अक्सफाम ट्रेल वल्करमा नेपाली निरन्तरता
हङकङ — परम्परालाई निरन्तरता दिंदै अक्सफाम ट्रेल वल्कर २०१७ मा नेपाली खेलाडी विजयी भएका छन् । प्रतियोगिताका ३६ संस्करणका पछिल्ला पाँचमा निरन्तर र अधिकांशमा नेपालीले विजय प्राप्त गरेका छ ।
सय किलोमिटर दूरी ‘एवू टीम नेपाल’ ले १२ घण्टा १ मिनेटमा पूरा गरेको हो । तिर्थ तामाङ नेतृत्वको टिममा बेदबहादुर सुनुवार, समिर तामाङ र पूर्ण तामाङ थिए । गतवर्ष यही टिमले उक्त दूरी ११ घण्टा १ मिनेटमा पूरा गरेको थियो ।
‘अनपेक्षित गर्मीका कारण पोहोर भन्दा ढिला भयो’ टिम लिडर तिर्थ तामाङले भने, ‘सबै भन्दा ठाडो र अप्ठ्यारो बाटो मध्यान्हमा परेपछि समय बढी लाग्यो ।’ आजको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको थियो ।
विजयी खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङलगायतको समूहले खादा ओढाई बधाई ज्ञापन गरेका थिए । विजयी खेलाडीहरुलाई प्रमाणपत्रसहित कप प्रदान गरिएको थियो ।
अहिलेसम्मको तथ्यांकमा १० घण्टा ५८ मिनेटको कीर्तिमान रहेको छ । सन् २०१३ को ३२ औं संस्करणमा ‘टिम कोलोम्बिया एस वान’का नेपाली खेलाडीहरुले नै उक्त कीर्तिमान बनाएका हुन् । विभिन्न खेल सामग्री उत्पादक तथा अन्य कम्पनीले प्रायोजन गर्ने गरेका टिममा नेपाली खेलाडीहरु रहने गरेका छन् ।
बेलायती गोर्खा सैनिकले अभ्यास गर्ने पहाडी–जङ्गली बाटोलाई सन् १९८१ देखि च्यारिटी दौडको रुपमा विकास गरिएको ‘अक्सफाम ट्रेल वल्कर’ सन् १९८३ देखि वार्षिक रुपमा निरन्तर हुने गरेको छ । शुरुवातमा सैनिकमात्र रहने प्रतियोगितामा पछि गैरसैनिकलाई पनि सहभागी गराइन थालिएको हो ।
एशिया र अफ्रिकामा गरिबी निवारण तथा आपतकालिन सहयोगका लागि सहयोग संकलनार्थ आयोजना गरिने यस कार्यक्रमबाट गत वर्ष ३ करोड ४० लाख हङकङ डलर संकलन भएको थियो ।
प्रकाशित : मंसिर ४, २०७४ १३:२१