कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

चौकीदारदेखि माननीयसम्म

डोटी — १४ वर्षको बालापनमै गरिबीका कारण रोजगारी खोज्दै भारत छिरेका थिए, त्रिलोचन भट्ट । प्रवासमा कष्टकर जीवन बिताउँदा अनेकन दु:ख झेले । जवानी उतै बित्यो । त्यहाँ भोगेका र देखेका समस्या निवारण गर्न राजनीतितर्फ आकर्षित उनलाई मुलुकको माननीय बन्छु भन्ने कल्पनासम्म थिएन ।

चौकीदारदेखि माननीयसम्म

इमान्दारिता र जनताप्रतिको प्रतिबद्धताले अहिले डोटी प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका उनलाई निर्वाचनताका विपक्षीहरूले ‘चौकीदार’ भन्दै चुनावी नारासमेत बनाए । २०४७ मा भारतमा काम गर्दागर्दै अखिल नेपाल–भारत एकता समाजको सदस्यता लिएका भट्टले त्यहीँ रहेको एउटा कम्पनीमा चौकीदारी गर्दै राजनीति सुरु गरेका थिए । सडकमा अलपत्र नेपालीको उद्धार र मजदुरका हक अधिकारबारे लड्दालड्दै उनी सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

पछि ‘सशस्त्र संघर्ष’ मा भारतबाटै सहभागी भए । सामान्य कार्यकर्ताबाट सुरु भएको राजनीतिक यात्रामा उनी नेपाली एकता समाज महाराष्ट्र समिति कोषाध्यक्षसम्म बने । ०५१/०५२ मा आन्तरिक रूपले युद्धको तयारीका लागि प्रवासमा आर्थिक संकलन र व्यवस्थापनको जिम्मेवारी पाए । ०६० मा मुम्बई जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हाले । ०६१ मंसिरमा प्रवासबाट नेपाल फर्के र यतै सक्रिय भए । ०६२ मा डोटी जिल्ला सेक्रेटरी बने । ‘बढ्दै गएको राजनीतिक विकृति, पार्टीको बिग्रँदै गएको छवि, निर्वाचनमा गरिने अकुत खर्च र तडकभडकले राजनीति उँभो लाग्लाजस्तो लागेको थिएन,’ भट्टले भने, ‘तर अभावका बीच गरिएको राजनीतिको जनताले मूल्यांकन गर्ने रहेछन् ।’ 

निर्वाचन जितिसके पनि उनमा रत्तिभर घमन्ड छैन । शालीन स्वभावका भट्ट विपक्षी उम्मेदवारको सम्मान गर्दै विकासमा जुट्ने बताउँछन् ।

प्रकाशित : पुस ४, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?