कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्त:शुल्क स्टिकर खुलेआम दुरुपयोग

काठमाडौं — राजधानीको एउटा किराना पसलमा साहु र कामदार चुरोटका बट्टामा टाँसिएको अन्त:शुल्कको स्टिकर धमाधम उक्काइरहेका थिए । यो किन उक्काउनुभएको साहुजी ? ‘एउटा स्टिकर दुई रुपैयाँमा बिक्छ, कमाइ होस् भनेर पसल खोलेको हो, स्टिकर बेचेर पनि थप आम्दानी,’ उनले सहजै जवाफ दिए ।

अन्त:शुल्क स्टिकर खुलेआम दुरुपयोग

कति आम्दानी हुन्छ ? ‘मेरो पसलमा दैनिक ६ पेटी (२० बट्टा) सम्म चुरोट बिक्री हुन्छ, ६ पेटी चुरोटका बट्टामा रहेको स्टिकर बेच्दा दैनिक २ सय ४० रुपैयाँ कमाइन्छ,’ नयाँ बानेश्वरका ती किराना सञ्चालकले भने । कसले किन्छ यो ? उनले भने, ‘एउटा मान्छे आएर किन्छ, उसैले सिकाएको हो, अरू पसलबाट समेत लैजान्छ ।’ 

यसबारे जान्न खोज्दा अन्य पसलहरूबाट उस्तै जवाफ पाइयो । ग्राहकले स्टिकर उक्काएको चुरोटको बट्टा किन्छन् त ? पसलेहरू भन्छन्– ‘धेरै बिक्री खिल्लीमा हुन्छ, खिल्ली किन्नेलाई बट्टाको के मतलब ? बट्टै किन्नेले पनि स्टिकरको मतलबै गर्दैनन् ।’

राजधानीका पसलहरूमा बुझ्दा अन्त:शुल्क स्टिकर किन्ने र अवैध टाँस्नेहरूसमक्ष (चुरोट उद्योगसम्म) पुर्‍याउने गिरोह नै सक्रिय रहेको देखिन्छ । सूर्य टोबाकोबाट उत्पादित चुरोट सबभन्दा बढी बिक्ने भएकाले स्टिकरसमेत त्यसैको बढी उक्काउने गरिएको पाइन्छ । सरकारले स्टिकरकै आधारमा अन्त:शुल्क अर्थात् राजस्व लिन्छ । सरकारी कर्मचारीको निगरानीमै स्टिकर टाँस्ने कामलाई छल्न बजारमा प्रयोग भइसकेका स्टिकर पुन: प्रयोग गर्ने/गराउने गिरोह सक्रिय भएको हो । उद्योगी तथा आयातकर्ताबीचकै मिलेमतोमा मात्रै यस्तो गतिविधि सम्भव हुन्छ ।

कर प्रशासनका जानकार भन्छन्, ‘पुन: प्रयोग गरी ठूलो मात्रामा कर (अन्त:शुल्क) छल्न नै एकपटक प्रयोग भइसकेको स्टिकर पुन: प्रयोग गरिएको हो ।’

कर प्रशासन जानकार ती अधिकारीका अनुसार मुलुकमा आयात हुने विदेशी चुरोटको बट्टामा उक्काइएको स्टिकर टाँसेर सबभन्दा बढी अन्त:शुल्क छली हुने जोखिम छ । विदेशबाट आयात हुने चुरोटको बट्टामा नेपालमा ल्याएपछि स्टिकर टाँस्ने हो । राजधानीमा धमाधम उक्काइएका स्टिकर तिनमा टाँस्न सबभन्दा सजिलो हुन्छ । आयातित चुरोटमा नै उक्काइएका स्टिकर टाँसिने सम्भावना सबभन्दा बढी छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै १ करोड ५७ लाख ५ सय २० खिल्ली चुरोट आयात भएको छ । २३ हजार ५ सय ५२ किलोग्राम सुर्ती आयात भएको तथ्यांकले देखाउँछ । यी दुवैमा आयातित सामग्रीबाट सरकारले अन्त:शुल्कबापत १२ करोड ८ लाख ४१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । ‘अन्त:शुल्क छली नियन्त्रण गर्ने हो भने अझै बढी राजस्व उठ्ने थियो,’ ती अधिकारीले भने ।

यहाँका कम्पनीले स्टिकर पुन: प्रयोग गरी अन्त:शुल्क छल्ने कत्तिको सम्भावना हुन्छ ? उनले भने, ‘कम्पनीहरूले चुरोटका बट्टा उत्पादन भइसकेपछि कारखानाबाट बाहिर ल्याएर उक्काइएका स्टिकर टाँसेर पनि कर छली गर्न सक्छन् ।’ चुरोटका बट्टाबाट निकालिएका स्टिकर मदिरालगायतका अन्य उत्पादनमा समेत टाँसेर अन्त:शुल्क छल्ने गरिएको छ । कर प्रशासनका जानकारका अनुसार आन्तरिक राजस्व विभागले चुरोट र मदिरालगायतमा छुट्टाछुट्टै किसिमका स्टिकर टाँस्ने गर्छ । ‘विभागले कहिलेकाहीँ मदिराको बोत्तलमा टाँसिने स्टिकर सकिएमा केही समयका लागि चुरोटको बट्टामा टाँस्ने स्टिकरसमेत प्रयोगमा ल्याउँछ । यस्तो बेला चुरोटको बट्टाबाट उक्काइएको स्टिकर मदिराको बोत्तलमा समेत टाँसेर ठगी हुन सक्छ,’ ती अधिकारीले भने । 

आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माका अनुसार स्टिकर सकिँदा चुरोटमा लगाउने मदिरामा र मदिरामा लगाउने स्टिकर चुरोटमा प्रयोग गरिन्छ । यसपटक यस्तो स्टिकर छाप्ने जिम्मा ग्लोबल टेन्डरबाट इन्डोनेसियाको कम्पनीले पाएको छ ।

चुरोटमा मात्रै नभएर स्टिकर दुरुपयोग सुर्तीजन्य अन्य पदार्थ (खैनी, बिँडी, गुट्खा) मा समेत हुने गरेको सरकारी अधिकारीको स्विकारोक्ति छ । बढी अन्त:शुल्क लाग्ने मदिरामा फाट्टफुट्ट स्टिकर दुरुपयोग हुने गरे पनि सकुशल उक्काउन अलि अप्ठ्यारो पर्ने दाबी सरकारी अधिकारीको छ । महानिर्देशक शर्माका अनुसार गुट्खाको स्टिकर पुन: प्रयोग गरिएको गुनासो आइरहेको छ । ‘यो एउटा प्याकेटमा होइन, मुठामुठामै स्टिकर टाँसिन्छ । मुठामा टाँसिएको स्टिकर उक्काउन सजिलो हुने भएकाले दुरुपयोग भयो भन्ने आइरहेको छ,’ उनले भने, ‘यसबारे अध्ययन गर्न र दुरुपयोग भएको पाइए कारबाही गर्न कर्मचारीलाई पटकपटक निर्देशन गरिरहेका छौं ।’ अन्त:शुल्क उठाउन प्रयोग गरिने स्टिकर मदिरा र सुर्तीजन्य पदार्थमा मात्रै प्रयोग गरिन्छ । 

यस्तो स्टिकर टाँस्नका लागि मदिरा उद्योगमा स्टिकर लगाउनकै लागि खरिदार वा नायब सुब्बासरहको कर्मचारी नै बस्छन् जसलाई भौतिक नियन्त्रण पद्धति भनिन्छ । सरकारी कर्मचारीले उत्पादित मदिरामा स्टिकर टाँसेपछि मात्रै उद्योगले गोदाममा लैजाने र बिक्री गर्न पाउँछन् । यस्ता स्टिकर ४१ प्रकारका छन् । गुणस्तर र परिमाणअनुसार फरक–फरक अन्त:शुल्क रकम असुल गर्नका लागि धेरै प्रकारका बनाइएको हो ।

स्टिकरको वितरण भएको रेकर्ड राख्ने र त्यसको प्रकारअनुसार कम्पनीबाट सरकारले अन्त:शुल्क असुल गर्ने हो । सरकारी कर्मचारी नै राखेर स्टिकर टाँस्ने काम चुरोटमा केही समय गरे पनि पछिल्लो समय हटाइएको छ । उद्योगले स्वयं घोषणा गरी चुरोटको गुणस्तर तथा लम्बाइअनुसार सरकारबाट स्टिकर किनेर लैजान्छन् । चुरोटका लागि १५ पैसा र मदिराका लागि २५ पैसामा स्टिकर सरकारले बिक्री गर्छ । तर ४१ मध्ये स्टिकरको प्रकारअनुसार अन्त:शुल्क असुल गर्ने हो । अन्त:शुल्क दर भने मदिरा, चुरोट तथा गुट्खामा गुणस्तरअनुसार फरक–फरक राखिएको छ ।

 विभिन्न गुणस्तर तथा प्रकृतिका आधारमा सरकारले चुरोटमा प्रतिएम (हजार खिल्ली) ३ सय ४६ रुपैयाँदेखि १८ सय ६८ रुपैयाँसम्म अन्त:शुल्क लिने तय गरिएको छ । एक खिल्ली सिगारको प्रतिखिल्ली अन्त:शुल्क १२ रुपैयाँ लाग्छ । मदिराका लागि प्रतिलिटर ७४ रुपैयाँदेखि १ हजार ७३ रुपैयाँसम्म अन्त:शुल्क लिने गरेको छ । मुलुकको राजस्वको योगदानमा मूल्य अभिवृद्धि कर, आयकर, भन्सारपछि अन्त:शुल्कले चौथो हिस्सा ओगटेको छ । 

विभिन्न गैरकानुनी उपाय गरी अन्त:शुल्क छली भइरहे पनि असुल हुने राजस्व हरेक वर्ष बढदै गएको छ । अन्य सामग्रीमा अन्त:शुल्क लाग्ने भए पनि मदिरा तथा चुरोटको हिस्सा नै बढी रहेको जानकारी अर्थ मन्त्रालयको राजस्व प्रशासन महाशाखाका उपसचिव यज्ञ ढुंगेलले दिए । उनका अनुसार आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ मा क्रमश: ५३ अर्ब ५२ करोड ४९ लाख ५० हजार रुपैयाँ र ६५ अर्ब ७० करोड ५६ लाख ४ हजार रुपैयाँ अन्त:शुल्कबाट राजस्व प्राप्त भएको थियो । आर्थिक वर्ष ०७१/७२ मा ३१ अर्ब ५ करोड २२ लाख १६ हजार रुपैयाँ आन्तरिक (स्वदेशभित्र उत्पादित सामग्रीहरू) अन्त:शुल्क हो । बाँकी आयातित सामग्रीबाट संकलन भएको हो । 

०७२/७३ मा भने नेपालका उत्पादनबाट ३६ अर्ब २४ करोड ११ लाख ४ हजार रुपैयाँ संकलन भएको थियो । बाँकी अर्थात् २९ अर्ब ६७ करोड ५ लाख ४० हजार रुपैयाँ आयातित सामानमा लगाइएको अन्त:शुल्क हो । ‘पैठारीतर्फको अन्त:शुल्कमा सवारी साधनको हिस्सा बढी छ,’ ढुंगेलले भने, ‘आन्तरिकतर्फ जम्मा अन्त:शुल्कमध्ये मदिरा र चुरोटकै हिस्सा बढी छ ।’

प्रकाशित : माघ ७, २०७३ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?