कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

प्रदेशसभा कसको कति सिट ?

एमाले ७५, कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय फोरम १३, राजपा १२ 

काठमाडौँ — सातवटै प्रदेशको समानुपातिकबाट दलहरूले पाउने सिटमा नेकपा एमाले नै पहिलो पार्टी भएको छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको प्रदेशको समानुपातिक नतिजामा कुल २ सय २० सिटमा एमालेले ७५ सिट पाएको उल्लेख छ ।

प्रदेशसभा कसको कति सिट ?

एमालेले सातै प्रदेशसभाको प्रत्यक्षतर्फ पनि कुल ३ सय ३० सिटमध्ये १ सय ६८ सिट पाएर पहिलो पार्टी भएको थियो । प्रदेशसभाको कुल ५ सय ५० सिटमा एमाले एक्लैले २ सय ४३ सिट जितेको छ ।


प्रदेशसभाको प्रत्यक्षमा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ७२ सिट पाएको छ । प्रत्यक्षमा ७३ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३५ सिट पाएको छ । उक्त तीन दलका प्रतिनिधि मात्रै ७ वटै प्रदेशसभामा उपस्थित हुनेछन् ।


संघीय समाजवादी फोरम नेपाल प्रदेश १, २ र ५ मा तथा राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २, ५ र ७ मा मात्र प्रतिनिधित्व पाएको छ । प्रदेशसभामा प्रत्यक्षबाट २४ सिट जितेको फोरमले समानुपातिकमा १३ र प्रत्यक्षमा १६ सिट हात पारेको राजपाले समानुपातिकमा १२ सिट पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १, ३ र ६ को प्रदेशसभामा समानुपातिकबाट १/१ सिट जितेर उपस्थिति जनाएको छ । नयाँ शक्ति पार्टीले प्रदेश ३ र ४ तथा राष्ट्रिय जनमोर्चाले प्रदेश ४ र ५ को प्रदेशसभामा स्थान पाएका छन् ।


संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उपस्थिति एक/एक प्रदेशमा मात्रै भएको छ ।


आयोगले सार्वजनिक गरेको नतिजाअनुसार प्रदेश १ को समानुपातिकतर्फका ३७ सिटमा एमालेले १५, कांग्रेसले ११, माओवादीले ५, फोरमले २, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाएका छन् । उक्त प्रदेशमा समानुपातिकतर्फ २७ वटा दल प्रतिस्पर्धी रहेकोमा ६ दलले मात्रै प्रतिनिधित्वको अवसर पाएका छन् । प्रत्यक्षतर्फ प्रदेश १ को प्रदेशसभाको ५६ निर्वाचन क्षेत्रमध्ये एमालेले ३६, माओवादीले १०, कांग्रेसले ८, संघीय समाजवादी फोरमले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।


समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशसभा निर्वाचन ऐनअनुसार समानुपातिकतर्फ सम्बन्धित प्रदेशमा सदर भएको कुल मतको डेढ प्रतिशत मत कटाउने दलले मात्रै सिट पाएको बताए । तर, कतिपय अवस्थामा डेढ प्रतिशतको थ्रेस होल्ड कटाएका दलले पनि सिट पाउन सकेका छैनन् । प्रदेश ४ मा राप्रपा र विवेकशील साझा पार्टी, प्रदेश ६ मा नेमकिपा तथा प्रदेश ७ मा राप्रपाले थ्रेस होल्ड कटाए पनि सिट पाएनन् । आयोगले समानुपातिकमा दलले पाउने सिट संख्या सेन्ट लग प्रविधिबाट निकालेको हो । उक्त विधिबाट धेरै मत ल्याउने माथिका दलहरूले बढी सिट पाउँदा थ्रेस होल्ड कटाएर पनि केही दलले सिट नपाएको सचिव पौड्यालले बताए । प्रदेश २ को समानुपातिकतर्फका ४३ सिटमा कांग्रेसले ११, राजपाले १०, फोरमले ९, एमालेले ७, माओवादीले ५ र नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएका छन् । २९ दल प्रतिस्पर्धी रहेकोमा ६ दलले मात्रै सिट पाएका छन् । प्रत्यक्षतर्फका ६४ सिटमा संघीय समाजवादी फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ र स्वतन्त्रले १ सिट जितेका छन् । प्रदेश ३ को ४४ समानुपातिक सिटमा एमालेले १६, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३, राप्रपाले १, नेमकिपाले १ र राप्रपा (प्रजातान्त्रिक) ले १ सिट पाएका छन् । त्यहाँ समानुपातिक सिटका लागि ३१ दलले प्रतिस्पर्धा गरेकामा ७ ले मात्रै सफलता पाएका छन् । प्रत्यक्षका ६६ सिटमा एमालेले ४२, माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति पार्टीले १ र नेमकिपाले १ सिट जितेका छन् ।


प्रदेश ४ को समानुपातिकतर्फका २४ सिटमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, नयाँ शक्ति पार्टीले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् । उक्त प्रदेशमा समानुपातिक प्रतिस्पर्धामा २० दल सहभागी थिए । त्यहाँ प्रत्यक्षका ३६ सिटमा एमालेले १७, माओवादीले ९, कांग्रेसले ६, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति पार्टीले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।


यस्तै, प्रदेश ५ को ३५ समानुपातिक सिटमा एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, फोरम नेपालले २, राजपाले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् । त्यहाँ २७ दल प्रतिस्पर्धी थिए । प्रत्यक्षका ५२ सिटमा एमालेले २८, माओवादीले १४, कांग्रेसले ७ र फोरमले ३ सिट जितेका छन् ।


समानुपातिकका १६ सिट रहेको प्रदेश ६ मा एमालेले ६, कांग्रेसले ५, माओवादीले ४, राप्रपाले १ सिट पाएका छन् । त्यहाँ १८ दल प्रतिस्पर्धी थिए । प्रत्यक्षका २४ क्षेत्रमा एमालेले १४, माओवादीले ९ र कांग्रेसले १ सिट जितेका छन् ।


प्रदेश ७ को समानुपातिकतर्फ २१ सिटमा कांग्रेसले ८, एमालेले ८, माओवादीले ४ र राजपाले १ सिट पाएका छन् । उक्त प्रदेशमा समानुपातिकतर्फ २० दल प्रतिस्पर्धी रहेकोमा ४ दलले मात्रै सिट जित्न सफल भए । प्रत्यक्षतर्फका ३२ सिटमा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिटमा जित हात पारेका छन् ।


आयोगका सचिव पौड्यालले प्रदेशसभातर्फ पाएको सिट संख्याअनुसार उम्मेदवारहरूको नाम पेस गर्न सिट पाउन सफल दलहरूलाई पत्राचारको तयारी गरिएको बताए । उनका अनुसार दलहरूलाई पुस ८ देखि ७ दिनको समय दिएर पाएको सिट संख्याअनुसार बन्दसूचीबाट उम्मेदवारको नाम पठाउन पत्राचार गर्ने तयारी छ ।


‘दलहरूले निर्धारित समयभित्र बन्दसूचीको प्राथमिकता क्रम र समावेशी सिद्धान्तका आधारमा नाम दिनुहुनेछ भन्नेमा आयोग विश्वस्त छ,’ पौड्यालले भने, ‘कानुनअनुसार निर्धारित क्लस्टरअनुसार सिटको बाँडफाँट मिलेन भने आयोगको प्राविधिक र कानुनको टिमले हेरेर फेरि सच्याउन समय दिनेछ ।’ कानुनअनुसार सच्याउने अवधि ३ दिनको हुनेछ । उनले संविधान र कानुनअनुसार सबै नामावली मिलेपछि आयोगले प्रदेशसभाको समानुपातिकतर्फ विजयी उम्मेदवारको नाम घोषणा गर्ने जानकारी दिए । आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक सिटको बाँडफाँड भने अझै गरिसकेको छैन ।


प्रकाशित : पुस ७, २०७४ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?