कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिमा हिंसा र भ्रष्टाचार मौलायो : अधिकारी

प्रकाश बराल

बागलुङ — नेकपा एमालेका सांसद एवं व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले संविधान कार्यान्वयनको विकल्प निर्वाचन र निर्वाचनको विकल्प निर्वाचन मात्र भएको बताएका छन् । शुक्रबारदेखि बाग्लुङमा सुरु भएको सडक खाना महोत्सव उद्‍घाटन गर्दै अधिकारीले देशलाई समृद्धिको बाटोमा हिँडाउनका लागि देशको मूलधारको राजनीतिमा जिम्मेवारी बोध हुनुपर्ने बताए ।

राजनीतिमा हिंसा र भ्रष्टाचार मौलायो : अधिकारी

नेकपा एमालेका सांसद एवं व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले संविधान कार्यान्वयनको विकल्प निर्वाचन र निर्वाचनको विकल्प निर्वाचन मात्र भएको बताएका छन् ।

शुक्रबारदेखि बाग्लुङमा सुरु भएको सडक खाना महोत्सव उद्‍घाटन गर्दै अधिकारीले देशलाई समृद्धिको बाटोमा हिँडाउनका लागि देशको मूलधारको राजनीतिमा जिम्मेवारी बोध हुनुपर्ने बताए । उनले राजनीतिमा फोहोरी खेल भइरहेकोले हिंसा र भ्रष्टाचार मौलाएको दाबी गरे । ‘फोहोरको डुंगुर भएको स्थानमा किराको बिउ आफैं उम्रिन्छ’ उनले भने, ‘राजनीतिक पद्धति धमिलो र अवसरवादी बनाएपछि भ्रष्टाचार, अनियमितता र घुसखोरीतन्त्र मौलायो भनेर नेतृत्व उम्कन मिल्दैन ।’ संविधान जारी गर्दा जस्तै कार्यान्वयनका लागि पनि सबै दल एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले दोहोर्‍याए ।

राजनीतिममा भाषण मात्र गर्ने प्रवृत्तिले युवाहरुको वितृष्ण बढेको अधिकारीको टिप्पणी थियो । सबैले उत्पादन र रोजगारीलाई ध्यान दिएर अगाडि नबढेमा भाषणको राजनीति समाप्त हुने उनले दाबी गरे । ‘युवालाई रोजगारी दिनेगरी राजनीति गर्न जानेनौं भने पुरानो पुस्ताले जस्तो भाषण गरेर राजनीति थामिदैन’ उनले भने, ‘युवालाई आर्थिक समृद्धिको अवसर दिन सकेमा मात्र पलायनबाट रोक्न सकिन्छ ।’ दलहरुका राजनीतिक सिद्धान्त मात्रले पनि युवाहरु आकर्षित गर्न नसकिने उनले बताए ।

प्रदेश नम्बर ४ लाई देशकै पहिलो विकमित र धनी प्रदेश बनाउन सकिने उनको दाबी छ । ‘हिमालदेखि तराईसम्म फैलिएको प्रदेश भएकोले धार्मिक, आर्थिक, साँस्कृतिक र उत्पादनबाट आत्मनिर्भर बनाउन सकिन्छ’ अधिकारीले भने, ‘मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर विकासका मुख्य सूचक हुन् ।’ देशभरका राष्ट्रिय गौरवका आयोजनामा यी दुवै आयोजनाले दुइतिहाई बढी प्रगती गर्न सफल भएको उनले बताए । संसदको विकास समितिमार्फत नियमित अनुगमन र निर्देशनमार्फत देशका सबै आयोजनालाई लक्षअनुसार प्रगती गर्न लगाएको पनि उनले बताए ।

अधिकारीले आगामी डेढ वर्षमा उत्तर-दक्षिण कालीगण्डकी कोरिडोरलाई योजना अनुसारको सहज यात्रा गर्न सकिने बनाउने दाबी गरे । ‘भारतका पर्यटकलाई चीन र चीनका पर्यटकलाई भारतसम्म लैजान सक्ने सहज मार्ग डेढ वर्षमै बन्छ’ उनले भने, ‘त्यसका लागि विकास समितिको अगुवाई हुनेछ ।’ उनले समितिकै अगुवाईमा बाग्लुङमा बहुउद्देश्यीय सभाहल निर्माणको पनि पहल गरिने आश्वासन दिए ।

दुईदिनसम्म चल्ने महोत्सवमा परम्परागत र आधुनिक खानाका प्रकारहरु सडकमै बसेर खाने व्यवस्था गरिएको आयोजक नेपाल राष्ट्रिय व्यपार संगठनका अध्यक्ष पुनमप्रसाद शर्माले बताए । जिल्लाको आर्थिक क्रियाकलापलाई चलायमान बनाउनका लागि महोत्सव आयोजना गरिएको उनले बताएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७३ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?