको केन्द्रमा सबैभन्दा अघि थिए, झापा– १ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा ।

पराजयपछिको हार्दिकता !

वाम गठबन्धनका विजेता राम कार्कीलाई बधाई दिँदै उनले आफैंले उनेको माला लगाइदिए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित हुँदा पनि उनले त्यसै गरेका थिए । 
चुनावअघि प्रतिस्पर्धी उम्मेदवारको खेदो खन्ने, अहंकार देखाउने र परिणाम आएपछि हार नस्विकार्ने संस्कार नेपाली राजनीतिमा नौलो कुरा होइन । तर यसपालि चुनावपछि विजेता उम्मेदवारलाई हार्दिकतापूर्वक बधाई दिएर केही उम्मेदवारले असल राजनीतिक संस्कारको परिचय दिए । ‘नेपाली राजनीतिमा राजनीतिक संस्कार र ग्रहणशीलताको अभाव छ,’ शर्माले भने, ‘लोकतान्त्रिक राजनीतिमा प्रतिस्पर्धीलाई सम्मान गर्न सक्नुपर्छ ।’ 
०४८ यताका पाँचवटै निर्वाचनमा तनहुँबाट जितेका कांग्रेस नेता रामचन्द्र पौडेल यस पटक क्षेत्र नं १ बाट पराजित भए । ०७० को संविधानसभामा आफूले हराएका एमालेका कृष्णकुमार श्रेष्ठ किसान विजयी भएपछि आइतबार साँझ पौडेल दमौलीमा निस्किएको वाम गठबन्धनको विजय जुलुसमै पुगे । जुलुसमाझ पुगेर उनले श्रेष्ठलगायत वाम गठबन्धनका सबै विजयीलाई खादा पहिराई बधाई दिए । पराजयपछि एक वक्तव्य निकाल्दै पौडेलले आफ्नो पार्टीको जेजस्तो परिणाम आए पनि निर्वाचनले संविधान कार्यान्वयनमा उल्लेख्य उपलब्धि हासिल भएको बताएका छन् । 
कांग्रेसकै अर्का नेता रामहरि खतिवडाले पनि वाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनवारलाई बधाई दिए । काठमाडौं ४ का एमाले उम्मेदवार राजन भट्टराईले विजेता गगन थापालाई राष्ट्रिय सभा गृहमा घण्टौं कुरेपछि भेटेरै बधाई दिए ।

झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीलाई आफैंले उनेको माला पहिर्‍याएर बधाई दिँदै उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता विश्वप्रकाश शर्मा र गुल्मी १ बाट निर्वाचित एमालेका प्रदीप ज्ञवालीलाई बधाई दिँदै उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता चन्द्र भण्डारी । तस्बिर : कान्तिपुर

त्यस्तै अन्य पराजितहरूले पनि सामाजिक सञ्जाल र फोनमार्फत प्रतिस्पर्धी विजेतालाई बधाई दिएर राजनीतिक संस्कार प्रदर्शन गरेका छन् । नुवाकोटका पराजित कांग्रेस उम्मेदवार रामशरण महतले मतपरिणाम घोषणालगत्तै ट्विटरमा वाम गठबन्धनका तर्फबाट आफ्ना प्रतिस्पर्धी हितबहादुर तामाङलाई बधाई दिए । उनले विगत २३ वर्षमा लगातार ४ पटक विजयपछिको पराजयलाई परिवर्तनको जनचाहना मानेको बताउँदै बधाई र शुभकामना दिएका हुन् । 
काठमाडौं १ मा कांग्रेसका प्रकाशमान श्रेष्ठसँग हारेका विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रले पनि मतपरिणाम सार्वजनिक भएपछि विजेतालाई बधाई दिन हिचकिचाएनन् । 
गोर्खा २ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका बाबुराम भट्टराई निर्वाचित भएको घोषणालगत्तै उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले फोनमार्फत बधाई दिए । जबकि चुनावअघि यी दुवै नेता आरोपप्रत्यारोप र घोचपेचमा उत्रिएका थिए । 
गुल्मीमा आफू पराजित भएपछि कांग्रेस नेता चन्द्र भण्डारीले एमालेका विजयी प्रदीप ज्ञवालीलाई भेटेर खादा लगाइदिए ।

प्रकाशित : मंसिर २५, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?