कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम आयो, ६ वटा प्रदेशमा एमाले पहिलो पार्टी

राजेश मिश्र

काठमाडौं — प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सम्पूर्ण परिणाम आइसक्दा दुवैसभामा वाम गठबन्धनको वर्चस्व कायम भएको छ । मतदान भएको ७ दिनभित्र प्रत्यक्षतर्फको सबै परिणाम आएको हो । समानुपातिक निर्वाचन प्रणालीको गणना अझै जारी छ ।

प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम आयो, ६ वटा प्रदेशमा एमाले पहिलो पार्टी

प्रत्यक्षतर्फ प्रतिनिधिसभाको कुल १ सय ६५ सिटमा वाम गठबन्धनले ११८ सिट ल्याएको छ । वाम गठबन्धनभित्र एमाले एक्लैले ८०, माओवादी केन्द्रले ३६, राष्ट्रिय जनमोर्चाले १ र राप्रपा १ ले एक सिट ल्याएको छ । वाम गठबन्धनकै सहयोगमा झापा( ३ बाट राप्रपाका राजेन्द्र लिङदेनले जितेका हुन् । जबकी राप्रपाले अन्यत्र नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो । प्रत्यक्षतर्फको परिणाममा कांग्रेस तेस्रो स्थानमा पुगेको छ । उसले जम्मा २३ सिटमा चित्त बुझाउनु परेको छ । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरम नेपालले १० सिट जितेका छन् । यी दुई पार्टी गठबन्धन बनाएर चुनाव लडेका थिए । दुवै पार्टीले जितेको २१ सिटमध्ये १९ सिट प्रदेश नम्बर २ बाट जितेका हुन् । बाँकी २ सिटमा फोरमले १ सिट बाँकेबाट र राजपाले १ सिट कैलालीबाट जितेको हो । त्यसबाहेक नयाँ शक्ति पार्टी, नेपाल मजदुर किसान पार्टीले १/१ सिट तथा स्वतन्त्रका उम्मेदवारले १ सिट जितेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले मंसीर २९ गतेभित्र समानुपातिकको पनि परिणाम आइसक्ने बताए । बुधबार साँझसम्म कुल खसेको मतको ६० प्रतिशत बढी मतगणना भइसकेको छ । आयोगले सुरु दिनमा दिएको तथ्यांकअनुसार देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो । साँझ ७ बजेसम्ममा ६७ लाख ७९ हजार ७१ मतको गणना भइसकेको छ । गनिएका मतमा एमालेले २३ लाख १८ हजार १ सय ५४, कांग्रेसले २२ लाख ३१ हजार ४ सय १७, माओवादीले ९ लाख १५ हजार ९७ मत ल्याएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ३ लाख ५४ हजार १३, राजपाले २ लाख ४८ हजार ७ सय २१, राप्रपाले १ लाख ५२ हजार १ सय ७६, विवेकशील साझा पार्टीले १ लाख ५० हजार ४ सय २५, नयाँ शक्ति पार्टीले ६३ हजार ५ सय ८५, राप्रपा(प्रजातान्त्रिक) ले ५३ हजार ५ सय ७३ र राष्ट्रिय जनमोर्चाले ३८ हजार ४ सय ६८ मत ल्याएका छन् । गणना भएका मतमा एमाले, कांग्रेस, माओवादी, फोरम र राजपाले सहित ५ वटा दलले मात्रै ३ प्रतिशत भन्दा बढी पुर्‍याएका छन् । सबै गणना भइसक्दा उक्त संख्यामा हेरफेर हुनसक्छ ।

६ वटा प्रदेशमा एमाले पहिलो पार्टी
सातवटै प्रदेशसभाको प्रत्यक्ष तर्फको कुल ३ सय ३० सिटमध्ये एमालले आधाभन्दा बढी सिटमा जित हात पारेको छ । एमाले एक्लैले १६८ सिट जितेको छ । वाम गठबन्धनको अर्को प्रमुख घटक माओवादीले ७३ सिट जितेको छ । नेपाली कांग्रेसले ४१, संघीय समाजवादी फोरम नेपालले २४, राजपाले १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी नेपालले २, राष्ट्रिय जनमोर्चाले २ र नेमकिपाले १ सिट जितेको छ । प्रदेश नम्बर २ बाहेक बाँकी ६ वटै प्रदेशको प्रत्यक्ष तर्फको चुनावमा एमाले नै पहिलो पार्टी बनेको छ ।

प्रत्यक्षतर्फ प्रदेश नम्बर १ को प्रदेशसभाको ५६ निर्वाचन क्षेत्रमध्ये एमालेले ३६, माओवादीले १०, कांग्रेसले ८, संघीय समाजवादी फोरमले १ र स्वतन्त्रले १ सिट जितेका छन् । प्रदेश नम्बर २ को ६४ सिटमा संघीय समाजवादी फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ र अन्यले १ सिट जितेका छन् । प्रदेश नम्बर ३ को ६६ सिटमा एमालेले ४२, माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति पार्टीले १ र नेमकिपाले १ सिट जितेका छन् ।

प्रदेश नम्बर ४ को ३६ सिटमा एमालेले १७, माओवादीले ९, कांग्रेसले ६, राष्ट्रिय जनमोर्चाले २ र नयाँ शक्ति पार्टीले १ सिट जितेका छन् । प्रदेश नम्बर ५ को ५२ सिटमा एमालेले २८, माओवादीले १४, नेपाली कांग्रेसले ७, फोरमले ३ सिट जितेका छन् । त्यस्तै २४ सिट रहेको प्रदेश नम्बर ६ मा एमालेले १४, माओवादीले ९ र कांग्रेसले १ सिट जितेको छ । प्रदेश नम्बर ७ को ३२ सिटमा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिटमा जित हात पारेको छ । प्रदेश तर्फको समानुपातिक मतको गणना पनि जारी छ ।

प्रकाशित : मंसिर २७, २०७४ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?