कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा नयाँ राष्ट्रपति आजदेखि, नेपाल नीतिमा के होला ?

नेपालजस्ता साना मुलुकलाई ठूला र प्रजातान्त्रिक मुलुककै आँखाबाट हेर्नेछन् । त्यो भनेको भारतको आँखाबाट हेर्नु हो । – दर्शन रौनियार

काठमाडौं — बोली र व्यवहारका कारण उम्मेदवारी दिँदैदेखि चर्चामा रहेका डोनाल्ड ट्रम्पले शुक्रबार साँझ (नेपाली समय) देखि विश्व शक्ति अमेरिकाको नेतृत्व सम्हाल्ने छन् । शपथ लिएलगत्तै ह्वाइट हाउसको कार्यभार लिने क्रममा उनले कुनै न कुनै विवादास्पद निर्णय लिन सक्ने धेरैको आकलन छ ।

अमेरिकामा नयाँ राष्ट्रपति आजदेखि, नेपाल नीतिमा के होला ?

कतिपयले भने अनुभवी व्यापारी रहेकाले भाषण र काम गर्ने शैली फरक हुने तर्क राख्दै आएका छन् । जे भए पनि अमेरिकी निर्णयले विश्व राजनीति र अर्थतन्त्रलाई नै असर गर्ने हुनाले उनको कार्यदिशाप्रति सबैका कान ठाडा भएका छन् । विश्व समुदाय टेलिभिजनमा उनलाई हेर्न आतुर छ । ‘ट्रम्पको उदयले नेपाल जस्तो मुलुकलाई हेर्ने नीति खासै फरक नहोला,’ अमेरिकाका लागि राजदूत रहिसकेका डा. शंकर शर्माले भने, ‘नेपालको विषयमा लबिइङ गर्न बनेको सांसदहरूको समूह ककसमा उनकै दलका नेताहरू छन् । त्यसले हाम्रो अवस्थाबारे अवगत हुन पक्कै सहयोग पुग्न सक्छ ।’ 

गैरराजनीतिक पृष्ठभूमिका ७१ वर्षीय ट्रम्प रियल स्टेट र होटल व्यवसायबाट सिधै राष्ट्रपतीय मोर्चामा रिपब्लिकनभित्र अन्य पुरानालाई उछिन्दै पार्टीमा चुनिएका थिए । र, अप्रत्यासित ढंगले डेमोक्रयाटिककी हिलारी क्लिन्टनलाई पराजित गरे । 

अमेरिकामा सन् १९३० पछि सञ्चालनमा आएका उद्योगहरू नेफ्टा (नर्थ अमेरिकन फ्री ट्रेड एरिया) नीतिले क्रमश: मेक्सिकोमा सरेका थिए । जसले गर्दा अमेरिकीहरू बेरोजगार बनेका थिए । ओबामाले बिल क्लिन्टनको नीतिलाई अघि बढाए भने हिलारी पनि ओबामापथमै जान सक्ने स्थिति थियो । त्यसैले राष्ट्रवादको चर्को वकालत गरेका ट्रम्पलाई अपत्यारिलो मत ओइरिएको हो । ‘ट्रम्प रिपब्लिकन लाइनअनुरूप नै अघि बढ्छन् भन्ने छैन । अघिपछि नसोची बोल्ने व्यक्ति भएकाले यस्तै गर्लान् भन्न सकिन्न,’ डेमोक्रयाटिक पार्टीबाट सन् २०१२ मा वासिङटन स्टेटबाट अमेरिकी सांसद पदमा उमेदवारी दिएका दर्शन रौनियारले कान्तिपुरसँग भने, ‘उनीबाट अमेरिकी जनताले धेरै आशा भने गरेका छन् । देशबाट फुत्किएर बाहिर गएको व्यापार पुन: अमेरिका फर्कन सक्ने सबैको बुझाइ छ । बाँकी विश्वलाई के गर्छन्, थाहा छैन तर अमेरिकी जनताका लागि उनले धेरै गर्ने निश्चित छ ।’ 

ट्रम्पले कस्तो आर्थिक र विदेश नीति लागू गर्लान् भन्नेमा धेरैको चासो छ । विश्वशान्ति र विकासमा काम गर्ने राष्ट्रसंघ समेत अमेरिकी नीतिको प्रभावमा पर्नसक्ने हुनाले त्यहीँ समेत उनको चर्चा हुने गरेको छ । उनले राजनीतिमा चासो दिएको १८ वर्षमा आधा दर्जन दल चहारिसकेका छन् । त्यसैले उनी सिद्धान्तनिष्ठ पनि होइनन् । उनको उदय रिपब्लिकन पार्टीका लागि पनि जटिल विषय बन्न सक्ने धेरैको आकलन छ । 

उनी नेपालबारे जानकार व्यक्ति होइनन् । तर उनले नेतृत्व लिएपछि नेपालबारे अमेरिकी नीति कस्तो होला भन्नेमा धेरैको चासो छ । रौनियारले भने, ‘उनले नेपालजस्ता साना मुलुकलाई ठूला र प्रजातान्त्रिक मुलुककै आँखाबाट हेर्नेछन् । त्यो भनेको भारतको आँखाबाट हेर्नु हो ।’ 

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको सधैं प्रशंसा गर्दै आएका ट्रम्प छानबिनको दायरामा समेत छन् । निर्वाचनमा रुसको संलग्नता देखिएको खण्डमा उनीविरुद्ध महाअभियोग लाग्ने सम्भावना छ । त्यो उनका लागि सबैभन्दा चुनौतीको विषय हुनेछ । ठीक विपरीत उनी चीनप्रति आक्रोशित छन् । उनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को संरचनामा अमेरिकी लगावको आलोचना गरिरहेका छन् भने ब्रेजिक्टको खुला समर्थनमा छन् । अमेरिकाले युरोपेली युनियनसँगको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने अन्यौलै छ ।

त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रमुख डा. खडग केसीले पहिला बोल्दै आउने र जिम्मेवारी सम्हालेपछि गर्ने निर्णय फरक हुनसक्ने बताए । ‘अमेरिकी लोकतन्त्रको सामथ्र्यमाथि नै प्रश्न खडा हुन सक्नेछ,’ उनले भने, ‘हवाइट हाउसको नीतिलाई नै परिमार्जन गर्ने जस्तो भने देखिँदैन ।’ त्यसो त ट्रम्प र उनको समूह पदभार नसम्हाली कूटनीतिक भेटमा सक्रिय भइसकेका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले पनि ट्रम्पलाई यस्तै अनौपचारिक डिनरमा भेट गरिसकेको दूतावास स्रोतले बतायो । राजदूत कार्की शुक्रबारको समारोहमा समेत उपस्थित हुनेछन् । ट्रम्पले पूर्वराष्ट्रपति, सिनेटरलाई बोलाइसकेको भए पनि सिनियर बुस बिरामी परेकाले सहभागिता नहुने देखिएको छ । पूर्वराजदूत डा. शम्भुराम सिम्खडाले ट्रम्पले दिने पहिलो भाषण, उपस्थित व्यक्तिहरू र अनुपस्थित वा विरोध गर्नेहरूको अध्ययन गर्न आवश्यक रहेको बताए । 

प्रकाशित : माघ ७, २०७३ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?