केयूको विशेष सभा बोलाउन माग

मकर श्रेष्ठ

काठमाडौं — काठमाडौं विश्वविद्यालयमा एक महिनादेखि रिक्त उपकुलपति नियुक्तिका लागि तत्काल विशेष सभा बोलाउन विश्वविद्यालयका ‘कोर’ पदाधिकारीहरूले कुलपति एवं प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

विश्वविद्यालयका डिन, निमित्त डिन, परीक्षा नियन्त्रक, निर्देशक, मुख्य प्रशासकीय अधिकृतले मंगलबार बैठक बसेर उपकलपति नियुक्तिको पद्धति किटान गर्न तत्काल विश्वविद्यालयको विशेष सभाको बैठक बोलाउन माग गरेका हुन् । उनीहरूले उपकुलपतिको नियुक्ति गलत ढंगबाट हुन लागेको भन्दै विरोध गरेका छन् । बैठकका सहभागीहरूले सभा बोलाउन माग गर्दै प्रधानमन्त्री दाहाललाई सम्बोधन गरेर पत्रसमेत लेखेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षामन्त्री धनीराम पौडेल र उपकुलपति छनोट समितिका सदस्यहरू सुरेशराज शर्मा, दमननाथ ढुंगानाले योग्य व्यक्तिलाई भन्दा पनि आफूअनुकूल काम गर्ने व्यक्ति छान्न थालेपछि नियुक्ति प्रक्रिया लम्बिएको हो । उपकुलपति रामकण्ठ माकाजुको पदावधि मंसिर २६ मा सकिएको थियो । 

शिक्षामन्त्री पौडेलसमेत सम्मिलित छनोट समितिले उपकुपतिका लागि ऐनविपरीत शुक्रबार पाँच जनाको नाम सिफारिस गरेको थियो । त्यसमा निवर्तमान उपकुलपति माकाजु, पूर्वरजिस्ट्रार भद्रमान तुलाधर, रजिस्ट्रार भोला थापा, पूर्वडिन मनप्रसाद वाग्ले र विभागीय प्रमुख जनार्दन लामिछाने छन् । थापा र लामिछाने मन्त्रीको कोटाबाट सिफारिसमा परेका हुन् भने अन्य तीन जना शर्मा र ढुंगानाको कोटाका हुन् ।

विश्वविद्यालयको ‘कोर’ पदाधिकारीहरूको मंगलबारको बैठकले छनोट समितिले सिफारिसलाई कार्यान्वयन नगर्न पनि माग गरेको छ । प्रधानमन्त्रीलाई लेखिएको पत्रमा भनिएको छ, ‘हामी तपसिलका पदाधिकारीहरू मौजुदा सिफारिसलाई यथास्थितिमा थाती राख्दै उपकुलपति नियुक्तिसम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन, पद्धति, प्रक्रिया र मापदण्डबारे छलफल गरी सक्षम प्राज्ञिक नेतृत्व प्रदान गर्न सक्ने क्षमता भएको व्यक्ति उपकुलपतिमा नियुक्त गर्ने पद्धति किटान गर्नका लागि तत्काल विश्वविद्यालय सभाको बैठक बोलाउन माग गर्छाैं ।’ 

पत्रमा स्कुल अफ म्यानेजमेन्टका डिन प्रा. सुवास केसी, स्कुल अफ लका डिन विपिन अधिकारी, स्कुल अफ साइन्सका डिन मोहनविक्रम ज्ञवाली, स्कुल अफ एजुकेसनका डिन महेशनाथ पराजुली, स्कुल अफ इन्जिनियरिङका डिन भूपेन्द्रविमल क्षत्री, स्कुल अफ आर्ट्सका कामु डिन सञ्जयनाथ खनाल, परीक्षा नियन्त्रक पन्ना थापा, आरडीसीका निर्देशक सुबोध शर्मा, विद्यार्थी कल्याणका निर्देशक दीपक सुवेदी, मुख्य प्रशासकीय अधिकृत मुकुन्दप्रसाद उपाध्यायको नाम उल्लेख छ । पत्रको बोधार्थ सहकुलपति तथा शिक्षामन्त्री र संरक्षण समितिका अध्यक्षलाई पनि दिइएको छ । 

उपकुलपति, सहकुलपति र छनोट समितिका सदस्यहरूले गरेको काम विश्वविद्यालयको हितविपरीत भएको ठहर गर्दै कोर पदाधिकारीहरूले विश्वविद्यालयमा योग्य व्यक्ति छनोट गर्ने पद्धति विकास गर्न माग गरेको हो । ‘अहिलेसम्म जुन तरिकाले काम भयो, त्यो राम्रो भएन । संस्थालाई बिगार्ने काम भइरहेको छ,’ एक डिनले भने, ‘अहिलेसम्मको सबै गतिविधि थाती राखेर नयाँ प्रक्रिया सुरु गरौं । डिनहरू अब चुप लागेर बस्नु हुँदैन भनेका हौं । त्यसैले हाम्रो धारणा बाहिर प्रधानमन्त्री र शिक्षामन्त्रीसम्म पुर्‍याएका हौं ।’ कसैले मन परेको व्यक्तिलाई टपक्क टिप्ने पद्धति अन्त्य गर्नुपर्ने अर्का डिनले बताए । 

कोर पदाधिकारीहरूको बैठकमा तोकिएको समयभित्र उपकुलपति नियुक्त हुन नसकेको, ऐनमा पनि नभएको र प्रचलनमा पनि नआएको एक जनाको नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस भएको, आधार र मापदण्ड नखुलेको विषयमा छलफल भएको स्रोतले जनाएको छ । विश्वविद्यालयमा प्राज्ञिक नेतृत्व क्षमता, विशिष्टता र योग्यताभन्दा पनि राजनीतिक भागबन्डामा नियुक्ति हुन थाल्यो भन्ने सञ्चार माध्यममा समाचार आएपछि संस्थाको छवि गिर्न नदिन ‘कोर’ पदाधिकारीहरूको बैठक बसेको स्रोतले जनाएको छ । ‘अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाका लागि ख्याति प्राप्त शिक्षण संस्था भएकाले प्राज्ञिक नेतृत्व छनोट गर्दा अन्तर्राष्ट्रिय प्रचलनअनुसारको पद्धति विकास हुनुपर्नेमा हाम्रो दृढ अभिमत छ,’ प्रधानमन्त्रीलाई लेखिएको पत्रमा उल्लेख छ । 

विश्वविद्यालय ऐनको दफा १४ मा एक जनाको मात्रै नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा १४ मा भनिएको छ, ‘विश्वविद्यालयको उपकुलपति पदमा सभाद्वारा गठित तीन सदस्यीय समितिले सिफारिस गरेको व्यक्तिलाई कुलपतिबाट चार वर्षका लागि नियुक्ति गरिनेछ ।’ प्रधानमन्त्री दाहाल र शिक्षा मन्त्री पौडेलले आफ्नो पार्टीका समर्थितलाई जसरी भए पनि उपकुलपति वा रजिस्ट्रार बनाउन खोजेका छन् भने सिफारिस समितिका सदस्यहरू शर्मा र ढुंगाना पनि आफूअनुकूल व्यक्तिलाई उपकुलपति बनाउन चाहन्छन् । लामिछानेलाई उपकुलपतिको दाबेदार बनाएर सिफारिस गरिएपछि सकेसम्म उपकुलपति, नभए पनि रजिस्ट्रार बनाउने मन्त्री पौडेलले जोड गरेका छन् । 

प्रकाशित : पुस २८, २०७३ ०८:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

द्रौपदीका आँखाबाट महाभारत

सुशील पौडेल

कोलकाता — ‘म याज्ञसेनी । पाञ्चालकी राजकन्या, पाञ्चाली । राजा द्रुपदकी छोरी, द्रौपदी । कृष्णमा समर्पित, कृष्णा ।’

महाभारतमा द्रौपदी उर्फ याज्ञसेनी गौण पात्र हुन् । अथवा, महाभारत उनका आँखाले उनैले बाहेक कसैले हेरेन वा हेर्न चाहेन । पाँच पराक्रमी पाण्डवकी एक्ली पत्नी भएर पनि याज्ञसेनी कति पीडा सहेर बाँचिन् र मरिन्, कमैले विवेचना गरे होलान् । डा. प्रतिभा रायले उनैको पक्षबाट महाभारतको क्रूरता पस्केर उहिल्यै कथा लेखेकी थिइन्, जसलाई सुनील पोखरेलले नाट्य रूपान्तरण गरे, ‘याज्ञसेनी’ का रूपमा । सुनीलको निर्देशनमा उक्त नाटक बुधबार साँझ कोलकाताको कल्याणीमा मञ्चन गरिएको छ ।
माथि उल्लिखित संवादसँगै नाटक सुरु हुन्छ । दृश्यमा देखिन्छिन्, याज्ञसेनी । खोकिलाबाट महाभारतका अन्य पुरुष पात्रको संवाद बारम्बार सुनिन्छ । झन्डै एक घण्टा लामो नाटकको दृश्यमा भने पूरा समय याज्ञसेनीले मञ्च पाउँछिन् । केन्द्रीय एकल भूमिकामा निशा शर्माले अभिनय गरेकी छन् ।
धर्म स्थापनार्थ यज्ञको आगोबाट जन्मिएकी याज्ञसेनी सानैदेखि कृष्णप्रति आसक्त थिइन् । तर स्वयं कृष्णले नै उनका लागि आफू उपयुक्त पुरुष नभएकाले साहिला पाण्डव अर्जुनसँग स्वयंवर गर्न भन्दै खिन्न पार्छन् । नेपथ्यमा याज्ञसेनीले आवाज सुन्छिन्, ‘अर्जुन पनि म नै हुँ । तिमीले अर्जुनलाई मेरै अर्को रूप मानेर ग्रहण गर ।’
त्यसपछिको कथामा अर्जुनले पानीमा प्रतिविम्बित माछाको आँखामा तीर हानी याज्ञसेनीलाई जित्छन्, उनलाई लिएर घर पुग्दा आमा कुन्तीले अर्जुनले ल्याएको चीज पाँचै छोराले बाँडेर लिनु भन्छिन् र याज्ञसेनी सुरुमा प्रतिवाद गरे पनि पछि बाँडिन बाध्य हुन्छिन् ।
पहिलो प्रेम कृष्णलाई अर्जुनका लागि गुमाएकी याज्ञसेनीले पछि मन पराउन थालेकी अर्जुनलाई पनि उसको वनबास क्रम १२ वर्ष गुमाउनुपर्छ । यता नदीमा नुहाउन गएकी याज्ञसेनीलाई तीर प्रकरणमा हारेका भनिएका कर्णले नै बचाउँछन् । याज्ञसेनी फेरि सोचमग्न बन्छिन्, ‘जलक्रीडामा मेरो प्राण गएको भए मेरा पाँच पतिमध्ये कुनैले पनि रक्षा गर्न सक्ने थिएनन् । कर्णले मलाई गरेको स्नेह र सम्मानका कारण मेरो मन उनीप्रति करुणा, सहानुभूति वा स्नेह खै केले हो प्रविभुत भएको छ । वास्तवमा मनलाई कसले पूर्णरूपमा नियन्त्रण गर्न सकेको छ र ?’
याज्ञसेनीले जीवनभर गुमाइरहिन् । सम्झौताको जीवन बाँचिरहिन् । जीवनको अन्तिम क्षणमा आएर उनले आफ्नै कर्मको मूल्यांकन गर्छिन् । कृष्णप्रति गुनासिँदै भन्छिन्, ‘हे कृष्ण, तिमीले किन मलाई अर्जुन भनेको म हो भन्यौ ? किन तिमी कर्ण हुन सकेनौ ? कर्णकी पत्नी हुन पाएकी भए पाण्डवकी पत्नी हुँदाकी जस्ती निरीह भएर मैले अनेकपल्ट लाञ्छित हुनुपर्ने थिएन भन्ने लाग्छ ।’
याज्ञसेनी अर्थात् द्रौपदीको जीवनमा चीरहरणको घटना सधैं अप्रिय बनेर रहयो । युधिष्ठिरले उनलाई जुवामा हारे । युधिष्ठिरले आफ्नै भाउजूको दुस्शासनको हातबाट चीरहरण गर्न लगाउँदा समेत पाँच पाण्डवले केही गर्न सकेनन् । पछि महाप्रस्थानका लागि स्वर्ग जाँदै गर्दा बाटोमा चिप्लिएर लडेकी याज्ञसेनीलाई उनका पाँच पति कसैले उठाउनसमेत चाहेन । सहायताका लागि पुगेका भीमलाई समेत युधिष्ठिरले रोक्छन् र अगाडि बढ्न आदेश दिन्छन् । चिप्लिएर लडेकी याज्ञसेनी हिउँमा पुरिँदै गर्दाको मनोविज्ञानमा रहेर नाटक तयार पारिएको छ ।
नाटकको अन्त्यमा याज्ञसेनीले आफूलाई टुक्रयाएर बाँडिनुको पीडा, महाभारत युद्धमा पाँच छोरा गुमाउनुको पीडा र सभामा चीरहरणको अपमान सहनुपर्दाको पीडालाई सम्झँदै कृष्णलाई गुनासो गर्छिन्, ‘हे कृष्ण, मेरो जीवनमा जे भयो भयो । कुनै पनि नारीको जीवनमा कहिल्यै त्यस्तो नहोस् । कुनै नारीले एकैपल्ट एकभन्दा बढी पति कहिल्यै पनि राख्न नपरोस् । नारीलाई रूपवती बनाऊ तर पुरुषलाई त्यतिबिघ्न कामुक नबनाऊ ।’
कल्याणी कला मण्डलमले मंगलबारदेखि ६ दिनसम्म आयोजना गरेको १२औं रामधनु नाटय मेलामा नेपालका तर्फबाट आरोहण गुरुकुलको यस नाटक दोस्रो दिन मञ्चन गरिएको हो । नाटकको संगीत आदित्य कटुवालको हो । संगीत परिचालन प्रदीपकुमार चौधरीले गरे । आभाष अधिकारीले सहायक निर्देशनको जिम्मा सम्हाले । मञ्च व्यवस्थापन सुनिशा बजगाईंले गरिन् ।
महाभारतको ठूलो क्यानभास र धेरै चरित्रको कथामा सोलो नाटक तयार पारिनुको कारणबारे निर्देशक सुनीलले भने, ‘यो द्रौपदीको आँखाले हेरेको महाभारत हो । त्यो हिसाबले द्रौपदी महत्त्वपूर्ण हो । अरू पात्र त उसको आँखाले देखेको हो । हामीले पढेको महाभारत भन्दा द्रौपदीको हेराइ फरक हुन सक्छ । त्यो कारणले पनि एकल गरिएको हो ।’ 
नेपाली भाषामा प्रस्तुत गरिए पनि कथा परिचित भएकाले स्थानीय दर्शकले ‘याज्ञसेनी’ लाई रुचाएको बताए ।
नेपाली भाषामा प्रस्तुत गरिए पनि कथा परिचित भएकाले स्थानीय दर्शकले ‘याज्ञसेनी’ लाई रुचाएको बताए ।

प्रकाशित : पुस २८, २०७३ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT