एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट सांसद

- पूर्वविद्यार्थी देशको बागडोर समाल्न पुग्दा विद्यालयको गौरव बढेको छ : प्रअ हेरम्बबहादुर शाह
भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे । त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीका गणेशप्रसाद सिंह मावि खलंगाकै पूर्वविद्यार्थी हुन् । मावि खलंगामा ६ वर्षसम्म अध्ययन गरेका सिंह २०४० का एसएलसी उत्तीर्ण हुन् । त्यस्तै शिवालय गाउँपालिका ७ भिउसका करवीर शाही पनि त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । २०४२ मा उक्त विद्यालयमा प्रवेश गरेका शाहीले २०४५ मा एसएलसी उत्तीर्ण गरेका थिए ।

मावि खलंगाका पूर्वविद्यार्थी बस्नेत, सिंह र शाहीलाई २०७४ को निर्वाचनबाट एकैपटक सांसद बन्ने संयोग नै जुट्यो । कांग्रेसका उम्मेदवारलाई पछि पार्दै वाम गठबन्धनबाट उनीहरू सांसद निर्वाचित भए । पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत प्रतिनिधिसभा, सिंह प्रदेशसभा ‘क’ र शाही प्रदेशसभा ‘ख’ बाट सांसद निर्वाचित बनेका हुन् । दोस्रो पटक सांसद बनेका बस्नेत माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । सिंह माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज हुन् भने शाही एमालेका जिल्ला अध्यक्ष हुन् । 

Yamaha

जाजरकोटका लागि एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैसाथ सांसद निर्वाचित भएको पहिलो उदाहरण पनि हो । एउटै चुनावबाट ३ जना पूर्वविद्यार्थी सांसद निर्वाचित भएपछि विद्यालय परिवारले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयले नवनिर्वाचित सांसदहरूको स्वागतमा विभिन्न कार्यक्रमसहित शुक्रबार खुसियाली मनायो । खुसियालीमा विद्यालय परिवारले उनीहरूलाई फूलमाला र अबिरको भारी नै बोकाए । पूर्वविद्यार्थी देशको बागडोर समाल्न पुग्दा विद्यालयको गौरव बढेको प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए । 
प्रधानाध्यापक शाहले नवनिर्वाचित सांसदहरूलाई जिल्लाको सुशासन, विकास र समृद्धिका लागि निरन्तर अग्रसर हुन सुझाए । जाजरकोटको पछ्यौटेपन अन्त्य र समृद्धिका लागि प्रतिनिधि र प्रदेशसभा सदस्यको अहं भूमिका रहेको उनले बताए । विद्यालयमा अध्ययनका क्रममा देखाएको उत्कृष्ट क्षमतालाई जिल्लाको समृद्धि कसरी गर्ने ? भन्नेमा बदल्ने मौका आएको शाहले बताए । पूर्वगृहमन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले जाजरकोटको विकासको अभिभारा बोक्न सक्षम बनाउन मावि खलंगाको महत्त्वपूर्ण योगदान रहेको बताए । जिल्लाको समृद्धिका लागि गुणस्तरीय शिक्षाको विकास र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बस्नेतले बताए । जाजरकोटको शिक्षा क्षेत्रको जेठो विद्यालय त्रिभुवन मावि खलंगाको चौतर्फी विकासमा अग्रसरता देखाउने उनले बताए । दक्ष जनशक्ति उत्पादनमा मावि खलंगा अब्बल भएको बस्नेतको भनाइ छ । 
यसैगरी प्रत्यक्ष निर्वाचनतर्फको मतपरिणाम सार्वजनिक भएको साता बितेको छ । यस अवधिमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई थाप्न भने भ्याइ नभ्याइ छ । नवनिर्वाचित सांसदलाई विद्यालय, क्याम्पस, कर्मचारी संघसंगठन, उद्योग वाणिज्य संघ, नागरिक संगठन, स्थानीय बासिन्दा लगायतले स्वागत र बधाई तथा शुभकामना कार्यक्रममा बोलाउन थालेपछि भ्याइ नभ्याइ भएको हो । उनीहरू स्वागत, बधाई, अबिरजात्रा र विजयसभामै व्यस्त छन् । प्रतिनिधि र प्रदेससभामा निर्वाचित भएलगत्तै वाम गठबन्धनले सदरमुकाम खलंगा, थहबजार र दल्लीमा विजयसभा गरेको छ । ‘जनताले स्वागत गर्न र बधाई दिन बोलाउँदा भ्याउँदिन भन्न मिलेन,’ प्रदेशसभा सदस्य शाहीले भने, ‘भोट हाल्ने जनताले एकपटक आइदिनुपर्‍यो भनेपछि कसरी हुन्न भन्नु ?’ अबको दुई/तीन दिनमै राजधानी सुर्खेत पुगेर जनताका कामकाजमा खट्ने उनले बताए । चुनाव जिते गाउँ नफर्कने र जनताको काममा बेवास्ता गर्ने भन्ने गुनासो आउन नदिने उनले बताए । 

Esewa Pasal

प्रकाशित : मंसिर २९, २०७४ २२:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाँसखर्कका किसानले फलाए ३ करोडको सुन्तला

– अनुकुल मौसम र रोगकिराको नियन्त्रणले उत्पादन बृद्धि
– सुन्तलाबाट एकै परिवारको कमाई १८ लाखसम्म
अगन्धर तिवारी

पर्वत — पर्वतको जललजा– १ बाँसखर्कका किसानले यस वर्ष करिब ३ करोड रुपैयाँको सुन्तला फलाएका छन् । गत वर्षको तुलनामा बाक्लो फल र सुन्तलाको क्षेत्रफल विस्तार भएकाले उत्पादन बढेको हो ।

‘यो वर्ष सुन्तला फलेको क्षेत्रफल विस्तार भएको छ,’ स्थानीय किसान मेकबहादुर खत्रीले भने, ‘धेरैजसोले धान खेतमा रोपेका सुन्तला अहिले लटरम्मै फलेका छन् ।’ यो वडाका २ सय ६१ मध्ये दुई सय बढीले व्यावसायिक रूपमै सुन्तला फलाउँछन् । बोटभरि लटरम्मै पाकेका सुन्तलाले मंसिरदेखि माघको अत्यसम्म यो गाउँ पहेंलपुर देखिन्छ । पहिला बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जंगल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायिकरण, सुन्तलामा लाग्ने रोगकिराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन बर्सेनि बढदै गएको हो । जसका कारण यहाँबाट विस्थापितहरू पनि सुन्तलाको आम्दानीका कारण गाउँमै फर्किन थालेका छन् ।
सुन्तलाको आम्दानीले बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौंलगायतका सहरमा घरघडेरी जोडेका परिवार धेरै छन् । तर, पनि उनीहरू बजार बस्न मान्दैनन् । ‘गाउँभरका अढाइ सय परिवारमध्ये दुई सय बढीका खेतबारीमा सुन्तला मात्रै छ,’ अगुवा किसान जगतबहादुर खत्रीले भने, ‘थोरै कमाउनेले पनि एक लाख रुपैयाँ हात पार्छन् । आधाभन्दा बढीले सहरमा घरजग्गा जोडेका छन् ।’ उनले पनि बेनी, पोखरा र चितवनमा घडेरी जोडेका छन् ।
सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न ‘बजारमारे सुन्तला उत्पादन सहकारी’ स्थापना भएको छ । गाउँभरिका सुन्तलाको बिक्री सहकारीमार्फत नै गरिन्छ । ०६९ सालमा स्थापना भएको सहकारीले घरैबाट सुन्तला टिपेर राजधानी काठमाडौंदेखि चितवनसम्मका बजार पुर्‍याउँछ । उत्तरी मोहडामा फैलिएर ९ सय देखि १३ सय मिटर उचाइको यो गाउँका किसानले हत्तपत्त टिप्दैनन् । ढिलासम्म बोटमै रहन सक्ने मौसम भएको र अन्तका सकिने समयमा टिप्ने भएकाले सिजनको भन्दा दोब्बर मूल्यमा बिक्री गर्दै आएका छन् ।
व्यवसायी खोज्न बजारका दैलादैला चहार्नुपर्ने बाध्यता पनि छैन । ‘५–६ वर्षयता असोज–कात्तिकमै व्यवसायी आएर सुन्तलाका बोट नियाल्छन्,’ सहकारीका अध्यक्षसमेत रहेका खत्रीले भने, ‘सहकारीसँग मोलमाल गरेपछि माघको अन्त्यमा टिप्न आउँछन् ।’ यसरी बिक्री गर्दा प्रतिकिलो बोटबाटै १ सय २० रुपैयाँसम्म पर्ने किसानहरू बताउँछन् ।
चार वर्षअघि गाउँलेहरू मिलेर गाउँसम्म पुग्ने मोटरबाटो खनेका थिए । हाल घरघरै पुगेर व्यवसायीले गाडीमा सुन्तला ओसार्छन् । ‘चार वर्षअघिसम्म डोकोमा बोकेर बेनीसम्मै पुर्‍याउनुपथ्र्यो,’ स्थानीय चन्द्रकुमारी खत्रीले भनिन्, ‘हिजोआज ढुक्क भएको छ ।’ यहाँका सुन्तलाको मोलमोलाइ गर्न व्यवसायीबीच नै प्रतिस्पर्धा चल्छ । बेमौससम्म बोटमै रहने भएकाले चितवन र काठमाडौंका व्यवसायीबीच मूल्यमा बढीबढाउको प्रतिस्पर्धा हुन थालेको छ । सुन्तला बिक्री गर्ने व्यवसायी खोजेर प्रतिस्पर्धा गराएबापत सहकारीलाई केही प्रतिशत मुनाफा सबैले दिन्छन् । त्यसबापत सहकारीमा जम्मा भएको रकमले ३ जना कर्मचारीलाई रोजगारी र सुन्तलाको गुणस्तर वृद्धिमा सहयोग पुगेको छ ।
गाउँमा आवश्यक पर्ने उपकरण जिल्ला कृषि विकास कार्यालय र सहकारीको साझेदारीमा खरिद गर्ने गरिएको किसानहरू बताउँछन् । पछिल्लो दुई वर्षयता बाँसखर्कलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत सुन्तला पकेट क्षेत्र घोषणा भएपछि किसानलाई रोगकिराको व्यवस्थापन, सुत्तला टिप्ने मेसिन, कलमी बिरुवा उत्पादनलगायतमा सहुलियत र सहज भएको छ ।
सुन्तलाको सम्भावना राम्रो भएकाले कृषि कार्यालयले पनि हरेक वर्ष लगानी र श्रम बढाउँदै गएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । ‘यो वर्षदेखि हामीले खासै केही गर्न सक्ने अवस्था छैन,’ रेग्मीले भने, ‘गएका ६ वर्ष कृषिको धेरैजसो लगानी बाँसखर्कमा परेको छ ।’ बगैंचा सुधारअन्तर्गत किसानलाई मलखाद व्यवस्थापन, रोगकिरा नियन्त्रण र फल टिप्ने प्रविधिबारे सिकाउने गरिएको छ ।

प्रकाशित : मंसिर २९, २०७४ २१:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT